दर्शनशास्त्रको विकास मानिसले आफ्नो जाति र आफू बस्ने संसारलाई बुझ्ने प्रयासमा गरेको भन्न सकिन्छ । उही प्रक्रियामा पश्चिमी र पूर्वी दार्शनिकहरूले फरक–फरक प्रकारले प्रश्नका उत्तर खोज्न थाले र फरक–फरक दृष्टिकोण वा विचारधाराको उत्पत्ति भयो । प्राचीन ग्रीक र युरोपमा प्रचलित दर्शनहरू तार्किक र व्यावहारिक जानकारीको प्रयोगद्वारा सत्य पत्ता लगाउन खोज्छन् भने चीन र भारतीय उपमहाद्वीपका दर्शनहरू (जसलाई पूर्वीय दर्शन भनिन्छ) ले जीवन जिउनका निम्ति सही तरिका र विश्वासको बारेमा बढी चर्चा गर्दै आइरहेका छन् ।
भारतीय उपमहाद्वीपका ६ दर्शनहरूलाई हिन्दू दर्शन भानिन्छ; जसमध्ये केहीले वेदमा विश्वास गर्छन् त कसैले गर्दैनन् । बौद्ध र जैन दर्शन वेदको सत्यता र ईश्वरको अस्तित्वमा विश्वास गर्दैनन् तर उनीहरू भौतिक जीवनबाहेकको अस्तित्वमा, मृत्युपछिको जीवन र कर्मको फलमा भने विश्वास गर्छन् । चार्वाक दर्शन भारतवर्षीय दर्शनहरूमध्येकाे एक हो, जसले आध्यात्मिक अस्तित्वलाई पूर्णरूपमा अस्वीकार गर्दछ ।
लगभग ईसापूर्व ६०० तिर सुरूवात भएको यस दर्शन १२औं शताब्दीसम्म चर्चित भए तापनि त्यसपछि कुनै निशान नछोडी हराएको देखिन्छ । चार्वाक दर्शनलाई लोकायत दर्शन पनि भनिन्छ र बृहस्पति सूत्रमा यसको विस्तृत वर्णन गरिएको पाइन्छ । हरेक दर्शनले केलाई ज्ञानको वैध स्रोत मान्ने भनेर उल्लेख गरेको हुन्छ । चार्वाक दर्शनअनुसार जे आँखाले देख्न सक्छ, कानले सुन्न सक्छ, नाकले सुँघ्न सक्छ, जिब्रोले स्वाद लिन सक्छ र शरीरले महसुस गर्न सक्छ, त्यसैलाई मात्र ज्ञानको वैध स्रोत मानिन्छ ।
जहाँ धुवाँ हुन्छ, त्यहाँ आगो बलेकाे हुन्छ भन्नुलाई अनुमान भनिन्छ र चार्वाकबाहेक सबै हिन्दू दर्शनले यसैलाई ज्ञानको स्राेतका रूपमा मान्दछन् । चार्वाक दर्शनअनुसार कुनै चिज प्रायः सँगै हुन्छन् भन्दैमा सधैं सँगै हुन्छन् नै भन्न सकिन्न, कुनै पनि कुराको जतिसुकै उदाहरण देखे पनि त्यसलाई सर्वव्यापी नियम बनाउन असम्भव छ । जति नै पटक कालो काग देखे पनि सबै काग काला नै हुन्छन् भन्न सकिन्न । चार्वाक दर्शनका अनुयायीहरूलाई चार्वाक भनिन्छ । उनीहरू पुष्टि गर्न नसकिने कुनै पनि कुराको अस्तित्वलाई अस्वीकार गर्दछन् । त्यसैले, तिनीहरू अलौकिक प्राणीहरू र आत्माहरूजस्ताका अस्तित्वलाई अस्वीकार गर्दछन् ।
चार्वाक दर्शनले प्रकृतिवादमा विश्वास गर्छ । जसका अनुसार प्रत्येक वस्तुमा आ–आफ्नै अन्तर्निहित गुण हुन्छन् र त्यसैअनुसार वस्तुहरू बन्दछन् । यो गुणले परिभाषित गर्दछ कि तिनीहरू कस्ता देखिन्छन, कसरी कार्य गर्छन् र संयोजन हुन्छन् । उनीहरू अनुसार अकस्मात पदार्थहरू मिलेर संसार निर्माण भयो, जीवहरू बने र चेतना उनीहरूको निहित गुण हो । केवल संयोगबाट बनेको यो ब्रह्माण्ड र यसका प्राणी तथा वस्तुहरू पूर्णतया फरक रूपमा गठन पनि हुन सक्थ्यो ।
अध्यात्मवादीहरू तर्क गर्छन् कि पदार्थ माटोजस्तै हो र हाम्रो चेतना एक कलाकारद्वारा बनाइएको भाँडाजस्तै हो । तर, पृथ्वीमा कुनै पनि कलाकार वा वास्तुकारको आवश्यकता बिना सुन्दर संरचनाहरू बनेको पाइन्छ, जुन पूर्ण रूपमा अनियमित तरिकाले संयोगवश बने । यदि ईश्वरजस्तो सिद्ध कलाकारले यो संसार बनाएका भए फेरि सबै नै चिज सुन्दर हुनपर्ने तर छैन । त्यसैले हामी र हाम्रो ब्रह्माण्ड संयोगवस र आकस्मत बनेका हौं र यसको पछाडि कुनै कारण वा कर्ता/ईश्वर नहुने उनीहरूको तर्क छ । ईश्वर र मृत्युपछिको जीवनको अवधारणा डर र आशामा आधारित हुने र पुजारी अथवा उच्च सम्मानित व्यक्तिहरूले धार्मिक सम्प्रदाय स्थापना गर्न मानिसहरूको यो डरलाई शोषण गरेको उनीहरूको विश्वास छ ।
चार्वाक दर्शन एक भौतिकवादी दर्शन हो तर यसो भन्नुको अर्थ भौतिक सम्पत्ति बटुल्नु र तत्काल भौतिक सुखको दौडमा जिउनु मात्र होइन । यसको सिद्धान्त जीवनको समग्र अनुभवलाई सुखद बनाउनु र दुःखबाट आफूमात्र टाढा नरही अरुलाई पनि दुःख नदिनु हो । आनन्दका स्रोत भएकाले चार्वाकहरूले संगीत र ललित कलाका क्षेत्रहरूमा आफूले योगदान दिए र मानिसहरूलाई पनि प्रोत्साहित गरे ।
जैन र बौद्ध दार्शनिकहरूले चार्वाकहरूलाई स्पष्ट रूपमा विरोध गरेका थिए र तिनीहरूको आफ्नै शास्त्रहरूमा चार्वाक दर्शनले कुनै पनि नैतिक मुद्दाहरूलाई बेवास्ता गर्ने भनेर लेखेका थिए । चार्वाकहरू वैदिक रीतिरिवाज, वर्ग प्रणाली र धर्मकर्मको अवधारणाको विरुद्धमा भएकाले उनीहरूमाथि मानिसमा अतिभोग, तत्काल सन्तुष्टि र अराजकतालाई बढाउने प्रवृतिको भनेर आरोप लगाएका थिए र उनीहरूलाई वैदिक दार्शनिकहरूले तुच्छ ठान्थे ।
वृहस्पति सूत्रलगायत अन्य चार्वाक दर्शनका मौलिक ग्रन्थहरू कुनै पनि बाँकी छैनन् । चार्वाक दर्शनका सन्दर्भहरू वैदिक र त्यस समयका अरु दार्शनिकहरूले आफ्ना साहित्यमा गरेका आलोचना मात्र हुन् । तिनीहरूले चार्वाक दर्शनलाई केवल एक नैतिकतालाई बेवास्ता गर्ने कट्टरपन्थी भौतिकवादि विचार भन्ने निष्कर्ष निकाले र तिनीहरूका कमजोर पक्षहरूमा जोड दिए ।
वैदिक अनुयायीहरूले नै चार्वाक ग्रन्थहरू नष्ट गरेका थिए भन्ने पनि मानिन्छ । १४ भन्दा बढी ग्रन्थहरूमा उद्धृत गरिएको ‘जबसम्म तिमी बाँच्छौ खुसीसाथ बाँच; मृत्युको दायराभन्दा बाहिर केही छैन’ लाई बिगारी ‘ऋणमा डुबेर भए पनि घ्यु खाऊ, मृत्युपछि ऋण तिराउन कोही आउँदैन’ बनाइयो । यस्ता विकृत वाक्यहरू अधिक लोकप्रिय छन्, जसले चार्वाक दर्शनले के भन्न खोजेको चिजको गलत व्याख्या गर्छ ।
कर्म र धर्म नहुँदा समाज कसरी अराजकताबाट बच्न सक्छ भन्ने धेरैको प्रश्न हुनसक्छ तर चार्वाक दर्शनले कुनै व्यक्तिको एकल जीवन पिडा मुक्त बनाउन अरुलाई दुःख दिनु यदपि भन्दैन । अन्य प्राणीहरूको जीवनलाई दुःखी नबनाई र कसैलाई पनि हानि नगरी जीवनमा आनन्द प्राप्त गर्ने लक्ष्य राख्नु पर्छ भन्ने चार्वाक सिद्धान्तले सिकाउँछ ।
चार्वाकले पनि जैन र बौद्धहरूले जस्तै युद्ध र पशुवलिलाई समर्थन गरेनन् । वास्तवमा, धेरै चार्वाकहरू शाकाहारी थिए भन्ने विश्वास गरिन्छ । तिनीहरूले जाति र भेदभावको अवधारणालाई पनि अस्वीकार गरे । अरूलाई हानि नगर्ने र आफ्नै जीवन पनि पीडा मुक्त र सुखी बनाउनु पर्छ भन्ने नै चार्वाक दर्शनको मुख्य विषय हो र त्यसअनुसार जसले पनि आफूलाई मनपर्ने काम गर्न सक्छ । चार्वाकहरूले तत्काल आनन्दक लागि गलत काम गर्नु र अतिभोगको वकालत गर्छन् भन्ने गलत बुझाई हो । किन भने यसको नतिजा अन्ततः पीडादायी नै हुन्छ ।
चार्वाक दर्शनको समर्थन गर्ने धेरै विद्वानहरू मान्छन् कि यदि वैज्ञानिक आविष्कारहरू र गणितको आविष्कार त्यस समयमा भएको भए चार्वाक दर्शनले विज्ञानलाई पनि ज्ञानको वैध स्रोतको रूपमा स्वीकार गर्ने थियो । चार्वाक दर्शन आफ्नो समयभन्दा धेरै अगाडि थियो र यसको प्रारम्भिक चरणमै हराएर गयो ।
चार्वाक दर्शन बाहेक भारतीय दर्शनका सबै शाखाहरूले आत्मा, कर्म र मुक्तिलाई मुख्य ठान्छन् । समान रूपमा नभए तापनि अलौकिक अस्तित्वलाई मान्दछन् । चार्वाक दर्शनले तत्कालीन अवस्थामा भारतीय दर्शनका अन्य धेरै सम्प्रदायहरूद्वारा प्रचारित अध्यात्मवादको पौराणिक फोकालाई भत्काउन सक्दो प्रयास गर्यो जसलाई तार्किक रूपमा गलत साबित गर्न सकिन्छ ।
मुक्ति र स्वर्गको प्रतिज्ञा र मृत्यु पछिको सुन्दर जीवनको आकर्षक अवधारणाहरू सधैँ सामान्य मानिसहरूको आशा र डरमा आधारित हुन्छन् । जुन प्रायः समाजलाई व्यवस्थित रूपमा चलाउन र कहिले आफ्नै फाइदाको लागि निर्माण गरिएको हो भन्ने तर्क प्रस्तुत गर्न सकिन्छ ।
हामीले जतिसुकै ज्ञान प्राप्त गरे पनि, वास्तविकता के हो र जीवनको कसरी सुरुवात भयो भनि कुनै पूर्वाग्रह बिना निचोडमा पुग्न सक्दैनाैं । मानौं यो सत्य देख्न वा बुझ्न हाम्रा इन्द्रीयहरू काफी छैनन् । चार्वाक दर्शनले हामीलाई आफ्नो वशमा भएका चिजबाहेक अरुको चिन्ता नलिन र हामीले भौतिक संसारका समेट्न सक्ने जति ज्ञानलाई प्रयोग गरी सुखी जीवन जिउन सिकाउँछ । हो, जीवनको कुनै अर्थ छैन; यो एक दुर्घटना थियो र वास्तवमा सबै कुरा दुर्घटना हुन् भन्ने मान्यताका साथ चार्वाकहरूले सुख प्राप्ति र दुःखबाट बच्नुलाई नै आफ्नो मुख्य मन्त्र बनाएर खुसीसाथ जीवन बिताउन सुझाव दिन्छन् ।
जनजिब्रो साप्ताहिक, २७:३१ बाट