
विमान दुर्घटनामा कोलम्बियामा मारिएका ब्राजिलियन फुटबल क्लबका सदस्यलाई अन्तिम बिदाई गर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार आफ्नो अस्ट्रेलिया भ्रमण रद्ध गरेका छन्।
फ्रान्स र दक्षिण कोरियाबीच हुने युथ–२० महिला विश्वकपका लागि उनी सिड्नी हुँदै पपुवा न्युगिनी जाने कार्यक्रम थियो। युथ–२० महिला विश्वकपको फाइनल शनिबार पपुवा न्युगिनीमा हुँदैछ। ‘फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अस्ट्रेलियाको भ्रमण रद्ध गरेका छन् ताकी उनी यसै साता कोलम्बियामा भएको विमान दुर्घटनामा मारिएका खेलाडीहरूको श्रद्धाञ्जली सभामा उपस्थित हुन ब्राजिल पुग्न सकुन्,’ फिफाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
दक्षिण अमेरिकाको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकानाको फाइनलमा एट्लेटिको नासियोनलसँग भिड्न ब्राजिलको चापाकोइन्से क्लब कोलम्बियाको दोस्रो ठूलो शहर मेडलिन उडेको थियो। जुन मंगलबार मेडलिन शहर नजिकै दुर्घटना हुँदा क्लबका १९ खेलाडीले ज्यान गुमाएका थिए। यो घटनामा क्लबका प्रशिक्षकसहित २० पत्रकारको पनि निधन भएको थियो। तीन खेलाडी भने बाँचेका छन्।