newskoseli.Com

रोपाइँका बेला डीएपी मलको अभाव

मुख्य खाद्यबाली धानको रोपाइँमा व्यस्त रहेका बेला डीएपी रासायनिक मलको अभाव भएपछि कैलालीका किसान चिन्तित भएका छन् । खेतमा धान रोपेलगत्तै प्रयोग गर्नुपर्ने डीएपी मलको अभाव भएपछि समस्या परेको गुनासो स्थानीय कृषक हरि चौधरीले सुनाए ।

रोपाइँ भएकै दिन प्रयोग गर्नुपर्ने डीएपी मल नपाउँदा रोपेका बोट नफस्टाई उत्पादन घट्ने चिन्ता लागेको चौधरीले बताए । सरकारको अनुदानित मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीमा डीएपी मलको मौज्दात सकिएपछि किसानले मलको अभाव झेल्नुपरेको हो ।

खेतीको समयमा यस अघिका वर्षमा पनि मलको अभाव झेल्दै आएका किसानले यस वर्ष पनि अभाव झेल्नुपरेको हो । कैलाली जिल्लामा झन्डै ७१ हजार २ सय ५० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुँदै आएको छ ।

सरकारले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत अनुदानको रासायनिक मल कृषकलाई बिक्रीवितरण गर्दै आएकोमा दुई वर्षदेखि अनुदानको मलको बिक्रीवितरणको जिम्मा साल्ट ट्रेडिङ कर्पोरेसनलाई समेत दिइएको छ ।

यद्यपि यस वर्ष जिल्लाका कतिपय सहकारी संस्थाले बिक्री गर्नुपर्ने अनुदानित मल लुकाएर राखेको वा महँगो मूल्यमा बिक्री गरिरहेको आरोप लागेको छ । सहकारी संस्थाले अनुदानित मल पारदर्शी ढङ्गले आफ्नो क्षेत्रभित्रका कृषकलाई उचित मूल्यमा बिक्री गरे गरे–नगरेकोबारे अनुगमन हुन सकेको छैन ।

साल्ट ट्रेडिङ कर्पोरेसन लि। धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे कतिपय सहकारीले मल लुकाएर राखेका कारण अहिले डीएपी मलको अभाव सिर्जना भएको हुन सक्ने बताउँछन् ।

अनुदानित मल बिक्री गर्दै आएको सञ्जीवनी बचत सहकारी संस्था धनगढीका भोजराज जोशीले भने सहकारीले मल लुकाएको वा कालोबजारी गरेको भन्नेबारेमा आफूलाई थाहा नभएको बताए ।

साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पाण्डेले गत १२ महिनामा अनुदानित ५० किलो तौलको युरिया १ लाख ३ हजार ७ सय ४४ बोरा, डीएपी ३५ हजार २७ बोरा र पोटास १ हजार ९ सय ९२ बोरा सहकारी संस्थालाई बिक्री गरिएको जानकारी दिए । कार्यालयको गोदाममा अहिले १५ हजार बोरा युरिया र ६ सय ३ बोरा पोटास मौज्दात छ ।

यस्तै कृषि सामग्री कम्पनी लि। धनगढीले १२ महिनामा युरिया ३ हजार २ सय ९२ मेट्रिक टन, डीएपी १ हजार ८ सय ३० मेट्रिक टन र पोटास १ सय ७ मेट्रिक टन बिक्री गरेको छ । कृषि सामग्रीमा अहिले युरिया २ हजार ४ सय ६० मेट्रक टन र पोटास १ सय ३ मेट्रिक टन मौज्दात छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर