newskoseli.Com

कम्युनिस्ट पार्टीका मूल मान्यता

हाम्रो न्यूनतम वा आधारभूत कार्यक्रम नयाँ जनवाद, अधिकतम कार्यक्रम समाजवाद र अन्तिम उद्देश्य वा गन्तव्य साम्यवाद हो ।

दुईलाइन सङ्घर्षको प्रारम्भविन्दु अन्तर्सङ्घर्ष हो भने अन्तर्सङ्घर्षको विकसित विन्दु दुईलाइन सङ्घर्ष हो ।

०००                         ०००                        ०००
कम्युनिस्ट पार्टी निश्चित सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक आधार एवम् मान्यताहरुको जगमा निर्मित भएको हुन्छ । कम्युनिस्ट पार्टीसम्बन्धी यसप्रकारका मूल आधार तथा मान्यताहरुलाई हामीले सही ढङ्गले आत्मसात् गर्नु जरुरी छ । यस सन्दर्भमा ध्यान दिनुपर्ने विषय मूलतः यी हुन्–

कम्युनिस्ट पार्टीलाई परिभाषित गर्ने प्रश्न

मार्क्स–एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमा कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको पार्टीका रुपमा सङ्गठित गर्नुपर्ने कुरा बताउनु भएको थियो । लेनिन र माओले यस मान्यतालाई थप विकसित तुल्याउनु भएको छ । तदनुसार कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको राजनीतिक पार्टी हो ।

अरु हरेक वर्गले जस्तै सर्वहारा वर्गले पनि आफ्ना हक–हित तथा उद्देश्यको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी बनाउनु आवश्यक हुन्छ । सारतः कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गका सवैभन्दा उन्नत, लडाकु र क्रान्तिकारी तत्त्वहरुद्वारा निर्मित पार्टी हो । कम्युनिस्ट पार्टीलाई परिभाषित गर्ने र अर्थ्याउने यो मान्यताबारे हामी सवैमा स्पष्टता जरुरी छ ।

पार्टी सदस्यताका सर्त र महत्त्व

मेन्सेभिकहरुसितको वैचारिक सङ्घर्षका क्रममा लेनिनले भन्नुभएको थियो– ‘पार्टी सदस्य त्यो हो, जसले पार्टीको कार्यक्रम मान्दछ र पार्टीलाई आर्थिक रुपमा र व्यक्तिगतरुपले पार्टीको कुनै सङ्गठनमा सम्मिलित भएर सहायता गर्दछ ।’ (एक कदम आगे, दो कदम पिछे, पृ. ६०, प्रगति प्रकाशन मस्को, १९८५)

यहाँ पार्टी सदस्यताका लागि कार्यक्रम मान्नु, आर्थिक सहायता गर्नु र कुनै समितिमा आबद्ध हुनु गरी तीनवटा सर्त उल्लेख गरिएको छ । विश्वका सवै कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीद्वारा पनि उक्त सर्तहरु स्वीकार गरिँदै आएका छन् । हाम्रो पार्टीको विधानमा पनि यी तीन सर्तहरु पालना गर्नुपर्ने उल्लेख गरिएको छ । यसर्थ, पार्टी सदस्यताका यी सर्तहरुको पालना गर्नेबारे गम्भीर बन्नु पर्दछ ।

पथप्रदर्शक सिद्धान्त

क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त अनिवार्य रुपले आवश्य पर्ने कुराबारे लेनिन र माओले स्पष्ट पार्दै आउनु भएको छ । मार्क्सवाद कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्त हो र आज त्यो ‘मार्क्सवाद–लेनिनवाद–माओवाद’ का रुपमा विकसित भएको छ ।

अतः हामीले सिद्धान्त (मार्क्सवाद–लेनिनवाद–माओवाद) लाई दृढतापूर्वक अवलम्बन गर्दै र त्यसको रक्षा, प्रयोग एवम् विकास गर्दै जानु पर्दछ ।

कार्यक्रम, नीति र कार्यदिशा

कम्युनिस्ट पार्टीले क्रान्तिका लागि कार्यक्रम, नीति र कार्यदिशा निर्धारण गर्दछ । आन्दोलनको वस्तुगत पक्ष अनुरुप कार्यक्रम र आत्मगत पक्षमाथि ध्यान दिँदै नीति निर्धारण गरिन्छ । कार्यक्रम, नीति र योजनाको समग्रतामा कार्यदिशा निर्धारण हुन्छ ।

कार्यक्रममा सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका हकहित र उद्देश्य समेटिएको हुन्छ । देशको अर्द्धसामन्ती, अर्द्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्था अनुरुप हाम्रो न्यूनतम वा आधारभूत कार्यक्रम नयाँ जनवाद हो । हाम्रो अधिकतम कार्यक्रम समाजवाद हो । हाम्रो अन्तिम उद्देश्य वा गन्तव्य साम्यवाद हो ।

आन्दोलनको विशेष अवस्थाअनुसार विशिष्ट वा तत्कालीक कार्यक्रम पनि बनाउने गरिन्छ । कार्यक्रमका उद्देश्य प्राप्ति एवम् सफलताका लागि नीतिको आवश्यकता पर्दछ । नीति दुई प्रकारका हुन्छन्– रणनीति र कार्यनीति । आवश्यकताअनुसार तत्कालीक वा विशिष्ट नीति पनि बनाउने गरिन्छ ।

कार्यदिशाचाहिँ क्रान्तिको बाटो अर्थात् मार्गचित्रमा आधारित हुन्छ । कार्यदिशालाई विचारधारात्मक, राजनीतिक, सामरिक आदिका रुपमा वर्गीकृत गर्न सकिन्छ । हाम्रो सामरिक कार्यदिशा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह हो ।

अन्तर्सङ्घर्ष वा दुईलाइन सङ्घर्ष

पार्टी भनेको विपरीतहरुको एकत्व हो । एउटा सजीव पार्टीमा अन्तर्सङ्घर्ष वा दुईलाइन सङ्घर्ष निरन्तर चलिरहन्छ । त्यसो हुनु स्वाभाविकै हो । दुईलाइन सङ्घर्षको प्रारम्भविन्दु अन्तर्सङ्घर्ष हो भने अन्तर्सङ्घर्षको विकसित विन्दु दुईलाइन सङ्घर्ष हो ।

हामी यसप्रकारका सङ्घर्षहरुबाट डराउनु हुँदैन । अपितु, यिनलाई स्वस्थ तथा मैत्रीपूर्ण रुपमा एकता–सङ्घर्ष–एकताको पद्धतिद्वारा समाधान गर्दै र रुपान्तरित गर्दै जानु पर्दछ ।

‘तीन गर र तीन नगर’ को मान्यता

क्रान्तिकारी कम्युनिस्ट पार्टीका सदस्यहरुले ‘तीन गर र तीन नगर’ को सैद्धान्तिक मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ । ती तीन मान्यता हुन्– मार्क्सवाद लागू गर, संशोधनवाद होइन; एकताबद्ध होऊ, नफुट; खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर ।

यी मान्यता चिनियाँ कम्युनिस्ट पार्टीमा चलेका ठूला दुईलाइन सङ्घर्षका बीचबाट माओद्वारा संश्लेषित गरिएका मान्यता हुन् ।

माओवादी : १५ बाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर