newskoseli.Com

बुबाको मुख हेर्ने र कुश भित्र्याउने दिन : तीर्थस्थलहरूमा भक्तजनको घुइँचो

हिन्दू धर्मावलम्बीले पूजाआजाका लागि वर्षदिनसम्म चाहिने कुश घरघरमा भित्र्याएका छन् ।

प्रत्येक वर्ष कुशेऔंसीका दिन पूजा गरी भित्र्याइने कुश वर्ष दिनसम्म गरिने शुभकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपका स्वीकारिएको छ ।

श्रीस्वस्थानीको कथाअनुसार भगवान् विष्णुले पतिब्रता बृन्दालाई छल गरी अस्तित्व लुटेपछि बृन्दाले विष्णुलाई ४ किसिमका श्राप दिएकी थिइन् । त्यसमध्ये घाँस हुनुपर्ने श्राप पूरा गर्नका लागि विष्णुले कुशको रुप धारण गएको धार्मिक जनविश्वास छ । पुरोहितले आ–आफ्ना यजमानका घरमा कुश ल्याइदिने र त्यसलाई पूजा गरी पूजा कोठामा राखिने परम्परा छ । यसरी कुश घरभित्र ल्याउँदा शुभ हुने मान्यता राखिएको छ ।

संस्कृतिविद् डा. विष्णु दाहालका अनुसार मानिस जन्मँदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजासामग्रीका रुपमा लिइएको छ । कुशविना गरिने पूजालगायत कार्य पूर्ण मानिँदैन ।

विभिन्न तीर्थस्थलहरूमा भक्तजनको घुइँचो

कुशैऔंसी अर्थात् पितृऔंसीको यस दिन राजधानीको गोकर्णमा भक्तजनहरुको सबैभन्दा ठूलो भीड लाग्ने गरेको छ । त्यसैगरी पशुपतिनाथ, देवघाटलगायत देशैभरका प्रशिद्ध तीर्थस्थलहरुमा पितृकार्य र पूजाआजा गर्ने गरिन्छ । घर–घरमै बाबुसँग भेटघाट गरी मिठोमसिनो खुवाएर आदर–श्रद्धा प्रकट गरिन्छ ।

यसैबीच, महोत्तरीको गौशालाबाट प्राप्त समाचार अनुसार कुशेऔंसी अर्थात् बुबाको मुख हेर्ने दिनमा बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाउँ विकास समितिमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

बुबाआमालाई आफ्ना सर्वश्व मान्ने र आमाबुबाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन् । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडा–९ मा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवम् धार्मिक महत्त्व बोकेकाले यहाँ हजारौं महिला–पुरुष दर्शनका लागि आएको स्थानीयवासी शङ्कर यादवले बताए ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किंवदन्ती रहेको छ । विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढाटाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकामा अहिले यहाँ कहिलेकाहीँ विशेष दिन जस्तै बाबुको मुख हेर्ने वा माताको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेको कुरा स्थान नजिकै बस्ने रामकृष्ण यादवले बताए ।

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेको स्थानीयवासी शिव यादवले बताए । बुबा, आमा नभएकाले यस स्थानमा आफ्ना आमाबुबाको सम्झना गर्दै आमा तथा बाबुको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना आमाबुबाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध वृजलाल यादवले बताए ।

रामायणकालमा मातापिताका अनन्य भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबुआमालाई महोत्तरीको बगडा– ९ स्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुर– ४ स्थित कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाण लागी मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएको बेला आफ्ना छोरा मरेको सुनेर अन्धाअन्धी पनि यसै ठाउँमा प्राण त्याग गरेको किंवदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवम् चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो ।

तर, सम्बन्धित निकायको उदासीनताका कारण यस स्थानको संरक्षण संवद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको छ । स्थानीयवासीले धार्मिक एवम् ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, संवद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न माग गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर