newskoseli.Com

‘विप्लवका कमरेड’ को नाममा ‘विप्लव’ कै खुला–पत्र !

मैले नजिकबाट हेरिरहेको र माया पनि गरेको एउटा राजनीतिक दल निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयको भुमरीमा फसेको छ ।

जानकारीमा आएसम्म केन्द्रीय समितिको बैठकको बहुमतले निर्वाचनमा सहभागी हुने व्यहोराको महासचिवको प्रस्ताव अस्वीकार गरेको छ र बहिष्कार गर्नुपर्ने मतको पक्षमा बहुमत देखापरेको छ । यसरी बहिष्कारको पक्षमा बहुमतको विचार हुँदाहुँदै पनि ‘एकतालाई जोगाउने’ नाममा उक्त पार्टीले एउटा चुनावपरस्त प्रस्ताव पास गरेको सुन्नमा आएको छ । ‘पार्टी निर्वाचनमा नजाने तर स्वतन्त्र उम्मेदवार उठाउने’ भन्ने चोर दूलाबाट लुसुक्क छिरेर त्यस दलका प्रवक्ता निर्वाचन आयोगमा पुगेका छन् । उता कर्णालीमा ‘एमालेसँग चुनावी तालमेलबारे’ छलफल भएको छ ।

यी गतिविधिलाई पार्टी निर्णयविपरीत भन्दै अर्का नेता हेमन्तप्रकाश वलीबाट सार्वजनिकरुपमै विरोध पनि भएको छ । खतरा के देखिन्छ भने ‘शिवगढीको स्पिरिट’ लाई कुल्चँदै त्यस पार्टीभित्रको चुनावपरस्त धारा पेलपाल गरेर भने पनि चुनावमा जाने छ ।‌ त्यतिबेला त्यस दलभित्रका बहिस्कारको पक्षमा‌ मत जाहेर गर्ने बहुमत नेताहरूले के गर्नेछन् ?

के तिनीहरू फेरि पनि ‘पार्टी एकतालाई बचाउने सर्त’ मा आफ्नो विवेक तथा केन्द्रीय समितिको बहुमतको समेत विवेकमाथि घात गरेर भोट माग्न नमस्कार पड्काउँदै जान्छन् ? या उनीहरू असैद्धान्तिक ‘एकता’ को खाडलबाट निस्केर सोच्न थाल्छन् ? त्यस दलभित्रका इमानदार कार्यकर्ता साथीहरू अब के गर्छन् ?

प्रचण्डलाई‌ गद्दार भनी ‘क्रान्ति गर्न’ भनेर हिँडेका ती साथीहरू आफ्ना बाह्र जना होनाहार कमरेडहरूको बलिदानी अनि सयौं‌ साथीहरुको‌‌ जेल–नेल र मुद्धाको विषयलाई बिर्सेर प्रचण्डभन्दा पनि अझ बदनाम र कयौं दशक आफैंले प्रतिक्रियावादी मानेको दललाई‌ ‘राष्ट्रवादी’ को शब्दले विभूषित गर्दै पुच्छर बाँधेर ‘एकीकृत क्रान्ति’ को महाध्याय सुरु गर्न थाल्छन् ?

मलाई यो समय यस्ता शब्दहरू प्रयोग गरिरहँदा पटक्कै आनन्द आइरहेको छैन । आफूले आशा गरेको एउटा मित्रशक्ति भीरबाट दुर्घटित हुन लागिरहेको देख्दादेख्दै टुलुटुलु हेर्न अझ सकस भएकाले पोलेको छाती छामी–छामी यी कुराहरू लेखिरहेको छु ।

मलाई आशा छ– त्यहाँभित्र रहेका इमानदार क्रान्तिकारी साथीहरूले यो समयमा गम्भीर रुपमा सोच्नेछन् । यो बेला पनि साथीहरूले सही रुपमा सोचेनन् र सही निर्णय लिने आँट गर्न सकेनन् भने त्यो इतिहासमा भयानक गल्ती हुने छ । संसदीय व्यवस्थाबाट जनताको राज आउँदैन भनेर विद्रोह गरेको दल फेरि फर्केर त्यही व्यवस्थामा डुब्न खोज्नु भनेको एउटा प्रहसन मात्र हुने छ ।

प्रिय साथीहरू ! नरिसाउनु होला, बरु गम्भीर रुपमा सोच्नु होला । यो समय आगोको बीउ जोगाउने समय हो । अगुल्टोलाई संसदीय पोखरीमा चोपलेर आगो जोगिँदैन । अनि प्रचण्डलाई गाली गर्दै तर प्रचण्ड नै हिँडेको बाटो हिँडेर फरक गन्तव्यमा पनि पुगिँदैन ।

त्यसैले पार्टी केन्द्रीय समितिका बहुमत सदस्यहरूको चुनावबारेको सही मतको रक्षा गर्न तपाईं क्रान्तिकारी नेता तथा कार्यकर्ता साथीहरूले सार्थक पहल लिन ढिलो गर्नुहुने छैन भन्ने आशा गर्दै पार्टीलाई संसदीय दलदलमा भासिनबाट बचाउन तपाईंहरूलाई सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर