भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल, १८७० मा भोल्गा नदीको किनारमा अवस्थित रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने सहरमा भएको थियो । उनको बाल्यकालको नाम ब्लादिमिर इल्यिच उल्यानोभ थियो । उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए । उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ कलिलै उमेरमा गरिबीको शिकार भएका थिए । तर, जेठा दाजुको सहयोग, आफ्नै कठिन परिश्रम र असाधारण प्रतिभाको फलस्वरूप उनी उच्च शिक्षा हासिल गर्न समर्थ भएका थिए ।
लेनिनकी आमा डाक्टरकी छोरी थिइन् । त्यसकारण लेनिनका माता–पिता शिक्षित रूसी नागरिक थिए । उनका बुबा सम्राटको शिक्षा विभागका प्रमुख निर्देशक थिए । लेनिनकी आमा मारिया एलेक जान्ड्रोब्ना, एक उच्च बौद्धिक महिला थिइन्, जसले आफ्ना बच्चाहरूको पालनपोषण र शिक्षाको पूर्ण हेरचाह गरिन् । लेनिनका एलेक्जेन्डर युलियानोभ नामका जेठा दाजु र अन्य बहिनीहरू पनि थिए । उनीहरु आन्ना, अलेक्जेण्डर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । यिनीहरू सबै ज्ञान प्रेमी थिए; उनीहरूको सँगै पढ्ने र लेख्ने चलन थियो । पाँच वर्षकै उमेरमा लेनिनले लेखपढ गर्न सिकिसकेका थिए । उनी एक असाधारण प्रतिभाशाली विद्यार्थी थिए र कक्षामा सधैँ प्रथम हुन्थे । विद्यालयमा पढ्दा नै उनले समाजमा पाइने क्रान्तिकारी किताबतर्फ आफ्नो दृष्टि दौडाएका थिए । सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रोसभ, साल्तिकोभ सेद्रिन र टोल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारीहरूका कृतिहरू पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी चेर्निसेभ्स्कीको ‘के गर्ने ?’ नामको उपन्यासले उनलाई धेरै प्रभावित पारेको थियो । यसरी स्कूले जीवनमा नै लेनिनले किताबी र बाहिरी सामाजिक क्रान्तिकारी ज्ञान हासिल गरिसकेका थिए ।
लेनिनको दृष्टिकोणमाथि उनको परिवार, वरिपरिको जीवन र प्रगतिशील रूसी साहित्यको निकै ठूलो प्रभाव पारेको थियो । त्यसबेला त्यहाँ तीव्र रूपमा पूँजीवादी व्यवस्थाको विकास हुँदै गइरहेको थियो । पूँजीवादी शोषणका साथसाथै सामन्ती उत्पीडन पनि कायम थियो र त्यो शोषणले मदजूर-किसानहरूको जीवन अत्यन्तै कष्टप्रद बनाएको थियो । जार शासनको शोषण, अत्याचार तथा जमिनदार र पूँजीपतिहरुको दमनबाट सिर्जित मजदूर-किसानहरूको दयनीय अवस्थाले लेनिनको हृदयमा शोषकहरूप्रति कठोर घृणा र शोषितहरूप्रति सहानुभूति पैदा गरेको थियो । विश्वविद्यालय अध्ययनकै क्रममा लेनिनले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीहरूसँग सम्बन्ध कायम गर्न थालेका थिए ।
सन् १८८६ मा लेनिनका पिताको अकस्मात निधन भयो । परिवारले यो पीडा बिर्सन नपाउँदै मार्च १८८७ मा उनका दाजु अलेक्जेन्डर पिटर्सवर्गमा गिरफ्तार भए । उनलाई तत्कालीन रूसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षडयन्त्रमा संलग्न भएको आरोपमा त्यसै वर्षको मे महिनामा स्लिसेल्बर्ग किल्लामा फाँसी दिइयो । अलेक्जेन्डर युलियानोभ आफै पनि दिनरात अध्ययन गर्दथे र आफ्ना भाइबहिनीहरूलाई पनि पढाउँथे । तर उनी सम्राट जारको हत्या गर्ने षड्यन्त्रको आरोपमा फसे र उनलाई फाँसी दिइयो । उनले चाहेको भए सरकारसँग माफी मागेर रिहा हुन सक्थे; तर उनी जस्तो महामानव शत्रुसँग माफी माग्न जन्मिएको होइन भन्ने कुराको उनलाई गर्व थियो । त्यसबेला लेनिन १७ वर्षका थिए । आफ्नो दाजुलाई मृत्युदण्ड हुँदा लेनिन कत्ति पनि विचलित भएनन् । तर यस घटनाबाट उनीमा जारशाहीप्रति भयंकर घृणा पलायो । उनी राजधानी सेन्ट पिटर्सबर्गमा न्यायशास्त्र (कानून) अध्ययन गर्न चाहन्थे, तर उनलाई एक षड्यन्त्रकारीको भाइ भनियो र त्यहाँ उनले अनुमति पाएनन् । त्यसपछि उनी कजानमा विश्वविद्यायमा गए; तर त्यहाँको क्रान्तिकारी विद्यार्थी आन्दोलनमा भाग लिएका कारण त्यहाँबाट पनि निस्कासित भए । डिसेम्वर १८८७ मा विद्यार्थीहरूको क्रान्तिकारी सभामा सक्रियतापूर्वक भाग लिएको कारणले लेनिन विश्वविद्यालयबाट निष्कासित भए र पछि गिरफ्तार समेत भए । यहीबाट उनको सक्रिय क्रान्तिकारी जीवन शुरु भयो ।
सबै प्रकारका बाधा र असुविधाहरूको सामना गर्दै लेनिनले अन्ततः ब्यारिस्टर पास गरे, उनले कानून परीक्षामा शीर्ष स्थान हासिल गरे र १८९१ मा कानूनको डिग्री सके । लेनिन कानून अभ्यास गर्न १८९३ मा सेन्ट पिटर्सबर्ग गए । तर ब्यारिस्टरको पेशामा उनको रुचि थिएन । उनलाई अदालतको कानूनी कारबाहीमा उपहास महसुस हुन्थ्यो । धेरै समयपछि पनि उनी साथीभाइसँग अदालतका दिनको कुरा गरेर मजाकपूर्वक हाँस्ने गर्थे ।
युवावस्थामा नै लेनिनले मार्क्सवादको गहन ढंगले अध्ययनको शुरुवात गरेका थिए । लेनिनले मार्क्सवादलाई रूसी सर्वहाराले आफ्नो स्वतन्त्रता हासिल गर्ने र रूसमा समाजवादी व्यवस्था कायम गर्ने वैचारिक हतियारको रूपमा बुझेका थिए । यसरी लेनिन पक्का मार्क्सवादी बनेर वैज्ञानिक समाजवादका महान् विचारधाराको तीव्रतापूर्वक प्रचारप्रसार गर्न थाले । लेनिनले मार्क्स र एङ्गेल्सका कृतिहरूको अध्ययन जारी राखे । नि.ए. फेदोसेएफ नामका रूसका प्रथम मार्क्सवादीबाट प्रभावित भई लेनिनले पनि काजानमा मार्क्सवादको अध्ययन शुरु गरेका थिए । मार्क्सवादको अध्ययनबाट लेनिनले सर्वहारा श्रमिक वर्गलाई पूँजीपति वर्गको शोषणबाट मुक्ति दिलाउन पूँजीवादी राज्यसत्तालाई ध्वंश गरी समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने कुरा सिके । उनले ल्याटिन ग्रिक, जर्मन, फ्रेन्च र अंग्रेजी, आदि विदेशी भाषाको गम्भीर अध्ययन गरे । यसै समयमा उनले जर्मन भाषाबाट रूसी भाषामा मार्क्स र एङ्गेल्सको एक महत्त्वपूर्ण कृति ‘‘कम्युनिस्ट घोषणापत्र” को अनुवाद समेत गरे । जुनबेला लेनिन क्रान्तिकारी आन्दोलनमा उत्रिरहेका थिए, त्यसबेला पश्चिम यूरोपको मजदूर आन्दोलनमा मार्क्सवादी बिचारधाराले ठाउँ लिइसकेको थियो, त्यो क्रमशः रूसतिर अगाडि बढिरहेको थियो । प्लेखानोभ रूसमा मार्क्सवादका पहिलो प्रमुख प्रचारक थिए । लेनिनले मार्क्सको प्रमुख कृति ‘पूँजी’ को गहन अध्ययन गरे । युवा उमेरमा नै आफ्नो वाक्पटुताले अरुलाई आकर्षित गर्ने र विश्वास दिलाउने क्षमता लेनिनमा थियो । सन् १८९२ मा लेनिनले सामरामा पहिलो मार्क्सवादी अध्ययन समूह स्थापना गरे । लेनिनमा सरलता, सहृदयता र उत्साहका साथै गम्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता, स्पष्ट र उत्कृष्ट विवेकशक्तिको अचम्मको समिश्रण पाइन्थ्यो । त्यसका सदस्यहरू मार्क्स र एङ्गेल्सका र अन्य साम्यवादी पुस्तकहरू पढ्थे र सक्रिय रूपमा मार्क्सवादको प्रचार गर्थे ।
सन् १८९३ मा पढाइ सकेपछि लेनिन सेन्ट पिटर्सबर्ग गए र त्यहाँ उनी विभिन्न क्रान्तिकारी गतिविधिहरूमा संलग्न भइरहे । त्यतिबेलासम्म उनी मार्क्सवादी भइसकेका थिए । मार्क्सवादी सिद्धान्त सर्वशक्तिमान छ, किनभने यो सत्य छ भन्ने कुरा लेनिनले बुझिसकेका थिए । सेन्ट पिटर्सबर्गमा रहँदा लेनिनले मजदूरहरूलाई संगठित गर्ने उद्देश्यले धेरै पत्रिकामा लेखहरू लेखे । विशेषगरी उनले सेन्ट पिटर्सबर्ग यूनियन फर द स्ट्रगल फर द इम्यानसिपेशन अफ लेबरलाई व्यवस्थित गर्न मद्दत गरे, जसले रूसी मार्क्सवादी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । सन् १८९३ नै देखि उनले रूसको कम्युनिस्ट विचारधाराको प्रचारप्रसार गर्न थाले । लेनिनले श्रमिक वर्गको हित रक्षाको लागि एक लीग गठन गरे । मार्क्सवादी विचारधाराअनुसार उनले मजदूरको हितका लागि क्रान्तिकारी संगठन बनाए । पिटर्सवर्ग आएपछि लेनिनले आफूलाई पूर्णरूपमा रूसको क्रान्तिकारी सर्वहारा नेतामा परिणत गरे । ठूलो ऊर्जा, आकांक्षा र संकल्पसहित उनी क्रान्तिकारी क्रियाकलापमा सक्रियतापूर्वक लागे । मार्क्सवादको गहन अध्ययन, रूसको सापेक्षतामा मार्क्सवादी विचारलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुराको ज्ञान, मजदूर आन्दोलनप्रति दृढ विश्वास र महान् संगठनात्मक प्रतिभाका कारणले गर्दा लेनिन छिट्टै पिटर्सवर्गमा मार्क्सवादीहरुको वरिष्ठ नेता बने । त्यतिबेला त्यहाँ उदारवादी नारोद्निकहरू थिए । उनीहरूले आफूलाई जनताका मित्र भन्थे भने मार्क्सवादीहरूलाई जनताका शत्रु भन्थे । यसको विरुद्ध लेनिनले ‘जनताका मित्र को हुन् र उनीहरू कसरी सामाजिक जनवादीहरूको विरुद्ध संघर्ष गर्छन् ?’ शीर्षकको पुस्तक प्रकाशित गरेर मार्क्सवादीहरूको रक्षा गरेका थिए । यो पुस्तक अत्यन्तै प्रसिद्ध समेत भएको थियो । यसरी लेनिनको अगुवाईमा रूसमा मार्क्सवादी पार्टीको स्थापना भयो र उनले सर्वहारा वर्गका लागि संगठनकर्ता र क्रान्तिकारी श्रमिक कार्यकर्ताहरू तयार गर्दै गए ।
लेनिनले लेखेका पुस्तक र पर्चाहरू अशिक्षित मजदूरहरूको लागि समेत महत्त्वपूर्ण हतियार सावित भए । यिनीहरूमा मजदूरको दयनीय स्थिति र उनीहरूको मुक्तिका मार्गहरू कोरिएका हुन्थे । सन् १८९५ मा लेनिन ‘श्रम मुक्ति’ दलसँग सम्बन्ध कायम गर्न र पश्चिम युरोपेली मजदूर आन्दोलनको अध्ययन गर्न विदेश गए । उनी स्विजरल्याण्ड हुँदै पेरिस र बर्लिनसम्म गए । स्विजरल्याण्डमा उनले ‘श्रम मुक्ति’ संगठनका नेताहरूसँग भेटे भने पेरिस र बर्लिनमा बस्दा उनी फ्रान्सेली र जर्मनी मजदूरहरूका विभिन्न कार्यक्रमहरूमा सहभागी भए । त्यहाँ उनीहरूको रहन–सहन र जीवन पद्धतिको अध्ययन गरे । यसरी उनले विदेशमा गएर मजदूर आन्दोलनको गहिरो अध्ययन गरे । सेप्टेम्बर १८९५ मा लेनिन पिटर्सवर्ग फर्किए र अझ धेरै उत्साहपूर्वक क्रान्तिकारी क्रियाकलापमा लागे । उनले विभिन्न आमसभाहरूको आयोजना गर्दै मजदूरहरूलाई आन्दोलित बनाइरहे । उनी क्रान्तिकारी मजदूरहरुका राजनीतिक पार्टी खोल्नतिर लागे । त्यही क्रममा सन् १८९५ मा लेनिनले पिटर्सवर्गका मार्क्सवादी अध्ययन समूहलाई एउटै राजनीतिक संस्थाको रूपमा संगठित गरे । पछि गएर यस संस्थालाई मजदूरवर्गको मुक्तिसंघर्ष संघ नाम दिइयो । यस संघले सम्पूर्ण रूसमा क्रान्तिकारी आन्दोलनको विकासका लागि प्रेरणा र मजदूरवर्गको मार्क्सवादी पार्टीको गठन गर्ने वातावरण तयार गर्यो । मुक्ति संघ रूसको क्रान्तिकारी मार्क्सवादी पार्टीको पहिलो बिज थियो ।
यसले रूसमा पहिलो पटक मजदूर आन्दोलनमा वैज्ञानिक समाजवाद प्रयोग गर्न थाल्यो । यसै कुरामा संघको महान् ऐतिहासिक भूमिका निहित थियो । शुरूमै यो संघले पिटर्सवर्गका कपडा कारखानाहरुका मजदूरहरुको प्रसिद्ध हड्तालको नेतृत्व गर्यो । उक्त हड्तालमा हजारौं मिल मजदूरहरूले भाग लिएका थिए । यसको क्रियाकलापमाथि कडा निगरानी राख्दै आएको जारशाही सरकारले छिट्टै संघमाथि प्रहार गर्यो । त्यसकारण लेनिनसहित संघका बहुसंख्यक कार्यकर्ताहरु गिरफ्तार भए । लेनिनले जेलमा बसेकै बेला ‘रूसमा पूँजीवादको विकास’ नामको प्रसिद्ध पुस्तक लेख्न शुरु गरे । यो पुस्तक लेख्न उनले ५८३ वटा किताब पढेका थिए भनिन्छ । यसबाट पनि लेनिन कति धेरै अध्ययनशिल थिए भन्ने कुराको पुष्टि हुन्छ । लेनिनको क्रान्तिकारी गतिविधि देखेर रूसका जार सम्राटले उनलाई सन् १८९७ देखि १९०० सम्म देशबाट निर्वासित गरेका थिए । सन् १८९७ मा उनी गिरफ्तार भए र ३ वर्षको लागि उनलाई साइबेरिया निर्वासित गरियो । उनलाई पक्रिएर जेलमा पनि हालिएको थियो ।
लेनिनको साइबेरिया निर्वासनको एक वर्षपछि रूसको क्रान्तिकारी आन्दोलनकी नेतृ क्रुप्स्काया साइबेरियाको सुसेन्सकोये गाउँ आइपुगिन् । उनीसँग आन्दोलनकै क्रममा लेनिनको यसअघि नै पिटर्सवर्गमा भेटघाट र चिनापर्ची भइसकेको थियो । आन्दोलनमा सँगसँगै हिँड्ने क्रममै लेनिन र क्रुप्स्कायाबीच प्रेमसम्बन्ध भइसकको थियो । २२ जुलाई १८९८ मा भ्लादिमिर लेनिनले क्रान्तिकारी नादेझ्दा क्रुपस्कायासँग विवाह गरे । क्रुप्सकाया लेनिनकी श्रीमती मात्र नभएर एक असल राजनीतिक सहयात्री समेत थिइन् । क्रुप्सकाया लेनिनको मृत्युपर्यन्त उनको निकटतम् मित्र, सहयात्री र सहयोगी रहिन् । क्रान्तिकारी प्रयास र राजनीतिक कार्यमा क्रुप्स्काया पनि निरन्तर लेनिनसँगै थिइन् ।
लेनिनले निर्वासनमै भएको बेला सन् १८९९ मा आफ्नो पुस्तक ‘रूसमा पूँजीवादको विकास’ पूरा गरे । यस कृतिमा रूसको आर्थिक विकासबारे गहन वैज्ञानिक अनुसन्धान गरिएको थियो । यो पुस्तक छिटै प्रगतिशील बुद्धिजीवी, विद्यार्थी र मजदूर अध्ययन मण्डलहरूमा फैलियो । लेनिन निर्वासनमै रहेका बेला मार्च १८९८ मा मिन्स्क सहरमा भएको रसियाली सामाजिक जनवादी मजदूर पार्टीको पहिलो महाधिवेशनमा पार्टी स्थापना भएको घोषणा गरियो ।
सन् १९०० तिर लेनिनको सक्रियता र नेतृत्वमा सम्पूर्ण रूसभर ‘इस्क्रा’ ( झिल्को) नामक पत्रिकाको प्रकाशन शुरू गरी त्यसको विक्री गर्ने व्यक्तिहरुको सम्पूर्ण संजाल बनाइयो । लेनिनले आफ्ना विचारहरूलाई पत्रपत्रिकाहरूमार्फत जनतामाझ पुर्याउने काम जारी राखे । लेनिनले “इस्क्रा” को सम्पादन गरेका थिए, जसको क्रान्तिकारी विचारहरू पढेर रूसका जनताको रगत जार शासनको विरुद्ध उम्लिएको थियो । इस्क्रा मार्फत लेनिनले क्रान्तिको बिगुल बजाएका थिए । यस पत्रमार्फत उनले श्रमिक आन्दोलन र रूसी क्रान्तिको सम्पूर्ण कार्यक्रम जनतासामु प्रस्तुत गरेका थिए । उनले मजदूरका मागलाई एकदमै सरल र सीधा भाषामा लेखेर प्रस्तुत गरेका थिए, जसलाई जनताले रुचाएका थिए । त्यसैबेला लेनिनले ठूलो जोशका साथ आन्दोलन-कार्य जारी राखे । उनले अर्को पत्रिका ‘सर्वहारा’ (प्रोलेतारिइ) पनि सम्पादन गरे । त्यसमा पनि उनले क्रान्तिकारी विचारहरू प्रवाह गरिरहे । त्यसपछि उनले सन् १८९८ मा बोल्सेभिक पार्टीको स्थापना गरे । बोल्सेविक पार्टीको निर्माणपछि यसले जमिन्दार र पूँजीपतिहरूको सत्ता कब्जा गर्न एवम् समाजवादको निमार्ण गर्न रूसी मजदूर वर्ग र सम्पूर्ण श्रमजीवीहरूलाई जगाइरहेको थियो । लेनिन र उनका साथीहरूद्वारा गठन गरिएको बोल्सेविक पार्टी विश्वका सम्पूर्ण कम्युनिस्ट तथा श्रमिक पार्टीहरूका लागि एउटा नमूना बन्नपुग्यो । ”मजदूरहरूको मुक्ति” को लागि प्रयास गरिरहेका रूसी मार्क्सवादीहरू पनि उनको साथमा थिए, जो जारशाहीको अत्याचारका कारण देश बाहिर बसेका थिए ।
क्रान्तिकारी गतिविधिमा संलग्न भएका कारण उनले आफ्नो वास्तविक नाम लुकाउनु परेको थियो र उनलाई अन्य धेरै उपनामले चिनिन्थ्यो । सन् १९०१ मा स्क्रा पत्रिकामा आफ्ना विचारहरू लेख्ने क्रमसँगै साइबेरियाली नदी लेनाको नामबाट उनले आफ्नो नाम लेनिन राखे र उनी लेनिन नामले चिनिए । यसपछि उनका सम्पूर्ण विचार तथा लेखरचना र पुस्तकहरू समेत यही नामबाट छापिन थाल्यो । अन्तिमसम्म उनको यो नाम नै विश्वप्रसिद्ध भयो । उनले सन् १९०२ मा ‘के गर्ने ?’ भन्ने पुस्तक लेखे । त्यसमा उनले क्रान्तिको नेतृत्व अनुशासित पार्टीको हातमा हुनुपर्छ, जसको मुख्य काम क्रान्तिको लागि काम गर्नु हो भनी जोड दिएका थिए । उक्त पुस्तकमा लेनिनले सर्वहारा मार्क्सवादी पार्टीको निर्माणसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए । लेनिनले यस पुस्तकमा संगठित र व्यावसायिक क्रान्तिकारीहरूको विचार प्रस्तुत गरेका छन् । लेनिनले क्रान्तिलाई पेसा मान्ने हो भने केही क्रान्तिकारीले मात्र पनि क्रान्ति सफल बनाउन सक्छन् भनी बताएका छन् ।
सन् १९०३ मा लेनिनले किसानहरुलाई पार्टी कार्यक्रम बुझाउने उद्देश्यले ‘गाउँका गरीबहरुलाई’ शीर्षकको लेख लेखे । उक्त लेखमा सरल र स्पष्ट भाषामा मजदूर पार्टीको उद्देश्य के हो र किन गरीब किसानहरू र मजदुरहरूबीच एकता कायम हुन आवश्यक छ भन्ने कुरा देखाइएको थियो । १९०३ मा रूसी श्रमिक समाजवादी जनवादी मजदूर पार्टीको दोस्रो महाधिवेशन आयोजित भएको थियो । यसमा लेनिन र उनका समर्थकहरूले अवसरवादी तत्वहरूका विरुद्ध कठोर अडान लिनुपरेको थियो । अन्तमा क्रान्तिकारी योजनाका प्रस्तावहरू बहुमतद्वारा अनुमोदित भए र रूसी समाजिक जनवादी मजदूर पार्टी दुईवटा शाखाहरूमा विभाजित भयो – क्रान्तिको वास्तविक समर्थक बोल्सेभिक समूह र अवसरवादी मेन्सेभिकहरूको समूह । स्क्राले पनि यही बेलादेखि पार्टीको मुखपत्रको रूपमा मान्यता पाएको थियो । लेनिनले सन् १९०४ मा ‘एक पाइला अगाडि, दुई पाइला पछाडि’ भन्ने पुस्तक प्रकाशित गरे । उक्त पुस्तकमा उनले मजदूर आन्दोलनको मेरुदण्ड बनेको पार्टीको विरुद्ध मेन्सेविकहरु संघर्ष गर्दैछन्, उनीहरू पार्टीलाई भ्रष्ट बनाउन चाहन्छन् भन्ने कुरा स्पष्ट रूपमा दर्शाएका थिए । त्यसमा उनले सर्वहारावर्गको नेतृत्वको पार्टीबिना न समाजवादी क्रान्तिले विजय प्राप्त गर्न सक्छ न त साम्यवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षालाई विकसित तुल्याए ।
अप्रिल १९०५ मा लन्डनमा रूसी सामाजिक-जनवादी मजदूर पार्टीको तेस्रो महाधिवेशन भयो । लेनिन महाधिवेशनको अध्यक्षमा चुनिए । सशस्त्र विद्रोहको तयारी नै पार्टीको आधारभूत र अत्यावश्यक कार्यभार हो भन्ने कुरा ठम्याउँदै महाधिवेशनले सम्पूर्ण पार्टी संगठन र सर्वहारावर्गलाई हतियारबन्द गराउन ठोस कदमहरू चाल्ने, सशस्त्र विद्रोहको योजना तयार गर्ने र यसको नेतृत्व गर्ने अभिभारा सुम्प्यो । यसरी सन् १९०५ मा रूसी क्रान्तिकारी आन्दोलनले भयंकर रूप लिन लाग्यो । अक्टोबर महिनामा आम राजनीतिक हड्ताल शुरू भयो । कलकारखानाहरू, हुलाकहरु र टेलिग्राफ अड्डाहरू बन्द भए । पूरा राष्ट्र नै ठप्प हुनेगरी संघर्ष अगाडि बढ्यो । यो सर्वहारा आन्दोलनको त्यो नयाँ रूप थियो, जुन त्यस बेलासम्म अरु कुनै राष्ट्रमा यसरी भएको थिएन । सन् १९०५ मा रूसमा भएको यो क्रान्तिले जारशाहीको जगै हल्लाइदियो तर त्यो प्रयास असफल भयो । लेनिन यसपछि पनि चुपचाप बसेनन्, धेरै क्रान्तिकारी क्रियाकलापहरू संचालन गरिरहे । जारशाही लेनिनको क्षमतादेखि तर्सन थाल्यो । लेनिन र लेनिनको नेतृत्वमा भएको सर्वहारा मजदूर आन्दोलनलाई दबाउन जारशाही क्रियाशील भयो तर सफल हुन सकेन ।
लेनिन रूसका जनतामाझ झन् धेरै लोकप्रिय भए र लेनिनले लिएको नीति रूसका जनताको कार्यनीति बन्न पुग्यो । लेनिन रूसका सर्वहारा वर्गको निम्ति आस्थाको पुञ्ज बन्न सफल भए । उनले १९०५ मा Two Tactics of Social Democracy in the Democratic Revolution नामक पुस्तक लेखेका थिए । यसले बोल्सेभिक पार्टीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्यो । मौका मिल्ने बित्तिकै उनी सन् १९०५ नोभेम्बरमा रूस फर्किए । लेनिनले पिटर्सवर्ग आएर देशभित्र नै बसी पार्टी र क्रान्तिकारी संघर्षको नेतृत्व गर्न थाले । उनले ‘नोभाया जीज्न’ भन्ने पत्रिकामा आफ्नो लेखमार्फत् पार्टीका कार्यकर्ता र जनतालाई प्रशिक्षित गरिरहे । यो पत्रिकामा प्रकाशित लेनिनका विभिन्न लेखहरुमध्ये ‘‘पार्टी संगठन र पार्टी साहित्य” को धेरै महत्त्वपूर्ण स्थान रहेको देखिन्छ । लेनिनले सशस्त्र विद्रोहको तयारीमा र केन्द्रीय समितिको गतिविधि सञ्चालनमा सक्रिय सहभागिता जनाए र कलकारखाना तथा मिलमा काम गर्ने मजदूरलाई प्रशिक्षण दिने काम गरिरहे । सन् १९०५-०७ मा उनले रूसको पहिलो क्रान्तिको समयमा जनतालाई उत्साहित गर्ने र लक्ष्यतर्फ डोर्याउने बोल्सेभिकहरूको कामलाई निर्देशन दिए । अब जारशाह लेनिनको क्षमता र सक्रियताबाट अत्तालिन थाल्यो । लेनिन र लेनिनको नेतृत्वमा भएको सर्वहारा मजदूर आन्दोलनलाई दबाउने हरेक प्रयत्न गर्नथाल्यो । लेनिन रूसका जनतामाझ झन् धेरै प्रसिद्ध हुँदै गए । उनको नीति रूसका जनताको कार्यनीति बन्न पुग्यो । लेनिन रूसका सर्वहारा वर्गको निम्ति आस्थाको पुञ्ज बन्न सफल भए । लेनिनले बोल्सेविक नीतिको औचित्य प्रमाणित गर्न निरन्तर रूपले कठोर परिश्रम गरे । उनले मजदूर, बुद्धिजीवी, श्रमिक र विद्यार्थीहरु र सबैसँग निरन्तर अन्तर्क्रिया अगाडि बढाइरहे ।
अप्रिल १९०६ मा लेनिन रूसी सामाजिक-जनवादी मजदूर पार्टीको चौथो (एकता) महाधिवेशनमा भाग लिन स्टकहोम गए । यहाँ उनले कृषि समस्या, वर्तमान अवस्था र सर्वहारावर्गको वर्गीय कर्तव्य राजकीय दुमाप्रतिको दृष्टिकोण, सशस्त्र विद्रोह र संगठनात्मक प्रश्नहरुबारे गहन विचारहरु राखे । महाधिवेशनमा बोल्सेभिक र मेन्सेभिकहरूबीच चर्को बहस भयो । कृषिको प्रश्नमा गम्भीर विवाद भयो । बोल्सेभिकहरूले बिर्ताजग्गाहरु बिना मुआब्जा जफत गर्ने र सम्पूर्ण जमिन राष्ट्रियकरण गर्ने अर्थात् जमिनमाथि व्यक्तिगत स्वामित्व बदर गरेर सरकारी स्वामित्व कायम गर्ने माग राखे । तर, मेन्सेभिकहरू जमिन राष्ट्रियकरण गर्ने प्रस्तावको विरोधमा उत्रे । ९ मे १९०६ मा उनले पिटर्सवर्गमा हजारौं जनताको उपस्थितिमा महत्त्वपूर्ण सभामा भाषण गरे । त्यसमा उनले निरङ्कुश शासनसँग कादेतहरूको बुर्जुवा पार्टीले गरेको साँठगाठको भण्डाफोर गरे र सर्वहारा वर्गको क्रान्तिकारी नीतिलाई अगाडि सारे । अत्यन्तै मेहनत र कठोर सङ्घर्षपछि लेनिनले पार्टी संगठनलाई बोल्सेविकहरूको वरिपरि गोलबन्द गर्ने काममा सफलाता हासिल गरे । अप्रिल १९०७ मा रसियाली सामाजिक–जनवादी मजदूर पार्टीको पाँचौ महाधिवेशनमा भाग लिन लेनिन लण्डन गए र उक्त महाधिवेशनको नेतृत्व सम्हाले । महाधिवेशनमा लेनिनद्वारा प्रस्तुत बुर्जुवा पार्टीहरूविरुद्धको दृष्टिकोण सम्बन्धी प्रस्ताव पारित भयो । यो महाधिवेशनले क्रान्तिमा बोल्सेविकहरुले अपनाएको नीतिको औचित्य स्वीकार गर्यो । अन्य धेरै प्रश्नहरुमा मेन्सेविकहरुमाथि विजय हासिल गरे ।
१९०७ मा उनले दोस्रो पटक विदेश यात्रा गरेका थिए । यस पटक लेनिनले जेनेभा र पेरिसबाट दुईवटा पत्रिका पनि जारी गरेका थिए । यी पत्रिकाहरूको भाषा धनीहरूका लागि गालीले भरिएको थियो । लेनिन त्यतिबेला फ्रान्सको राजधानी पेरिसमा बस्थे । जुन १९०७ को शुरूमा लेनिन लण्डनबाट रूस फर्किए र फिनल्याण्डमा बस्न थाले । महाधिवेशन पछि रूसको सरकारले दमनको नीति लिन थाल्यो । रूसमा कठोरतम् प्रतिक्रियावादी काल शुरू भयो । त्यसपछि रूसमा असुरक्षित महसुस गरेर लेनिन पश्चिमी युरोप गए । जनवरी १९०८ मा लेनिन स्विजरल्याण्डको जेनेभामा गए । त्यहाँ उनी नयाँ जोश र शक्ति सँगालेर पार्टीको काममा लागे । स्विट्जरल्याण्डमा रहँदा रूसी सेनाको प्रयासलाई कमजोर बनाउन जर्मन सेनालाई सहयोग गरेको आरोप लागेका लेनिनलाई प्रायः जर्मन जासूसको रूपमा हेरिन्थ्यो । जेनेभा आएको वर्ष लेनिन त्यहाँबाट लन्डन गए र त्यहाँको ब्रिटिस म्यूजियमको पुस्तकालयमा बसेर एक महिनासम्म निरन्तर अध्ययन गरे । सन् १९०९ मा लेनिनले ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना‘ पुस्तक लेखेर प्रतिक्रियावादी दर्शनको तीव्र आलोचना गर्दै क्रान्तिकारी दर्शनको व्याख्या गरेका थिए । लेनिनले यस पुस्तकमा मार्क्सको द्वन्द्वात्मक भौतिकवादको पुन:व्याख्या गरेका छन् । लेनिनले यसमा द्वन्द्वात्मक भौतिकवादलाई सम्पूर्ण विद्वानहरूको गहन प्रश्नहरू बुझ्नसक्ने उच्च ज्ञानको रूपमा व्याख्या गरे ।
लेनिनको सम्पूर्ण ध्यान रूसी क्रान्तिप्रति केन्द्रित थियो । लेनिन नयाँ जोश र शक्ति बटुलेर पार्टी कार्यमा लागे । अब उनले नयाँ क्रान्तिको तयारी गर्न थाले । सन् १९१० मा लेनिनको हातमा तीनवटा साम्यावदी पत्रिका थिए, जसमा उनले मजदूरहरूलाई विद्रोह गर्न उत्साहित बनाउने काम गरेका थिए । रूसी “डुमा” का धेरै प्रतिष्ठित सदस्यहरू पनि लेनिनको पार्टीमा सामेल भएका थिए, जसले रूसमा क्रान्ति गर्नको लागि मजदूरलाई उत्सिहत बनाउने काम गर्दथे । सन् १९१० मा नै लेनिनले पिटर्सवर्गमा साप्ताहिक पत्रिका ‘‘जभेज्दा’’ निकाले । सन् १९१० मा नै रूसमा फेरि मजदूर आन्दोलन चर्किन थाल्यो । पिटर्सवर्ग, मस्को र अन्य धेरै ठूला–ठूला शहरहरूमा विभिन्न हड्ताल, प्रदर्शन, सभा र अन्य राजनीतिक सक्रियताहरू बढ्न थाले । क्रान्तिकारी आन्दोलन तीव्र रूपमा अगाडि बढ्न थाल्यो । किसान, स्थलसेना र जलसेना पनि संघर्षप्रति आकर्षित हुन थाले । लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीले यो क्रान्तिकारी आन्दोलनको नेतृत्व गरिरहेको थियो । सन् १९११ मा लेनिनले पार्टी संगठनहरुका भूमिगत मजदूर कार्यकर्ताहरुलाई पढाउनको लागि पेरिस नजिकको लोन्झुयुमो बस्तीमा पार्टी स्कूल स्थापना गरे । यसपछि डिसेम्बर सन् १९१२ को जनवरीमा प्रागमा अखिल रसियाली पार्टी सम्मेलन भयो । त्यतिबेला लेनिन आफ्ना धेरै सहयोगीहरूसँग क्राकोको गोप्य ठाउँमा बस्थे र सम्पूर्ण रूसको मजदूर आन्दोलन सञ्चालन गर्थे । सम्मेलनमा लेनिनले पेश गरेको ‘वर्तमान अवस्था एवं पार्टी कार्य’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित भयो ।
सन् १९१२ मा पिटर्सवर्गका मजदूरहरुको सक्रियता र लेनिनको सहयोगमा दैनिक पत्रिका बोल्सेभिक ‘प्राभ्दा’ निस्कन थाल्यो । ‘प्राभ्दा’ मा लेनिनले आर्थिक स्थितिको बारेमा लेख्ने गर्दथे । गरीबी, दासता र अन्धकारमा पुर्र्याउने शोषक वर्गहरुको भण्डाफोर गर्ने गर्दथे । यतिबेलै चौथो राजकीय दूमाको लागि निर्वाचन भयो । निर्वाचनमा भाग लिनाले जनसमूहसँग पार्टीको सम्बन्ध दरिलो बन्नेछ, पार्टी संगठनहरुको कार्यमा सक्रियता ल्याउनेछ भन्ने कुरामा लेनिन जानकार थिए । बोल्सेभिकहरूले चुनावमा तीन मुख्य माग अघि सारेका थिए – लोकतान्त्रिक गणतन्त्रको स्थापना, आठघण्टे कार्यदिनको निर्धारण र समस्त बिर्ताहरु जफत गर्ने । निर्वाचनको परिणामले लेनिनलाई उत्साहित बनायो । देशका ६ वटा मुख्य-मुख्य औद्योगिक प्रान्तहरू, जहाँ रूसी सर्वहारावर्गको ४-५ हिस्सा केन्द्रित थिए, त्यहाँबाट मजदूरहरूको तर्फबाट राजकीय दूमामा बोल्सेभिकहरु चुनिए । लेनिन बोल्सेभिक डेपुटीहरूलाई निर्देशन दिन्थे । महत्वपूर्ण राजनीतिक विषयहरुमा उनीहरूको भाषण मस्यौदा तयार गर्थे । डेपुटीहरुलाई क्रान्तिकारी प्रचारको लागि कसरी दूमाको मञ्च प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकाउँथे ।
सन् १९१४ मा पहिलो विश्वयुद्ध शुरु हुँदा लाखौं रूसी मजदूर र किसानहरू सेनामा भर्ती हुन बाध्य भए । उनीहरूलाई भयंकर अवस्थामा युद्धमा पठाइयो । तिनीहरूसँग प्रायः अन्यन्तै कम तालिम थियो, खानेकुरा, जुत्ता थिएन र कहिलेकाहीँ त उनीहरू हतियार बिना लड्न बाध्य हुन्थे । जारको नेतृत्वमा लाखौं रूसी सैनिक मारिए । यो युद्धले रूसको क्रान्तिको वातावरण तयार बनायो । रूसी जनता विद्रोह गर्न तयार भए । यो युद्ध श्रमिकवर्गको हितमा नभएको तर्क राखी लेनिनले यसको चर्को विरोध गरे । बोल्सेभिक पार्टीले युद्धविरुद्ध निणार्यक संघर्ष शुरु गर्यो । राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरुले मजदूरहरुको बीचमा क्रान्तिकारी प्रचार गरे । जारशाही सरकारले बोल्सेभिकहरुमाथि भयंकर दमन नीति अपनायो । आफ्नो क्रान्तिकारी क्रियकलापका लागि राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरु साइबेरिया निर्वासित भए । दमनको पर्वाह नगरी लेनिनले युद्धविरुद्ध संघर्ष जारी राखे । उनले सर्वहारा र श्रमिक जनतालाई नयाँ क्रान्तिको लागि तयार गर्दै थिए । लेनिनले वामपन्थीहरुलाई एकजुट पार्न र अवसरवादीहरूविरुद्ध संघर्ष गर्नको लागि जिमरवाल्ड (सेप्टेम्बर, १९१५) र किनटल (अप्रिल, १९१६) मा भएका समाजवादी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिए । यही बीचमा उनकी आमाको पनि मृत्यु भएको थियो । सन् १९१६ मा लेनिनले ‘साम्राज्यवाद पूँजीवादको उच्चतम् अवस्था‘ नामक पुस्तक लेखेका थिए । यसमा पूँजीवादको खराबी पक्षको बारेमा विस्तृत व्याख्या पाइन्छ । लेनिनको यो रचना धेरै महत्त्वपूर्ण छ । यो पुस्तकमा मार्क्सवादमाथि लागेका आक्षेपहरूको समाधान गरिएको छ । उनले धेरै देशमा पूँजीवादको अन्त्य हुनुको सट्टा यसको रक्षा गर्नका लागि अनुकूल परिस्थिति नै वृद्धिको कारण रहेको बताए । उनले यसमा साम्राज्यवादको रूपमा पूँजीवादको विकास यसको अन्तिम प्रगति हो भन्ने कुरा दर्शाए । यसपछि साम्राज्यवादको दोषहरूको कारण पूँजीवादको विनाश अनिवार्य छ भन्ने कुरा उल्लेख गरे ।
सन् १९१७ फेब्रुअरीमा बोल्सेभिक पार्टीको आह्वानमा पेट्रोगाद शहरमा दुई लाखभन्दा धेरै मजदूरहरूले आमहड्ताल शुरू गरे । यो हड्तालले भयंकर आन्दोलनको रूप लियो । त्यतिबेला बोल्सेभिक पार्टी केन्द्रीय समितिले निकालेको घोषणापत्रमा जारशाहीको निरंकुश सत्ता पल्टाउने, अस्थायी क्रान्तिकारी सरकार गठन गर्ने, जनवादी गणतन्त्र स्थापना गर्ने, आठघण्टे कार्यदिन तोक्ने, बिर्ता जमिन्दारीहरू जफत गर्ने र युद्ध समाप्त गर्नेजस्ता मागहरू राखिएका थिए । जारशाही सरकारले सेनाको मद्दतले क्रान्तिकारी आन्दोलन रोक्ने असफल प्रयत्न गर्र्यो । तर यो कुरा उसको बुताभन्दा बाहिर गइसकेको थियो । सिपाहीहरूले समेत मजदूरहरुसँग मिलेर जारशाही शासनविरुद्ध आन्दोलनमा भाग लिन लागे । वास्तविक क्रान्तिकारी मार्क्सवादी पार्टीद्वारा निर्देशित मजदूर तथा किसानवर्गले विजय हासिल गरे । युगौंदेखि रूसी जनताको शोषण गर्दै आएको निरंकुश जारशाही शासनको अन्त्य भयो । मास्को तथा अन्य शहरहरूमा मजदूर तथा सिपाहीहरूले यस आन्दोलनको समर्थन गरे । आन्दोलनबाट जारका हाकिमहरु लखेटिए र जारशाही राजतन्त्रीय शासनव्यवस्था ढल्यो । त्यसपछि आन्दोलनकारीहरूको अस्थायी सरकार गठन भयो । त्यस सरकारको नेतृत्व आन्दोलनकै एक नेता केरेन्स्कीले गरे । उनी बुर्जुवा (पूँजीवादी) विचारधाराका थिए । यो क्रान्ति फेब्रुअरी क्रान्तिको रूपमा चर्चित भएको थियो । तर यस क्रान्तिले मजदूर तथा किसानवर्गको हित गर्ने राज्यसत्ता भने स्थापना गरेन । क्रान्तिपछि छोटो समयमै राज्यसत्तामा बुर्जवावर्गको वर्चस्व स्थापित भयो । लेनिन जर्मनीको सहयोगमा रूस फर्के । अब उनी अन्तरिम सरकार विरुद्ध बोल्न थाले । त्यतिबेला केरेन्स्कीको नेतृत्वमा अस्थायी सरकार थियो । उनी जनताद्वारा शासित सरकार चाहन्थे । लेनिनले अस्थायी सरकारलाई विश्वास नगर्न र उनीहरूको सत्ता बलियो पार्न कदापि दिनुहुन्न भन्ने विचार व्यक्त गरे तथा राज्यसत्ता सोभियत (मजदूर तथा किसानप्रतिनिधि)हरूको हातमा सार्नको लागि समस्त शक्ति लगाउनुपर्छ भन्ने कुरामा जोड दिए । लेनिनले आमजनतालाई प्रतिक्रियावादी सत्ताको विकल्पमा समाजवादी क्रान्तिको लागि तयारी गर्ने सल्लाह दिए । अस्थायी सरकारविरोधी क्रान्तिको समर्थनमा एकपछि अर्को गर्दै सभाहरू हुन थाले । जूलुसहरु निस्कन थाले । त्यसबेला लेनिन स्विट्जरल्यान्डमा थिए । आन्दोलनको नेतृत्व गर्न उनी स्वदेश फर्किए । उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरू बिनामुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदूर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे । त्यसपछि लेनिनले यही बीचमा महाधिवेशन बोलाएर पार्टीको नाम बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरूविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरूले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करीब साढे तीन महिना भूमिगत भएर काम गरे । सन् १९१७ को अर्धभूमतिकालमा नै लेनिनले एक अत्यन्तै चर्चित पुस्तक ‘राज्य र क्रान्ति‘ लेखे, जसले मार्क्सवादको राज्यसिद्धान्त उल्लेख गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । यसमा उनले वैज्ञानिक समाजवादलाई विस्तृत ढंगले व्याख्या गरेका थिए । यो पुस्तकमा लेनिनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको विकासका दुई खुड्किलाहरूको रूपमा हेरेका थिए । मार्क्स र एङ्गेल्सको विचारलाई विकास गर्दै उनले समाजवादले अनिवार्य साम्यवादमा संक्रमण गर्नेछ भन्ने कुरा स्पष्ट पारेका थिए । यसबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्वपूर्ण विचार प्रकट गरेका थिए । यस पुस्तकमा लेनिनले क्रान्तिको पद्धति र कलाको बारेमा विस्तृत चर्चा गरेका छन् । उनले यस पुस्तकमा विश्व क्रान्तिलाई गहिरिएर अध्ययन गरी क्रान्तिका सम्बन्धमा केही नियमहरू प्रस्तुत गरेका छन् । लेनिनले यस पुस्तकमा राज्यसँग सम्बन्धित विचारहरू पनि दिएका छन् ।
सोभियतहरूको पुनःनिर्वाचनमा बोल्सेभिकहरुले बहुमत पाए । उनीहरुले पेट्रोग्राड र मास्कोका सोभियतहरुमाथि आफ्नो नियन्त्रण कायम गरे । उनीहरू फेरि प्रमुख शक्तिको रूपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप शुरु गर्यो । २४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोल्नि आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्य-मुख्य अड्डामाथि विद्रोही मजदूर, सिपाही र नौसैनिकहरुले कब्जा गरे । त्यसपछि क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा गर्यो । त्यसको लगतै लेनिनको नेतृत्वमा रूसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको शुरुवात गर्यो । यो क्रान्ति नै अक्टोबर क्रान्तिको नामले विश्वमा चिनिन्छ । यसरी अक्टोबर २५, १९१७ मा लेनिन र उनको बोल्सेभिक पार्टीले सत्ता कब्जा गर्र्यो । यसलाई अक्टोबर क्रान्ति वा बोल्सेभिक क्रान्ति पनि भनिन्छ । यो क्रान्तिमा गरीब किसान, सिपाही र मजदूरहरू संलग्न थिए भन्ने स्पष्ट छ । समग्रमा यो गरीब किसानको क्रान्ति थियो । अधिकांश कामदारहरू अर्धकिसान पनि थिए । यस पृष्ठभूमिमा क्रान्तिसँग सम्बन्धित बुद्धिजीवी वर्गले भावी समाजलाई समाजवादी स्वरूपमा परिकल्पना गरे । यसमा लेनिनको महत्वपूर्ण भूमिका थियो । लेनिनले रूसी समाजवादी संघीय सोभियत गणतन्त्र स्थापना गरे र नयाँ सरकारको नेतृत्व गरे । नयाँ सरकारको स्थापनापछि लेनिनले धेरै परिवर्तन गरे । उनले चाँडै जर्मनीसँग शान्ति कायम गरे । सोभियत संघलाई प्रथम विश्वयुद्धबाट बाहिर निकाले । उनले जमिन्दारहरूबाट जमिन लिएर किसानहरूमाझ बाँडिदिए । सन् १९१७ मा उनले रूसको पुनर्निर्माणको लागि एक योजना बनाए र यो धेरै सफल भयो । लेनिनले आफ्नो अध्यक्षतामा सोभियत सरकारको स्थापना गरे र कडा अनुशासनका साथ देशलाई नियन्त्रणमा राखे । देशको विकासका लागि धेरै प्रयास गरे । लेनिनको नेतृत्वमा बोल्सेभिक कम्युनिष्ट पार्टीले तुरुन्तै देशको अधिकाँश शक्ति आर्थिक निर्माणतर्फ लगायो । यातायात, इन्धन, उद्योग तथा अन्य महत्वपूर्ण आर्थिक क्षेत्रहरुको पुनरुत्थान शुरू भयो । समाजवाद तथा साम्यवाद निर्माणको लागि बृहत् उद्योगको विकास गर्नुपर्छ, देशकलाई विद्युतीकरण गर्नुपर्छ भन्ने कुरामा लेनिनले जोड दिए । लेनिनले अर्थव्यवस्थाको पुनरुत्थान कार्य कृषिबाट शुरु गर्नुपर्छ भन्ने कुरामा जोड दिए । कम्युनिष्ट पार्टी र सोभियत सरकारद्वारा प्रस्तुत नयाँ आर्थिक नीति पूँजीवादबाट समाजवादतर्फको संक्रमणकालको लागि एक मात्र सही नीति थियो । लेनिनले राष्ट्रमा विज्ञान र प्रविधिको क्षेत्रमा भैरहेको विकासप्रति गम्भीर रूपमा चासो दिन्थे । नयाँ आविष्कारप्रति उनी जिज्ञासा राख्थे र आविष्कारकहरुलाई प्रोत्साहित गर्थे । उनी जनतालाई सरकारको सेवा सर्वसुलभ रूपमा दिन र आर्थिक अनुशासनको कठोरतापूर्वक पालना गर्न ध्यान दिन्थे । नयाँ नीति अन्तर्गत रूसी अर्थतन्त्रमा धेरै सुधार भएको थियो ।
पेट्रोग्रादमा ६ मार्च १९१८ मा पार्टीको सातौँ महाधिवेशन भयो । महान् अक्टोबर समाजवादी क्रान्तिको विजयपछि भएको यो पहिलो महाधिवेशन थियो । लेनिनले महाधिवेशनको सबै नेतृत्व गरेका थिए । त्यसमा उनले धेरै पटक विभिन्न विचारहरू व्यक्त गरेका थिए । यो महाधिवेशनले बहुमतबाट लेनिनवादी नीतिको समर्थन गर्यो र ‘‘युद्ध तथा शान्ति सम्बन्धी प्रस्ताव’’ पनि पारित गर्यो । लेनिनको प्रस्ताव अनुसार पार्टीको नाम बदल्ने निर्णय भयो र पार्टीको नाम रूसी कम्युनिस्ट (बोल्सेविक) पार्टी रहन गयो । ११ मार्च १९१८ मा सोभियत सरकार मस्को सर्यो र मस्को सोभियत राष्ट्रको राजधानी बन्यो । जन कमिसार परिषद् र अखिल रसियाली केन्द्रीय कार्यकारिणी समितिका कार्यालयहरु क्रेमलिन भवनमा सरे । लेनिन पनि क्रेमलिन सरे । सोभियत सरकार बनेपछि लेनिनले लामो समय शासन गर्न सकेनन् ।
नोभेम्बर १९२२ मा लेनिनले मस्कोमा भएको सोभियतको पूर्ण बैठकमा भाषण गरे, जसमा उनले सोभियत शासनको पाँच वर्षको समीक्षा गरेका थिए । उनले “नयाँ आर्थिक नीति (NEP) सहितको रूस समाजवादी रूस बन्ने” दृढ विश्वास व्यक्त गरे । उनी गम्भीर बिरामी हुनुअघि राष्ट्रका नाममा उनको यो अन्तिम भाषण थियो । बिरामी हुँदा पनि लेनिनले धेरै महत्त्वपूर्ण लेखहरू लेखेका थिए, जसमा उनले सहकारी निर्माणको बाटोबाट किसानहरूलाई त्यसमा सामेल गरेर देशमा समाजवाद निर्माण गर्ने योजनाको रूपरेखा प्रस्तुत गरेका थिए । लेनिनले कृषिको विकासका लागि सामूहिक सिद्धान्तलाई क्रमशः कृषिमा समावेश गरी पहिले बिक्रीमा र त्यसपछि कृषि उपज बढाउने उद्देश्य हासिल गर्न आवश्यक रहेको प्रस्ताव गरेका थिए । डिसेम्बर १९२२ मा सोभियतहरूको पहिलो अखिल-संघीय कांग्रेस आयोजित गरिएको थियो । लेनिन र स्टालिनको प्रस्तावमा सोभियत राष्ट्रहरूको एक स्वैच्छिक राज्य संघ गठन भयो, जसलाई सोभियत समाजवादी गणराज्यहरूको संघ (USSR) भनेर चिनिन्छ । मूलतः सोभियत संघ रूसी सोभियत संघीय समाजवादी गणतन्त्र र तीन अन्य गणतन्त्रहरू, ट्रान्सकाकेशियन, युक्रेन र बेलारूस मिलेर बनेको थियो । त्यसको केही समयपछि मध्य एसियामा तीन स्वतन्त्र युनियन सोभियत गणतन्त्र – उज्वेकिस्तान, तुर्कमेनिस्तान र ताजिकिस्तानको स्थापना भयो । यी सबै गणतन्त्रहरू १९२२ मा एकताबद्ध सोभियत राज्यहरूको एकल संघ – U.S.S.R. – स्वैच्छिक र समान आधारमा सोभियत संघबाट स्वतन्त्र रूपमा अलग हुने अधिकार तिनीहरूमध्ये प्रत्येकको लागि आरक्षित थियो । यसले सोभियत शक्तिको सुदृढीकरणलाई चित्रित गर्र्यो । यो राष्ट्रिय प्रश्नमा बोल्सेभिक पार्टीको वैचारिक नीतिको लागि ठूलो जीत थियो । सन् १९२३ को अन्त सम्म सबै क्षेत्रमा आर्थिक प्रगति देख्न सकिन्छ । १९२१ देखि त्यहाँ कृषि बालीहरू उब्जाउने क्षेत्रमा ठूलो वृद्धि भएको थियो र कृषिमा लगातार सुधार भइरहेको थियो । समाजवादी उद्योगको विकास र विस्तार हुँदै गयो । श्रमिक वर्गको संख्यामा ठूलो वृद्धि भएको थियो । तलब बढेको थियो । सन् १९२० र १९२१ को तुलनामा मजदूर र किसानको जीवन सहज र राम्रो भएको थियो । यद्यपि उद्योग अझै पूर्ण रूपमा युद्धपूर्वको स्तरमा फर्किन सकेको थिएन र अझै देशका १० लाख मानिस बेरोजगार भएका थिए ।
साम्राज्यवादीहरूले लेनिन गम्भीर बिरामी भएको तथ्यको फाइदा उठाउँदै आफ्ना दलालहरूलाई पार्टी लाइन विरुद्ध आक्रमण गर्न सक्रिय बनाए । जनवरी १९२४ मा सोभियत पार्टीको तेह्रौं महाधिवेशन भयो । शहर र गाउँबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यका साथ तेह्रौँ महाधिवेशनले फलाम तथा स्टिल उद्योगको द्रूत विकासको आवश्यकतामा विशेष जोड दिँदै मुख्यतया साना उद्योगलाई थप विस्तार गर्न निर्देशन दिएको थियो । यसले बजारको नियन्त्रण प्राप्त गर्न र व्यापारको क्षेत्रबाट निजी पूँजीलाई पूर्णतया बहिष्कार गर्ने कार्य र जिम्मेवारी व्यापारिक निकायहरूलाई दिएको थियो । यसले किसानलाई सस्तो राज्य ऋण बढाउन निर्देशन दिएको थियो ताकि साहूकारहरूलाई ग्रामीण इलाकाबाट हटाउन सकियोस् । यसले ग्रामीण क्षेत्रका कृषकहरूमा सहकारी आन्दोलनको अधिकतम विकास गर्न सर्वोपरी कार्यका रूपमा आह्वान गरेको थियो । तेह्रौँ कांग्रेसले लेनिन मनोनयनको महत्त्वलाई जोड दियो र पार्टीका युवा सदस्यहरू र लेनिन मनोनयनका सबै नयाँ सदस्यहरूलाई लेनिनवादका सिद्धान्तहरूमा शिक्षित गर्न अझ बढी प्रयास गर्नुपर्ने आवश्यकतातर्फ पार्टीको ध्यानाकर्षण गरायो । यद्यपि, त्यही वर्षको जनवरी २१ मा एउटा विपत्तिले पार्टीको नीतिलाई धुमिल बनाइदियो । लेनिनको मृत्यु मस्को नजिकैको गोर्की गाउँमा भएको थियो । सन् १९१८ मा उनीमाथि दुईवटा आत्मघाती हमला भएको थियो । त्यसैको कारणले उनको ५४ वर्षको उमेरमा नै मृत्यु भएको थियो । इतिहासका अभूतपूर्व क्रान्तिकारी नेता लेनिनको मृत्यु २१ जनवरी १९२४ मा भएको थियो ।
https://narayangiri.wordpress.com/2024/01/21/lenin-ra-unka-karyaharu बाट साभार
सन्दर्भ स्रोतहरू
- भौतिकवाद और अनुभसिद्ध आलोचना -लेनिन, नेपाली संस्करण, अनुवाद – रमेश सुनुवार र नारायण गिरी, सृजना पब्लिकेसन
- मार्क्सवादी-लेनिनवादी दर्शनशास्त्र प्रशिक्षण विधि, नेपाली संस्करण, प्रगति प्रकाशन मास्को
- लेनिन – मार्क्स एंगेल्स, प्रगति प्रकाशन मास्को
- वामपंथी साम्यवाद एक वालरोग – लेनिन, नेपाली संस्करण, प्रगति प्रकाशन मस्को
- मार्क्सवादी लेनिनवादी दशर्नशास्त्र – नारायणप्रसाद शर्मा,नेपाली भाषा एवं व्याकरण संरक्षण प्रतिष्ठान
- लेनिन एक अध्ययन – प्रदीप गिरि, दिशाबोध प्रकाशन
- साहित्य और कला – लेनिन, हिन्दी संस्करण, पिपुल पब्लिसिंङ हाउस
- राज्य र क्रान्ति – लेनिन, नेपाली संस्करण, प्रगति प्रकाशन मास्को
- पेरिस कम्युन – लेनिन, प्रगति प्रकाशन मस्को
- लेनिन – मार्क्स–एंगेल्स– मार्क्सवाद – प्रगति प्रकाशन मास्को
- धर्म के बारे मे – लेनिन, हिन्दी संस्करण, राहुल फाउण्डेसन
- लेनिन की जीवनी – राहुल सांकृत्यायन, लेनिन, हिन्दी संस्करण, राहुल फाउण्डेसन
- धर्म बारे – मार्क्स, एंगेल्स, लेनिन, हिन्दी संस्करण, प्रगति प्रकाशन मास्को
- लेनिन कथा, प्रगति प्रकाशन मास्को
- राज्यबारे – लेनिन, अनुवादक कृष्ण प्रकाश श्रेष्ठ, जनस्रष्टा प्रकाशन
- मार्क्सवाद र विद्रोह – लेनिन, प्रगति प्रकाशन मास्को
- गाउँका गरीबहरूलाई – लेनिन, विविध पुस्तक भण्डार
- अक्टुवर क्रान्ति और लेनिन – हिन्दी, एल्बर्ट रीस विलियम्स, राहुल फाउण्डेसन
- लेनिन संकलित रचनाहरू, नेपाली संस्करण, अनुवादक राजेन्द्र मास्के, भाग १–८, प्रगति प्रकाशसन मास्को
- मार्क्सवादी लेनिनवादी दर्शनशास्त्र– भिक्टर आफानाशेयभ, प्रगति प्रकाशन मास्को
- टेड यूनियन लेनिन – अनु रमेश सुनुवार र नारायण गिरी, अखिल नेपाल यातायात मजदूर संघ
- माक्सवाद लेनिनवाद माओवाद – केशवराज देवकोटा
- लेनिन संकलित रचनाएँ, हिन्दी, १० खण्डोंमे (खण्ड १ – १०), प्रगति प्रकाशन मास्को
- मार्क्सवादी–लेनिनवादी सिद्धान्त के मूल तत्त्व, हिन्दी संस्करण, प्रगति प्रकाशन मास्को
- लेनिन जीवनवृत्त, हिन्दी, प्रगति प्रकाशन मास्को
- लेनिन – अन्तर्राष्ट्रिय कम्युनिष्ट और मजदूर आन्दोलन, हिन्दी प्रगति प्रकाशन मस्को
- लेनिन संकलित रचनाएँ, हिन्दी चार खण्डों मे, खण्ड १–४, प्रगति प्रकाशन मास्को
- क्रान्तिका साधनहरू – नेपाली, अनुवाद – रमेश सुनुवार
- अराजकतावाद और अराजकतावादी संघाधिपत्यवाद, हिन्दी – हिन्दी, मार्क्स–एंगेल्स–लेनिन, प्रगति प्रकाशन, मास्को
- सर्वहारा अधिनायकत्व – हिन्दी, मार्क्स–एंगेल्स–लेनिन, प्रगति प्रकाशन, मास्को
- What_Is_to_Be_Done___Burning_Questions_of_Our_Movement
- lenin_Two tactics of Social-Democracy in the Democratic Revolution
- lenin_capitalism_and_agriculture
- A caricature of Marxism & Imperialist Economism
- Capital in Agriculture – Lenin
- Krupskaya_Reminiscences_of_Lenin
- Lenin – On the Dictatorship of the Proletariat
- Lenin_2nd_All_Russia_Congress_of_Workers_&_Soldiers_Deputies
- lenin_1902_what_is_to_be_done
- lenin_1905_socialism_and_religion
- lenin_1917_nov-dec_report_on_peace
- lenin_1917_state_and_revolution
- lenin_1919_the_land_revolution_in_russia
- lenin_1920_left_wing_communism-an_infantile_disorder
- lenin_1930_the_teachings_of_karl_marx
- Lenin_Imperialism_the_Highest_Stage_of_Capitalism
- Lenin_Last_Testament
- lenin_materialism-and-empirio-criticism
- lenin_on_literature_and_art
- lenin_on_organization
- lenin_on_state_capitalism_during_the_transition_to_socialism
- lenin_on_the_struggle_against_revisionism
- Lenin_The_Military_Programme_of_the_Proletarian_Government
- Lenin_The_Tasks_of_the_Proletariat_in_our_Revolution
- Lenin_Two_Tactics_of_Social_Democracy
- Lenin_War_&_Revolution
- On Youth,Lenin
- Philosophical Notebook of Lenin
- Vladimir Lenin,April Thesis
- Vladimir Lenin,One stape forward Two stape Back
- Between the two revolution – Lenin
- The_Proletarian_Revolution_And_The_Renegade_Kautsky
- Lenin – Party Organization and Party Literature
- Lenin Sellected Works, Vulume 1-3, Progress Publishers, moscow
- Lenin – Socialist Economic Organization, Progress Publishers
- Lenin – What the “Friends of People” are and how they fight social-democrats, progress publishers
- Lenin – Party work in the masses, Rahul foundation
- Lenin_and_Revolutionary_Russia__Questions_and_Analysis_in_History_
- Lenin_in_action__The_early_days_of_soviet_power