
कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन शुक्रवार देखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए।
आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजना सुरु गरिएको थियो ।
ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको शुक्रवार उद्घाटन गर्ने कार्यक्रम छ ।