newskoseli.Com

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा शुक्रवार भिड्दै छन् । दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन् ।

बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकटले नै पराजित गरी उपाधिका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् । बैजनाथपुरको खेल मैदानमा बिहीबारको खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले पराजित ग¥यो ।

टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय ४४ रन बनायो । सेनाले विजयी लक्ष्य १८.३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो । सेनाका लागि सागर पुनले ४८ बलमा एक छक्का र सात चौका प्रहार गरी ५९ रन तथा अविजित रहेका अनिल मण्डलले ५४ बलमा ६ चौकाको मद्दतमा ६२ रन बनाए । बलिङतर्फ प्रहरीका मञ्जित श्रेष्ठ र दीपेन्द्र ऐरीले एक–एक विकेट लिए ।

यसअघि प्रहरीका लागि ब्याटिङ गर्ने क्रममा प्रेम तामाङले ३७ बलमा ४ चौकाको मद्दतमा ३५ रन तथा दिलीप नाथले २५ बलमा एक छक्का र तीन चौका हान्दै ३२ रन बनाए । बलिङतर्फ सेनाका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट तथा विक्रम सोव र चन्द्र साउदले दुई–दुई विकेट लिएका थिए ।

यस्तै, अर्को खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ६१ रन मात्र बनायो । विजयका लागि ६२ रनको लक्ष्य पछ्याएको सशस्त्रले ९.३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो ।

सशस्त्रका लागि प्रदीप ऐरीले अविजित रही २४ बलमा चार चौकाको मद्दतमा ३३ रन तथा पृथू बाँस्कोटाले अविजित ९ रन बनाए । बलिङतर्फ मध्यमाञ्चलका रसिद खानले दुई विकेट लिए ।

यसअघि मध्यमाञ्चलका लागि ब्याटिङ गर्ने क्रममा हरिशङ्कर साहले २१ रन बनाएका थिए । बलिङतर्फ सशस्त्रका करण केसी र वसन्त रेग्मीले दुई–दुई विकेट तथा शक्ति गौचन, पारस खड्का, यज्ञमान कुमाल र भुवन कार्कीले एक–एक विकेट लिएका थिए ।

स्क्वास
ललितपुरको सातदोबाटोमा बिहीबार भएको स्क्वास खेलको पुरुष एकलमा सेनाका अरहान्तकेशर सिंह र अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा अरहान्तले मध्यमाञ्चलका विनोदरत्न शाक्यलाई ११–१, ११–२ र ११–५ अ्ङ्क तथा अमृतले मध्यपश्चिमाञ्चलका ज्ञानु चौधरीलाई ११–५, ११–८ र ११–५ को सोझो सेटमा पराजित गरे । उक्त स्पर्धाको महिलातर्फ सेनाका विपना ब्लोन र मध्यमाञ्चलका भावना सुनवारले उपाधिका लागि स्थान पक्का गरिसकेका छन् । फाइनल खेल आज हुनेछ ।

ह्यान्डबल
मोरङको टङ्कीसुनवारीमा बिहीबार भएको ह्यान्डबल खेलमा पुरुष र महिला दुवैमा नेपाली सेना र सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेका छन् ।

पुरुषतर्फ सेनाले आयोजक पूर्वाञ्चललाई ३५–२० अङ्कले तथा सशस्त्रले पश्चिमाञ्चललाई ३२–२६ अङ्कले हराएको थियो । महिलातर्फ सेमीफाइनलमा सेनाले पश्चिमाञ्चललाई २७–१२ अङ्कले पाखा लगायो भने सशस्त्रले मध्यमाञ्चललाई ४३–६ अङ्कले पराजित गरेको थियो ।

रेपिड चेस
नेपाली सेनाका क्यान्डिडेट मास्टर केशव श्रेष्ठ र महिला फिडेमास्टर सुजना लोहनी रेपिड चेस च्याम्पियन बनेका छन् ।

साताँैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धनकुटामा बिहीबार सम्पन्न खेलमा केशवले ७ खेलबाट ५.५ अङ्क बटुल्दै स्वर्ण जिते । समान ५.५ अङ्क बनाएका पूर्वाञ्चलका प्रकाश नेपालले रजत तथा मध्यमाञ्चलका गणेशमान दुवालले कास्य पदकमा चित्त बुझाए । महिलातर्फ ७ खेलबाट समान ६ अङ्क बनाएका सेनाका सुजना लोहनीले स्वर्ण, सेनाकै सिन्दिरा जोशीले रजत तथा सशस्त्रका शान्ता थापाले कास्य पाए ।

जिम्न्यास्टिक
झापाको धुलाबारीको पासाङ ल्हामु कभर्ड हलमा बिहीबार सम्पन्न जिम्न्यास्टिक प्रतियोगितामा सशस्त्र प्रहरीले १० वटा स्वर्ण जितेको छ ।

पुरुषतर्फ टिम इभेन्टसहित सात तथा महिलातर्फ टिम इभेन्टसहित तीनवटा स्वर्ण जितेको हो । पुरुषतर्फको भुइँ व्यायाममा सशस्त्रका राजु राईले सशस्त्रकै उज्जवल तिवारीलाई हराएर स्वर्ण जितेका हुन् भने मध्यमाञ्चलका त्रिदेव गिरीले कास्य पदक जिते ।

यस्तै, पोमेल हर्समा सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै रमेश श्रेष्ठले रजत तथा सुदूरपश्चिमका भक्तबहादुर चौधरीले कास्य जिते । रोमन रिङमा समेत सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै श्रीकृष्ण गर्वुजाले रजत तथा मध्यमाञ्चलका सत्यनारायण मानन्धरले कास्य जिते ।

यसैगरी, पारलर वारमा सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै विष्णु बाटाले रजत र मध्यमाञ्चलका सत्यनारायण मानन्धरले कास्य पदक जिते । यस्तै राजु राईले नै अलराउन्ड च्याम्पियनमा स्वर्ण, मध्यमाञ्चलका उज्जवल तिवारीले रजत तथा सुदूरपश्चिमका भक्तबहादुर चौधरीले कास्य जिते ।

यस्तै, पुरुषतर्फको मल्तिङमा मध्यमाञ्चलका उज्ज्वल तिवारीले स्वर्ण, सशस्त्रका दिनेश सुनारले रजत तथा सशस्त्रकै रमेश श्रेष्ठले कास्य जिते । पुरुष टिम इभेन्ट्समा सशस्त्रले स्वर्ण, मध्यमाञ्चलले रजत र सुदूरपश्चिमाञ्चलले कास्य पदमा चित्त बुझायो । महिलातर्फको टिम इभेन्ट्समा पनि सशस्त्रले स्वर्ण, मध्यमाञ्चलले रजत र सुदूरपश्चिमाञ्चलले कास्य जित्यो ।

यसैगरी, भल्टिक टेबलमा सशस्त्रका रेसिका श्रेष्ठले स्वर्ण, मध्यमाञ्चलका तारा सिवाकोटीले रजत र सशस्त्रका पिङ्की झाङले रजत र सशस्त्रकै सुनिता निरौलाले कास्य जित्नुभयो । भुइँ व्यायाममा तीनवटै पदक सशस्त्रले नै जित्यो । सशस्त्रका पिङ्की झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले कास्य पदक पाउनुभयो ।

अलराउन्डमा समेत तीनवटै पदक सशस्त्रकै पोल्टामा गयो । सशस्त्रका रेसिका श्रेष्ठले स्वर्ण, पिङ्की झाङले रजत र सुनिता निरौलाले कास्य जित्नुभयो । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर