newskoseli.Com

फेसबुक बरदान कि अभिशाप ? कयौं कीर्ति, कयौं विकृति

त्यसो त नेपाली फेसबुक प्रयोगकर्ताबाटै भएका धेरै प्रशंसनीय काम पनि छन् । कसैमाथि सेवा पुर्याउने काम समेत फेसबुकबाट नै भैरहेका छन् ।

यस्तै एक उदाहरण हो– फेसबुकबाट भएको दोलाखा झुलेका प्रहरी जवान सुन्दर कार्कीको जीवन बचाउ अभियान । प्रहरी जवान सुन्दर कार्कीको मिर्गौला (किड्नी) ले काम गर्न छाडेपछि प्रत्यारोपणका लागि दोलाखा झुलेकै केही फेसबुक प्रयोगकर्ता तथा कार्कीका आफन्तहरुले सुन्दरकै फेसबुकबाट ३ महिना अगाडिदेखि सुन्दर कार्की बचाउ अभियान चलाएका थिए । आर्थिक स्तिथि निकै कमजोर भएका कारण सुन्दरसँग अप्रेसन गर्ने पैसा नहुँदा उनले जीवन नै गुमाउनुपर्ने अवस्था सिर्जना भएको थियो । फेसबुकबाट चलाइएको अभियानबाटै अपरेसन गर्ने पैसा जुटेपछि सुन्दरको अपरेसन सफल भैसकेको छ । यसरी फेसबुक अभियानबाटै नयाँ जीवन पाउने सुन्दर मात्र एक्ला पात्र होइनन्, उनीजस्ता धेरैको उद्धार भएको छ ।

फेसबुकबाटै कयौंले लोकप्रिय बनी ख्याति समेत कमाएका छन् । यसरी उच्च ख्याति कमाएका कतिपय नेपाली फेसबुक युजरहरुलाई फेसबुकले भेरिफाई समेत गरेको छ । नेपालका धेरैजसो भेरिफाइड फेसबुकहरू पत्रकारहरुका छन् । एक नेपाली अनलाइन पत्रिकाका अनुसार अहिलेसम्म ११ नेपाली पत्रकारहरुलाई फेसबुकले भेरिफाई गरेको छ । बीबीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्र, नारायण श्रेष्ठ (हाल अमेरिकामा रहेका श्रेष्ठले यसअघि बीबीसी वर्ल्ड सर्भिस ट्रष्टले चलाइरहेको रेडियो तथा टेलिभिजन कार्यक्रम ‘साझा सवाल’ का प्रस्तोताका रुपमा ख्याति कमाएका थिए), भोजराज भाट (सुनकली डकुमेन्ट्रीका निर्देशक तथा स्वतन्त्र पत्रकार), अनुप काफ्ले, सुरेन्द्र फुयाँल, फणिन्द्र दाहाल, विनिता दहाल, आभा भट्टराई, रजनिश भण्डारी, किशोर पन्थी, जितेन्द्र राउतका फेसबुक पेज भेरिफाई भएका छन् । त्यसैगरी चर्चित राजनीतिकर्मी डा. बाबुराम भट्टराईको फेसबुक पेज पनि भेरिफाई भएको छ ।

फेसबुकलाई उपयोगी साधनका रूपमा सदुपयोग गर्ने कि यसको दुरूपयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामा नै भर पर्छ । आफ्नो फेसबुकको वाल र पेजका पोस्टहरूमा दुनियाँलाई निरूत्साहित गर्ने कुराहरु राखेर आफूले आफ्नै प्रतिभालाई निरुत्साहित गर्नु र नीचता प्रदर्शन गर्नुभन्दा पनि जिन्दगीलाई ऊर्जा दिने र आफ्नो योग्यता–प्रतिष्ठा उँचो पार्नेखाले कुराहरु राखेर आफ्नो प्रतिभाको उजागार गर्दै व्यक्तित्व उजिल्याउँदा सबैलाई फाइदा हुन्छ ।

chating-facebook2केही मित्रहरुको उदाहरण पेस गर्न मन लाग्यो । एक जना मित्र छन्, नामचाहिँ नलिऊँ । हरेक दिन उनको स्ट्याटसमा मेरा आँखा पर्छन्, त्यहाँ उनले आफ्नो जिन्दगीलाई खुब गाली गरिरहेका हुन्छन्–‘थुइक्क मेरो जिन्दगी’, ‘मर्न पनि सकिएन’, ‘काल पनि आउँदैन’… उनले यस्तैयस्तै खालका भावुक शब्दहरुसँगै तस्बिर समेत पोस्ट गरेका हुन्छन् ।

अर्का एक साथीले केही दिन अगाडि आफ्नो स्ट्याटसबाट ‘मर्ने’ घोषणा गरेका थिए । उनले आफ्नो स्ट्याटसमा एक बहिनी समेतको नाम सार्वजनिक गरी उनको यो ‘मृत्यु’ तिनकै धोकाका कारणबाट हुन लागेको भन्दै त्यसको जिम्मेवारी समेत उनैले लिनुपर्ने दावी गरेका थिए ।

यसरी निजी जीवनका गोप्य कुराहरु समेत फेसबुकमा सार्वजनिक गरी यस्ता स्ट्याटसले कस्तो सामाजिक र सांस्कृतिक महत्त्व बोकेका छन् ? यस्तो कुरामा ख्याल गर्नु अत्यावश्यक छ । ग्रामीण संस्कृतिमा ती पात्रको स्ट्याटसमार्फत सार्वजनिक गरिएकी युवतीको निजी जीवनमा के असर पार्छ भन्ने कुरा सोच्न सक्नुपर्थ्यो कि पर्दैनथ्यो ती महाशयले रु भलै उनी मर्न त मरेनन् । तर, युवतीको प्रतिष्ठामा गम्भीर आँच पुग्ने कुरामा दुईमत छैन ।

त्यति मात्र कहाँ हो र ! निस्मा कार्की भन्ने एक युजरले त आफ्नो ‘केटा साथी’ सँग हुने गरेका गोप्य कुराकानी समेत ‘स्क्रिनसट’ मार्फत फेसबुकबाटै सार्वजनिक गर्न समेत भ्याइन् । फेसबुकको दुरुपयोगकै कारण ०७३ असारमा चितवनकी रिता भुजेलले ज्यान गुमाउनु पर्‍यो । एक छोरा र श्रीमान् समेत भएकी भुजेलले मलेसिया बस्दै आएका धादिङका भीमबहादुर थापामगरलाई अञ्जानमै फेसबुकबाट रिक्वेस्ट पठाइन् । मगरले पनि रिक्वेस्ट एसेप्ट गरेपछि उनीहरु च्याटमा मग्न हुन थाले ।

श्रीमान् विदेशमा र एक छोरा समेत भएको कुरा न भुजेलले भनिन् न त मगरले नै सोधे । मगर आफ्नो जीवनमा राजकुमारीको प्रवेश भयो भन्दै दिनरात फोटो हेर्दै दङ्ग पर्न थाले । जब थपामगर आफ्नी राजकुमारीको मीठो कल्पना गर्दै नेपाल आए तब सपना भताभुङ्ग भयो । विदेश रहँदा भुजेललाई खर्च र मोबाइल समेत पठाइसकेका मगरले जब असलियत थाहा पाए तब आवेगमा आई पोखरा बसपार्कस्थित एक गेस्टहाउसमा बोलाएर भुजेलको हत्या गरे ।

facebook-chatभर्खरै घटेको अर्को एक घटनाले त झन् सबैलाइ स्तब्ध बनाएको छ । गोरखाकी कृष्णा गिरी (एन्जिला) अपरिचित व्यक्तिसँग फेसबुकबाटै कुरा गर्दागर्दै गहिरो मायाजालमा परिन् । मायामा विश्वास गर्दै लिभिङ टुगेदरसम्म पुगेकी गिरीको एक्कासि हत्या भएपछि उनको  परिवार शोकमा डुबेको छ । शंकरदेव क्याम्पसमा अध्यनरत कहडिया– ६, सर्लाहीका अविनाश भारतीसँग फेसबुकबाटै प्रेममा परेपछि केही समय अघिदेखि उनीहरु दुबै एउटै कोठामा बस्दै आएका थिए । तर, केही हप्ताअघिको एक बिहीबार राति गिरी मृत अवस्थामा भेटिएपछि उनलाई सामूहिक बलात्कार गरी हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।

नेपाली फेसबुक प्रयोगकर्ताहरुमा क्रमशः हावी हुँदै गैरहेका यी र यस्ता सन्दर्भलाई केलाइरहँदा माथि उल्लेख गरिएका पात्रहरु मात्र चाहिँ अवश्यै दुरुपयोगकर्ता होइनन् । यी त प्रतिनिधि उदाहरण मात्र हुन्, यस्ताखाले फेसबुक विकृतिले उत्पन्न गराएका अप्रिय घटनाहरु नेपालमा दिनहुँ बढ्दो क्रममा जारी नै छन्  ।

विश्वका अरू मुलुकमा झैं नेपालमा पनि दिनानुदिन ठूलो सङ्ख्यामा फेसबुक युजरहरुको सङ्ख्या बढिरहेको यस बेला विकृति समेत झांगिँदै गइरहेको यथार्थतालाई ध्यानमा राखी सम्बन्धित निकायले कैंची चलाउने कि नचलाउने ? हेर्न बाँकी नै छ ।

र, यो पनि यसै लेखको पूर्वअध्याय…

पहिलो च्याटमै यौनप्रस्ताव : दोषी फेसबुक कि प्रयोगकर्ता ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर