तत्कालीन नेकपा (माओवादी) केन्द्र र नेकपा (एमाले) बीच पार्टी एकताको चर्चा चल्दै थियो । यी दुई पार्टीबीच ‘वाम गठबन्धन’ का नाममा चुनावी मोर्चा घोषणा हुनुअघि नै तत्कालीन माओवादी केन्द्रका एक केन्द्रीय सदस्य एवं उक्त पार्टीसम्बद्ध किसान महासंघका ती नेता ज्यान छाडेर पार्टी एकताको वकालत गरिरहेका थिए । सीमित शीर्ष नेताबाहेक अधिकांश नेता–कार्यकर्ता एमालेसँगको सम्भावित एकताप्रति सन्देह प्रकट गर्दै थिए, चुनावी गठबन्धनसम्म ठीकै छ तर पार्टी एकता नै गर्दा भने पछि के–कसो हुने हो भन्ने अधिकांशको आशंका थियो । तर, ती युवानेता भने आँखा चिम्लेर एकताको वकालत गर्दै सञ्चार माध्यमहरूमा दिनहुँ लेख लेख्थे, सामाजिक सञ्जाल रंग्याउँथे ।
तत्कालीन एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई ‘कमरेड’ शब्दावलीले सम्बोधन गर्न कयौं पूर्वमाओवादी नेता–कार्यकर्ताहरू निकै अप्ठ्यारो मान्थे । तर, ती किसान नेता भने ओलीलाई निर्धक्क सम्मान गर्थे र बारम्बार लेखिरहन्थे– ‘क. केपी ओली !’ तर, आज समय फेरिएको छ, अधिकांश पूर्वएमाले नेता–कार्यकर्ताहरुले ओलीलाई ‘अब कमरेड रहेनन्’ भन्दै तिरस्कार गरिरहेका छन् । यतिबेला भने ती किसान नेता एवं नेकपाका सक्रिय युवानेता नहेन्द्र खड्का पनि ओलीसँग निकै आक्रोशित छन् ।
‘एमाले–माओवादी केन्द्रबीचको एकता गलत सावित भएको हो त ?’ हाम्रो जिज्ञासामा नहेन्द्र भन्छन्– ‘एकता गलत होइन, एकदम ठीक हो, ठीक सावित भैसक्यो । पार्टीभित्र देखिएका केही गलत प्रवृत्तिमाथि कारबाही भएको मात्रै हो । यस्तो त पहिले पनि हुन्थ्यो र भोलि पनि हुन्छ । एकाध गलत मान्छे पार्टीबाट निकालिनु या पार्टी छाडेर बाहिरिनु भनेकाे विभाजन होइन र एकता गलत भएको प्रमाण पनि होइन ।’
अब पार्टीको नाम नै ‘नेपाल कमेडी पार्टी’ राख्न र यस्तै–यस्तै अरू विभिन्न काम समेत गर्न व्यंग्यात्मक शैलीबाट अनेकौं ‘सुझाव’ दिएर ओलीका नाममा खड्काले खुलापत्र लेखेका छन्, यहाँ प्रस्तुत छ सोही पत्र–
पूर्वकमरेड केपी ओलीज्यू,
तपाईंले हुल्लडबाज, सडकछाप र बाहुबलीको पार्टी भनेर बैठक समेत बस्न नमानेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले त तपाईंलाई संसद विघटनको दोषमा घोक्रेठ्याक लगाएर निकालिहाल्यो । त्यसैले तपाईंको साह्रै चिन्ता लागेर यति कुरा लेख्दैछु ।
अब आफ्नो नयाँ पार्टीको नाम नेपाल कमेडी पार्टी (नेकपा) राख्नुहोस् । पार्टी अध्यक्षको रूपमा तपाईंको योग्यता र क्षमता अनुसार यो अति सुहाउने नाम हो । तपाईंका कार्यकर्ताहरू पनि कमेडी साह्रै रूचाउने खालकै छन् । जे बोल्यो, तालि । जति निकृष्ट वाक्य बोल्यो, उति कडा तालि । कम्युनिस्ट दर्शन, विचार र सिद्धान्त सबै छाडिसकेपछि त्यस्तो स्वाभाविक पनि हो ।
हाँस्यकलाकार हुनु पनि कहाँ नराम्रो हो र ? सन् २०१९ मा पूर्व सोभियत संघको उक्रेनमा त्यहाँका प्रख्यात हाँस्यकलाकार भोलोदिमिर जेलेन्स्कीले निर्वाचन जितेरै राष्ट्रपति भएका छन् ।
अनि नेपाली कम्युनिस्ट आन्दोलनमा लामो इतिहास बोकेका अधिकांश निष्ठावान नेता-कार्यकर्ता नेकपा बहुमत पक्षमा लागिसकेपछि जनताले पत्याउनयोग्य मानिसहरूको संख्या एकदमै कम भएको छ तपाईंको गुटमा । त्यसैले तपाईंको सिरानीमा भएको सिफारिस मुताबिक कम्तिमा १५००० केन्द्रीय सदस्य बनाउनोस् । त्यति भए यसो झण्डा लिएर ‘केपी बा-आई लभ यु’ भन्ने दुई-चार ठिटाको जोरजाम हुन्छ । बेलाबेलामा मोटरसाइकलमा तेल र बियर-मासु भए पुगिहाल्यो ।
अर्को कुरा, म तपाईंको शुभचिन्तक हुनुको नाताले खुसुक्क भन्दैछु, झापामा अघिल्लो पटक त पूर्वपञ्चहरूको सहयोगले बल्लतल्ल चुनाव जित्नुभयो । २ वर्षपछिको चुनावमा कसरी जमानत जोगाउने हो? अहिलेदेखि नै योजना बनाउनु होला । खुराफाती योजना र षडयन्त्रमा तपाईं हाँस्यव्यंग्यमा जत्तिकै सिपालु हुनुहुन्छ । आफ्नो सिपको पूरै प्रयोग गरेर आफ्नो सिट जोगाउनु होला ।
मेरो विचारमा तपाईंको पार्टी र कार्यकर्ताको वैचारिक धरातल हेर्दा चुनाव चिन्हचाहिँ बयल गाडा नै सबभन्दा उपयुक्त देखिन्छ । राजावादीहरूले गाई छान्ने गरेका छन् । तपाईंले भने जोर गोरूसहितको बयलगाडा छान्नुहोस् । हुन त तपाईंले जोर गोरू छान्दा श्रम गरेर बाँच्ने गोरू जातिकै बेइज्जत हुन्छ । तर के गर्ने? बयल गाडा तान्न त हल गोरू नभई भएन । बयल गाढा चढेर अमेरिका पो नपुगिने हो त, शीतल निवास, निर्मल निवास, लैनचौर, पानीपोखरी, महाराजगञ्ज र एमसीसी कार्यालय त पुगिन्छ नि ।
अनि प्रवक्तामा भने त्यही थापा भाइ नै ठिक छ । केटो राजनीतिमा कनिष्ठ र सदाबहार जागिरे भए पनि तपाईंको प्रवक्ता हुन सबभन्दा लायक त्यही छ । आहा, कति मीठो बोली छ । कति शिष्ट भाषा छ । सुनौं सुनौं लाग्ने । तपाईंको इज्जत प्रतिष्ठा जोगाउन बेस्सरी खटिएको छ । म त त्यसको फ्यान नै हुँ नि ।
अनि झन् कोषाध्यक्षमा त जो त्यही राख्नै भएन । ती एक जना छन् नि के बाँस्कोटा भन्ने, काभ्रेदेखि ७० करोडको दूधले नुहाएर चोखनिष्ट भएका । तीभन्दा पवित्र मान्छे त अरू को पाइएला र ?
तपाईंले पनि ‘सोचेजस्तो हुन्न जीवन’ भन्ने गीत त सुन्नुभएकै होला । ‘बाँचुञ्जेलसम्म पनि मरेकै हाल भो’ भनेर नैतिकताको आधारमा राजीनामा नदिए पनि सर्वोच्च अदालतको फैसलापछि ‘ओराली लागेको हरिणको चाल’ त भएकै छ । अस्ति गुप्तचर प्रमुख आउँदा फाउन्डेसनको नाममा आएको पेश्की र पछि थपिएको रकमले सांसद किनेर प्रधानमन्त्री बनिरहने तपाईंको अतृप्त इच्छा अझै छ । तपाईंको कुर्सीमोह र पदलोलुपता जोगाउन खरिद नभएका २-४ सांसद भक्तपुरे भाइले अपहरणै गरे पनि बहुमत पुग्दैन भन्ने तपाईंलाई पनि थाहा छ । संसद अधिवेशनले प्रधानमन्त्रीको कुर्सीबाट गलहत्याउने निश्चितै छ ।
त्यसैले बालुवाटारबाट आफ्ना चाटुकारहरूसहित झिटिगुण्टा बोकेर बालकोट सर्नु अगाडि कुनै साला-साली नियुक्ति खान बाँकी छन् भने तिनलाई पनि दिइहाल्नु होला । पद र प्रतिष्ठा दिन पार्टीमा पूर्णकालीन भएर जनयुद्ध-जनआन्दोलनको मोर्चामा डटेर लामो समय राजनीति गरेका छोरा, छोरी, बुहारी र ज्वाइँहरूलाई पो हुन्न त, साला-सालीलाई त अलि टाढैको नाता परेपनि खोजीखोजी महागरको मेयर, राजदूत, विद्युत प्राधिकरण, भूमि आयोग जता ततै हुन्छ । बचेखुचेका केही पद आवरा, टोले गुण्डा, गाली विज्ञको योग्यता पुगेका, बा’ भन्दै रून-कराउन आउनेलाई पनि हाल्दिए भयो । तर तिनले खुले आम ‘म केपी ओलीको छोरो हुँ, तँलाई एक घण्टामा अपहरण गर्न सक्छु’ भन्न चाहिँ रत्तिभर डराउनु हुँदैन । अनि नैतिकतासँग तिनको दूर-दूरको सम्बन्ध हुनुँहुँदैन ।
यति गर्नसकेपछि टाइम टाइममा यसो हप्ता उठाउन पनि काम लाग्छ । महाकाली र फाउन्डेसनको पैसाले जम्मा पाँचवटा महल र केही अरबको सम्पत्ति जोड्या न हो । त्यसको मर्मतसम्भार गर्नु पर्याे । आखिर तपाईं त जंगबहादुरसँग कुण्डली मिलेको मान्छे पो हो त । कहाँ प्रचण्डजस्तो भाडाको घरमा बस्ने मान्छे हो र ?
यति, ओम्नी, फोरजी र वाइडबडी लगायतका काण्डको पैसो त माओवादीका मान्छे किनेर मन्त्री बनाउँदा, पञ्चर्याली गर्दा कति सकियो कुन्नि ? बचेको पनि फेरि सांसद किन्दा खर्च हुने नै होला । त्यसैले पनि दुई-चार नियुक्ति त ठोक्नैपर्याे नि । कि कसो हो ? आफू त सोझो मान्छे, धेरै कुरा थाहा छैन ।
तपाईंको शुभचिन्तक
म