newskoseli.Com

पहिलो च्याटमै यौनप्रस्ताव : दोषी फेसबुक कि प्रयोगकर्ता ?

भारतको कर्नाटक प्रदेशका कतिपय युवायुवतीलाई फेसबुक भनेको के हो भन्ने समेत थाहा छैन । उनीहरुका लागि ह्वाट्स एप नै सबैभन्दा महत्त्वपूर्ण छ । यो उदाहरणबाट फेसबुकको लोकप्रियता छैन वा घटिरहेको छ भन्ने पुष्टि हुँदैन, बरु वातावरण र परिवेशानुसार फेसबुकका प्रयोगकर्ताहरु बढी वा घटी हुन्छन् भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ ।

देश र परिवेशानुसार नै सामाजिक सञ्जालहरूका प्रयोगकर्तामा विकृति र विसङ्गति कति धेरै छ भन्ने कुराको तथ्याङ्क मार्क जुकरवर्गसँग छैन होला नै । यसै क्रममा जोडिहालौं नेपाली फेसबुक युजरहरुको सन्दर्भ ।

सन् २००८ देखि पङ्क्तिकारले पनि फेसबुकको रङ्गमञ्चमा प्रवेश गर्‍यो । फेसबुकसँगको करिव ९ वर्षे संसर्गले धेरै साथीभाइ  तथा नातेदारहरुसँगको समबन्धलाई झन् गाढा मात्र बनाएन, दैनिक ज्ञानको आयामलाई समेत निकै फराकिलो बनाइदियो ।  यद्यपि पंक्तिकार त्यत्तिकै मात्रामा यसका विकृति र विसङ्गतिको साक्षी पनि बनिरहेको छ ।

facebook-chatचाहे राजनीतिक क्षेत्रमा होस्, चाहे कलाकारिताको ग्ल्यामरस दुनियाँ नै किन नहोस, चाहे सहर–गाउँका कुनाकन्दरामा होस– फेसबुकमार्फत फरक–फरक खालका विकृतिले नेपाली संस्कृतिमाथि बारम्बार धावा बोलिरहेको छ । यति मात्रै कहाँ हो र, सामाजिक सञ्जालकै कारण कसैको व्यक्तिगत जीवनमाथि नै बज्रपात गर्नेखालका घटनाक्रम भएका खबर समेत बेलाबखत चर्चामा आइरहन्छन् ।

भर्खरै भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उनकी पत्नी सीता दाहालका केही अनावश्यक फोटाहरुले गलत क्याप्सनका साथ फेसबुकका भित्ताहरुमा निकै स्थान पाए । उनीमाथि वर्षाइएका शब्दहरु गलत त थिए नै, त्यसमाथि झन् निरर्थक कतपय शब्द र वाक्यांशहरु सीता दाहालको निजी जीवन र नारी अस्मितामाथि नै प्रश्न सोझ्याउने खालका थिए ।

दाहालमाथि मात्र होइन, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत नेपाली फेसबुक युजरहरुले नाङ्गो हमला गरेका थिए । उनको प्रधानमन्त्रीय कार्यकालमा कयौं फेसबुक युजरहरुले त ओलीकै नाममा नक्कली फेसबुक आईडीहरू नै बनाएर समेत बदनाम गर्न खोजेका थिए । तिनका कारण नेपाल–भारतबीचको सम्बन्धमा नै खलल पुग्ने खालका अभद्र स्ट्याटसहरु पोष्ट हुन थालेपछि स्वयम् ओलीले नै प्रष्टीकरण दिनुपरेको थियो ।

आफ्नो नाममा नक्कली फेसबुक खोलेर दुई देशबीच सदियौंदेखि कायम रहेको सम्बन्धमा खलल पार्ने गम्भीर षड्यन्त्र भैरहेको भन्दै उनले आपत्ति समेत जनाएका थिए  । भारतीय राजदूत रन्जित रेले राजनीतिक नेतृत्वसँगको भेटपछि ओलीसँग सामान्य कूटनीतिक मर्यादा समेत नराखी भारतको विषयमा किन स्ट्याटस पोष्ट गरेको भनी प्रश्न नै उठाएका थिए ।

यसरी सार्वजनिक महत्वका व्यक्तिहरुमाथि गरिएको नाङ्गो फेसबुक–हमलाले फेसबुक युजरहरुको अभिष्ट कहिल्यै पूरा हुन सक्दैन । सार्वजनिक व्यक्तित्वमाथि मात्र होइन, जोकोही समान्य व्यक्तिमाथि समेत गरिएका अभद्र व्यवहार र शब्दहरूको तथा फेसबुकले उपलव्ध गराएका सुविधाहरूको दुरुपयोगले बरु आपराधिक क्रियाकलापलाई बढावा दिइरहेको छ ।

नक्कली आईडी बनाएर एकले अर्कोलाई ब्ल्याकमेल गर्ने,अभद्र स्ट्याटस लेखी कसैको निजी जीवनमाथि हस्तक्षेप गर्ने, गलत मेसेज पठाई मनोरञ्जन लिएको ठान्ने, आदिजस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका गलत क्रियाकलापलाई निरुत्साहित गर्दै क्रमशः निर्मूल बनाउन कदम चाल्ने कि तिनको मनोबल उच्च बनाउन स्वतन्त्रै छाडिरहने ? सम्बद्ध निकायसामु गम्भीर प्रश्नचिह्न खडा हुँदै भएको छ ।

करिब ९ वर्षको फेसबुकसँगको यात्रामा पङ्क्तिकारका २ हजार ५ सय साथी बनिसकेका छन् । केही विदेशी साथीबाहेक अधिकांश नेपाली साथीहरु नै छन् । यसभित्र पनि सबै क्षेत्र र तह–तप्काका छन् । कति पत्रकार साथीहरु छन्, कति व्यापारीहरु छन्, कति शिक्षकहरु छन्, कति नातेदार छन्, कति स्कुले साथी छन्, कति कलेजका साथीहरु छन्, कति भाइ छन्, कति बहिनी छन्, कति चिनेका छन् त कति नचिनेका पनि छन् ।

chating-facebook2जोसँग मित्रता भए पनि नियत गलत हुनु हुँदैन । सबैले ख्याल गर्नैपर्छ– आफ्नो प्रतिष्ठाको मूल्य जति छ, अरू कसैको पनि त्योभन्दा कम हुँदैन । फेसबुकमा आफूले लेखेका स्ट्याटसले कस्तो अर्थ र महत्व राख्दछन् भन्ने कुरामा पोस्ट गर्नुअघि हेक्का राख्नु अनिवार्य छ । फेसबुक वा अरू कुनै सामाजिक सञ्जाल हजारौं मान्छेहरुले हेर्छन् र यहाँ पोस्ट गरिएका सामग्री दीर्घकालसम्म रेकर्डमा समेत रहन्छन् भन्ने कुरा भुल्नु हुँदैन ।

पङ्क्तिकारको पनि मेसेन्जरबाट धेरै साथीहरुसँग दिनदिनै च्याट हुन्छ । तर, केही महिनाअगाडि एउटी साथीले फरक मेसेज पठाइन् । उनले एकैचोटि यौनसंसर्गको प्रस्ताव राखिन् । ‘दाइ, मलाई त तपाईंसँग सेक्स गर्न कस्तो मन लागेको छ, कहाँ भेट्ने ?’ उनको प्रश्न थियो ।

म अच्चम्मित भएँ । त्यसअघि उनीसँग मेरो च्याट पनि भएको थिएन । कौतहुल लागेर आयो । हतारहतार उनको प्रोफाइल खोलेर हेरें । उनको प्रोफाइलमा मात्र उनको वास्तविक लाग्ने फोटो थियो, अरु सबै नाङ्गा तस्बिर । तर, ती उनका थिएनन् ।

त्यसपछि मलाई शंका लाग्यो– पक्कै पनि अरू नै कसैले उनको नाममा नक्कली आईडी बनाएको हुनुपर्छ । चिनेकी साथी भएकाले उनका एक साथीलाई फोन गरें । उनले केही थाहा नभएको बताएपछि उनैलाई फोन गर्ने सोचें । नम्बर पत्ता लगाएर फोन गरें । त्यसपछि थाहा भयो सबै बेलीबिस्तार । एक जना मेरै साथीको भाइले उनलाइ मन पराउँदो रहेछ । प्रेम प्रस्ताव राख्दा उनले स्वीकारेकी रहिनछन् । उसैले त्यसो गरेको हुन सक्छ भन्ने तिनको अड्कल थियो । पछि बुझ्दा त्यो बदमासी त्यही भाइको रहेछ । उनी पक्राउ परे र अबदेखि कहिल्यै त्यसो नगर्ने शर्तसहित पीडित पक्षको सहमतिमा उसलाइ छाडियो ।

प्रस्तुत उदाहरण त एउटा प्रतिनिधि घटना मात्रै हो, यसखाले अनगिन्ती घटनाहरुले मेरो फेसबुककी ती नक्कली साथीजस्ता धेरै महिला मात्र नभई पुरुषहरू समेत प्रताडित बनिरहेका छन् ।

क्रमशः…

फेसबुक बरदान कि अभिशाप ? कयौं कीर्ति, कयौं विकृति

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर