newskoseli.Com

विभिन्न कलाकारका चित्रकला ‘कलायान’ मा

 विभिन्न कलाकारका उत्कृष्ट चित्रकला सर्वनाम आर्ट ग्यालरीले सुरु गरेको ‘कलायान’ शृङ्खलामा देख्न सकिन्छ ।

यही जेठ ११ गतेदेखि सुरु भएको उक्त शृङ्खलामा वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, एरिना ताम्राकार र प्रमिला बज्राचार्यका २१ वटा कलाकृति प्रदर्शनीमा छन् । ती चित्रकलाको मूल्य रु १० हजारदेखि रु ९० हजारसम्म रहेको छ ।

मूर्तिकार, कलाकार, कवि र समाजसेवीको रुपमा स्थापित कलाकार नरेन्द्रका पाँच चित्रकलामा प्रकृति भेटिन्छ । काष्ठकलामा पोख्त श्रेष्ठ रुखका जराभित्र सजीव मूर्ति खोजछन् । प्रदर्शनीमा रहेका उनका कलामा समेत काठको प्रयोग भएको देखिन्छ ।

नारी संवेदनालाई चित्रकलामा व्यक्त गर्नमा चर्चित कलाकार एरिनाका सात चित्रकलाले नारीका भावनालाई समेटेका छन् । उनका कलामा कोमलता, मधुरता, सौन्दर्य र लालित्यपूर्ण मिश्रण पाइन्छ । प्रदर्शनीमा रहेका चित्रकलामा नारीका साथै खाना पकाउने ग्यास सिलिन्डरलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएका छन् ।

नाकाबन्दी र त्यसले नेपाली चुलोमा पारेको प्रभावलाई उहाँका चित्रमा देख्न सकिन्छ । कलामा स्नातकोत्तर एरिना कवि पनि हुन् ।

अरुपण अर्थात् रुपविहीन सुन्दर चित्र बनाएर चर्चित रहेका कलाकार रमेशको आफ्नो छुट्टै पहिचान छ । कला सिर्जनाका साथै साहित्य लेखनमा समेत उनको राम्रो दखल देखिन्छ । अरुपण ग्यालरीका संस्थापक समेत रहेका रमेशले अहिलेसम्म दर्जनौँ एकल कला प्रदर्शनी गरिसकेका छन् । उक्त प्रदर्शनीमा उनका चार चित्र राखिएका छन् ।

मानवीय संवेदनालाई गहनरुपमा क्यान्भासमा अभिव्यक्त गर्न सक्ने कलाकारका रुपमा प्रमिलालाई लिन सकिन्छ । सामाजिक विषयलाई दुरुस्तरुपमा क्यान्भासमा उतार्ने उहाँका प्रदर्शनीमा राखिएका पाँच चित्रमा महिलाको रुप, महिलाको बन्धनलगायतका विषयलाई उठान गरिएको छ ।

सर्वनाम थियटरले नेपाली कलाका सर्जक र सिर्जनालाई लोकप्रिय बनाउनका साथै अन्तर्राष्ट्रियस्तरमा पनि पु¥याउने उद्देश्यले कलायान अभियानको सुरुवात गरेको थियटरका प्रमुख अशेष मल्लले बताउनुभयो । आर्ट ग्यालरीले प्रत्येक दुई महिनामा विभिन्न कलाकारको कला अभिव्यक्तिका लागि अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गर्नेछ ।

पहिलो कलायान शृङ्खलाअन्तर्गत उक्त चित्रकला प्रदर्शनी साउनको अन्तिमसम्म चल्ने आयोजकले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर