newskoseli.Com

युरोकपको फाइनलमा फ्रान्स, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति मार्सेमा भएको सेमिफाइनलमा घरेलु टोली फ्रान्सले विश्वविजेता जर्मनीलाई २–० ले हरायो । खेलमा फ्रान्सलाई विजयी गराउन दुबै गोल एन्टोनियो ग्रेजम्यानले गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा बदल्दै ग्रेजम्यानले टोलीलाई अग्रता दिए । दोस्रो हाफको ७२ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरे ।

यो हारले विश्वविजेता जर्मनीलाई भने धक्का लागेको छ । दुई वर्ष अघि ब्राजिलमा विश्वकप फुटबल आयोजना हुँदा सेमिफाईनलमा आयोजक टोलीलाई स्तब्ध पारेको जर्मनीले यसपटक त्यो लय दोहोर्‍याउन सकेन । उता फ्रान्सले भने सन् १९५८ पछि कुनै पनि मुख्य फुटबल प्रतियोगितामा पहिलो पटक जर्मनीलाई पराजित गरेको छ ।

गएरातिको खेलमा दुई गोल गरेका फ्रान्सका ग्रेजम्यान जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा छन् । ग्रेजम्यानले ६ गोल गरेका छन् ।

यसैगरी फ्रान्स युरोकप फुटबलको आयोजकको हैसियतमा दुई पटक फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । यसअघि सन् १९८४ को युरोकप फुटबल आयोजना गरेको फ्रान्स त्यतिबेला पनि फाइनलमा पुगेको थियो ।

उता जर्मनी भने कुनै पनि मुख्य फुटबल प्रतियोगिताको पछिल्ला ६ सेमिफाइनलमध्ये चार वटामा पराजित भएको छ । पछिल्लो पटक लगातार दुईवटा युरोकप फुटबलको सेमिफाईनलमा हारेको जर्मनी त्यसअघि सन् २००६ र २०१० को विश्वकप फुटबलका पनि सेमिफाइनलमै पराजित भएको थियो ।

गएरातिको जितसँगै आयोजक फ्रान्सले पोर्चुगल विरुद्धको उपाधि भिडन्त तय गरेको छ । फाइनल खेल आइतबार राति पेरिसमा हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर