newskoseli.Com

प्रिमियर लिगको उपाधि लेस्टर सिटीलाई

इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको टोटनह्याम हट्सपरलाई चेल्सीले २–२ गोलको बराबरीमा रोकिदिएपछि लेष्टरले दुई खेल खेल्न बाँकी छँदै उपाधि जितेको हो ।

उपाधि दावेदारीमा जिवित रहन टोटनह्यामलाई गएरातिको खेल जित्नैपर्ने थियो । पहिलो हाफमै ह्यारी केन र सनले एक–एक गोल गरेपछि टोटनह्याम जित नजिक पुगेको थियो । तर दोस्रो हाफमा चेल्सीका ग्यारी केहील र एडिन हाजार्डले एक–एक गोल फर्काउदै खेल बराबरीसम्म ल्याए ।

प्रतिश्पर्धात्मक खेलमा यसपछि कुनै टोलीले गोल थप्न नसक्दा टोटनह्यामको उपाधि सपना चकनाचुर मात्रै भएन, बेलायती फुटबलको इतिहासमै अहिलेसम्मको अपत्यारिलो उपलब्धी हात लाग्यो ।

टोटनह्यामको बराबरीसँगै लेष्टर सिटीले ईतिहासमै पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो । यो सिजनको सुरुमा प्रिमियर डिभिजनबाट रेलिगेशन हुने संभावित क्लवहरुको सुचीमा रहेको लेष्टर सिटीले सिजनभर उत्कृष्य लय जारी राख्यो ।

लिग जित्नेक्रममा लेष्टरले यो सिजनमा तीन खेलमात्रै हारेको छ । स्ट्राईकर जेमी भार्डी र मिडफिल्डर रियाद माहारेजको उत्कृष्ट तालमेलसँगै अन्य खेलाडीहरु डिफेन्डर एवं क्याप्टेन वेस मोर्गान र मिडफिल्डर एन्गोलो कान्तेले लेष्टरलाई लिग जिताउन महत्वपुर्ण भूमिका खेले । सँगसँगै ईटालियन प्रशिक्षक क्लाउडियो र्‍यानेरीको रणनीतिक मास्टरमाईन्ड पनि लेष्टर सिटीको लागि सम्झनलायक रह्यो ।

थोरै लगानी र अपरिचीत खेलाडीहरुको टोली भनेर चिनिने लेष्टर सिटीको सफलतालाई विश्व फुटबलका महान हस्तीहरुले तारिफ गरेका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले लेष्टर सिटीलाई बधाई दिएका छन् ।

फुटबल पण्डितहरुका अनुसार लेष्टर सिटीले उपाधि जितेसँगै पुरस्कार रकम र अन्य विभिन्न बोनसहरुमार्फत झण्डै १ सय ५० मिलियन पाउण्ड स्टर्लीङ हात पार्नेछ । लेष्टर सिटीको यो जितले ७० को दशकमा त्यतिबेला कमजोर मानिएको अर्को क्लव नटीङ्घम फरेष्टले इंग्लिश र युरोपियन फुटबलमा हात पारेको अभुतपूर्व सफलतालाई सम्झाईदिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर