newskoseli.Com

अङ्ग्रेजी नयाँ वर्ष : सौराहामा पर्यटकीय रौनक

नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा पर्यटक भरिभराउ भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँका होटलमा पर्यटक भरिएका हुन् ।

अधिकांश पर्यटक आन्तरिक छन् । सौराहाको सुविधायुक्त होटल वाइल्डलाइफ क्याम्पमा ४३ कोठा छन् । विगत ३ दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक शङ्कर शैंजु बताउँछन् ।

‘हाम्रो होटल ३ दिनदेखि भरिएका छन्’, शैंजुले भने– ‘आएका पर्यटकलाई अन्य होटलका रुम बुक गरेर पठाइरहेका छौँ, अन्त पनि धैरै होटल भरिइसके ।’

४० वटा कोठा रहेको रोयल सफारी होटलमा पनि पर्यटक भरिएर २० वटा कोठा बाहिरको होटलमा राख्नु परेको सञ्चालक शम्भु माली बताउँछन् । उनले विगतको वर्षभन्दा यसपटक राम्रो पर्यटक आएको बताए । ४ दिनका लागि होटल बुक भएको पनि उनले बताए ।

निकुञ्जसँग जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञ्जले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जमा हात्ती र जिप सफारीमा पर्यटक गइरहेको बताए । चितवनको सौराहामा मात्र सानाठूला गरी १ सय १० वटा होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् ।

यतिबेला सौराहाका रेस्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले बताए । उनले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहाको राप्ती किनारमा पर्यटक रमाउने गर्दछन् ।

युनिक वाइल्ड रिसोर्टका सञ्चालक प्रकाश भट्टराई र होटल पार्कल्यान्डका सञ्चालक अञ्जन पाण्डेले समेत आफ्नो होटल पर्यटकले भरिएको बताए । पाण्डेका अनुसार उनको ३२ कोठामा आएका पर्यटकमध्ये ७० प्रतिशत नेपाली छन् ।

दैनिक २ हजार ५ सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । ६० भन्दा बढी रेस्टुराँ र १ सय साना पर्यटन व्यवसाय सञ्चालित छन् ।
चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैंडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन् ।

पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक २ लाख बढी पर्यटक आउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर