newskoseli.Com

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणले गति लिने

गोरखा, १९ वैशाख । १  हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा गोरखामा क्रियाशील विभिन्न राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् ।

दिनहुँ विद्युत्भार कटौती बढिरहेको भन्दै उनीहरुले द्रुतगतिमा आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुले गोरखा र धादिङको सीमामा बूढीगण्डकीमा बाँध बाँधेर विद्युउत्पादन गर्दा समग्र देशको आर्थिक विकासमा कायापलट हुने विश्वास व्यक्त गरे ।

बूढीगण्डकी आयोजना निर्माणमा सघाउनका लागि नेपाली काँग्रेस गोरखाले आज आयोजना गरेको अन्तक्र्रियामा बोल्दै बूढीगण्डकी विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आयोजना निर्माणको कामलाई तीव्रता दिइने बताए । आयोजनाको काम समितिले गर्ने कि कम्पनी मोडलअनुसार गर्ने भन्ने टुङ्गो सरकारले लगाइसकेको छैन ।

नेपाली काँग्रेस सरकारमा नरहे पनि आयोजना निर्माणमा सक्दो सघाउने प्रतिबद्धता जिल्ला सभापति हरिबहादुर घलेले गरेका छन् । प्रभावित क्षेत्रका स्थानीय जनतालाई मुआब्जा दिएर वैकल्पिक, सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउँदै घलेले भूकम्पपछिको पुनःनिर्माण अभियानकै क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई पनि अन्यत्र सार्न सरकारलाई सुझाव दिए ।

कार्यक्रममा जिल्लामा क्रियाशील नेकपा (एमाले), राप्रपा नेपाल, राप्रपा, नेपाल परिवार दललगायत दलका प्रमुख एवम् प्रतिनिधि उपस्थित भएका थिए । उनीहरुले बढ्दो विद्युत्भार कटौती रोक्न पनि छिट्टै आयोजना बनाउनुको विकल्प नभएको धारणा राखे ।

साथै, भूकम्पले भत्काएका आयोजना निर्माणस्थलमा रहेका विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनलगायत संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्ने राजनीतिक दलका प्रतिनिधिले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर