केही सहयोगस्वरूप र केही बिक्री गरेको समेत गरी ८ माघयता भारतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप उब्लब्ध गराइसकेको छ । नेपालले भारतसँग थप २० लाख डोज खोप किन्ने योजना बनाइएका खबरहरू सञ्चार माध्यमहरूले प्रकाशन–प्रशारण गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड– १९ का विरूद्ध खोप बन्नु, नेपालले समेत पाउनु र सर्वसाधारण नागरिकको पहुँजसम्म पुग्नु निश्चय नै स्वागतयोग्य र खुशीको कुरा हो । तर, त्यही बहानामा राष्ट्र र नागरिकले निकै ठूलो क्षति व्यहोर्नुपर्यो वा मूल्य चुकाउनुपर्यो भने त्योचाहिँ विडम्बनापूर्ण कुरा हुने छ ।
छिमेकी भारत दशकौंदेखि नेपालमा अनेकौं तरिका र माध्यमबाट आफ्नो पकड कायम गर्न र चौतर्फी हस्तक्षेप कायम राख्न सफल रहँदै आएको छ । त्यो क्रम र प्रक्रिया कहिले उत्कर्षमा पुग्ने त कहिले धीमा रूपले देखापर्ने गरेको छ । र, पछिल्लो चरणमा भने भारत यही खोपको बहानामा समेत नेपालमा ‘खोप कूटनीति’ कार्यान्वयन गर्न सफल भएको छ । नेपालसँग ‘सम्बन्ध सुधार’ गर्ने उद्देश्यका साथ नै भारतले खोपलाई ‘साधन’ का रुपमा प्रयोग गरिरहेको छ । नेपाल–भारत सीमा विवाद र केहीअघि भारतले जारी गरेको नेपाली भूमि अतिक्रमण गर्ने नक्सा र त्यसको प्रत्युत्तरस्वरूप नेपालले जारी गरेको ‘चुच्चे नक्सा’ का कारण नेपाल–भारतबीच बढेको तनावपूर्ण परिस्थितिमा अहिले निकै नै ‘सुधार’ आएको चर्चा–परिचर्चा सुनिँदै छ ।
सन् २०२० को सुरूआतदेखि हालसम्म नै जारी रहेको कोरोना महामारीका कारण नेपाल चर्को आर्थिक संकटमा फसिरहेको छ । यही बेला नेपाल गहिरो राजनीतिक संकटको समेत सामना गरिरहेको छ । आर्थिक र राजनीतिक संकटसँगसँगै बढिरहेको सामाजिक–सांस्कृतिक संकट पनि आफ्नो ठाउँमा छँदै छ ।
नेपालसँग कुनै छलफल, समन्वय र सहमति नगरिकनै ठूलो मात्रामा नेपाली भूभाग आफैंतिर गाभ्ने गरी भारतले गतवर्ष जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्साका कारण देशभक्त र राष्ट्रप्रेमी नागरिकहरू आन्दोलित भैरहेका थिए । त्यसपछि पनि नेपालसँगको सरसल्लाह र जानकारीविनै भारतीय सीमा क्षेत्रबाट नेपाली भूभाग हुँदै तिब्बतसम्म जोड्ने सडक बनाएर भारतले उदघाटन समेत गरिदिएपछि नेपाली जनता सहन नसक्ने अवस्थामा पुगे र सरकार पनि त्यो जनआक्रोश थेग्न नसक्ने स्थितिमा पुग्यो । सोही अवस्थाको परिणामस्वरूप नेपालले भारतद्वार अतिक्रमित आफ्नो केही भूमि समेत समेटेर ‘चुच्चे नक्सा’ जारी गर्यो; प्रधानमन्त्री केपी ओली पनि सार्वजनिकरूपमै भारतप्रति औंलो ठड्याएर बोल्न बाध्य भए ।
यसरी उत्पन्न भएको नेपाल–भारतबीचको तीव्र तनाव एवं द्वन्द्वका सन्दर्भमा समेत सीमा समस्याबारे नेपालसँग वार्ता र छलफल गर्ने तथा नेपाली सार्वभौमिकतालाई सम्मान गर्दै अतिक्रमित भूमि फिर्ता गर्ने कुरामा बेवास्ता गरिरहेको छ । यसप्रति भारतले केही चासो देखाएकै छैन । सीमा समस्याको संवेदनशीलता र हर क्षेत्रमा नेपालको भारतमाथि निर्भरता भारतले गहिरोसँग बुझिरहेको छ । नेपाल र नेपालीको यही विवशतामाथि खेलबाड गरेर नै भारत नेपाली पक्षबाटै वार्ताको पहल गरिनुपर्ने अड्डी कसिरहेको छ ।
यही परिवेशका बीच कोरोना महामारीको अवधि तन्कँदै अनि आर्थिक–सामाजिक–राजनीतिक परिस्थिति दिनानुदिन झन्–झन् संकटपूर्ण बन्दै गयो । र, नेपाल सरकारले यही दबाव झेलिरहेकै बेला ‘वार्ता र छलफल गर्न’ भनी भारतले पटक–पटक उसका उच्चस्तरीय टोलीहरू यता पठायो । यही परिवेशका बीच नेपालका परराष्ट्रमन्त्री सहितको टोलीले भारतको भ्रमण समेत गरिसक्यो ।
नेपालले भारतसँग खोप माग गर्ने कोशिस धेरै पटक गरेको हो । तर, भारत भने खोप र सीमा समस्यासँग जोडिएको उसको मनशाय सार्वजनिक गर्न चाहँदैन । नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले माघमा भारत भ्रमण गरिसकेपछि दुवै देशबीच केही आन्तरिक सहमति भएको सर्वत्र आँकलन गरिएको छ । त्यसपछि दुवै देशका सरकारले सीमा समस्याबारे कुरा उठाउन छोडेका छन्, यस मामिलामा चुप लागेर बसिरहेका छन् । र, त्यसपछि नै भारतले प्रदान गरेको खोप नेपालले पाएको छ । नेपाल–भारतबीचको ‘खोप कूटनीति’ ले नेपालमा पहिलो चरणको परीक्षण गरिसकेको छ ।
नेपालप्रतिको भारतीय हेपाहा व्यवहार र अहंकारपूर्ण अडानले नेपाल सरकार र यहाँका नेताहरुलाई चोट पुर्याएको देखिँदैन । बरु, प्रधानमन्त्री ओलीको आधिकारिक ट्विटर ह्याण्डल माघ ८ मा अन्तिम ट्विट लेखेर थन्किएको छ । भारतले खोप प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै चाँडै कोभिशिल्ड लगाउने अभियान सुरु हुने कुरा उक्ट ट्विटमा उल्लेखित छ । तर, नेपाली जनताले भने एकातिर उक्त खोपको विश्वसनीयता र प्रभावकारितामाथि सन्देह प्रकट गरिरहेका छन् भने अर्कातिर सधैं हेप्ने र हियाउने भारतले यही खोप दिएको बहानामा नेपालबाट के–के हडप्ने हो भनेर आशंकित छन् ।
सरसर्ती हेर्दा त्यो खोप हामीले ‘भूमि बेचेर किनेको’ जस्तो देखिँदै छ । प्रकारान्तरले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिने प्रयास स्थगित गरेर खोप पाउने कोशिस गरेका छौं हामी नेपालीले । वास्तवमा यो कार्य पनि एकप्रकारको राष्ट्रघात हो र एउटा ठूलो राजनीितक गल्ती हो । पूरै संसार महामारीको शिकार बनेको अवस्थामा खोप पाउनु नेपालको अधिकार हो, यो कुरा भारतको ‘निगाहा’ होइन र हुन सक्दैन । खोप प्राप्त गर्ने कुरा राष्ट्रहितको मामिलामा जोडिनु र असमान व्यापार बन्नु हुँदैन ।
संसारमा निःशुल्क खाना पनि त पाइँदैन । त्यसैले, दोस्रो पटक त नेपालले भारतलाई नगद तिरेर नै खोप किन्नु परेकै छ । नेपालको पूरै जनसंख्याले खोप लगाउनका निम्ति त भारतलाई नेपालले निकै ठूलो धनराशि बुझाउनुपर्छ । यसर्थ भारतबाट खोप लिइएको बहानामा नेपालको भूमि खोस्ने र गुमाउने घृणित षड्यन्त्र सफल हुन दिनु हुँदैन । आम नेपाली जनता यस्तो व्यवहार र चालबाजीविरूद्ध विरोध र प्रतिरोधमा उत्रनुपर्छ ।