newskoseli.Com

तारेभीरलाई पर्यटकीय गन्तव्य बनाइने

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभीरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एक दिने तेस्रो तारेभीर महोत्सव शनिबार सम्पन्न भएको छ ।

तारेभीर महोत्सवको शनिबार उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति, महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङलगायत राजनीतिक दलका स्थानीय नेताले तारेभीरलाई चट्टानी बगैंचा (रक गार्डेन) भएको पर्यटकीयस्थल बनाउन कार्ययोजनासहित अघि बढ्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए । सो अवसरमा स्थानीय तामाङ जातिको सांस्कृतिक झाँकीसहित मौलिक गीत र नृत्यको प्रदर्शन गरिएको थियो ।

उपत्यकाको कङ्क्रिट जङ्गल र आकर्षक हिमाल देखिने सो निकुञ्जभित्रकाे स्थललाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक वि.सं. २०७१ माघ १ मा महोत्सव आयोजना गरिएको थियो ।

पर्यटकीयस्थल बनाउन घरवास (होम स्टे) को अवधारणा अघि सारेर गृहकार्य सुरु गरिएकै बेला २०७२ वैशाख १२ को भूकम्पले यहाँका २ सय ६० घर ध्वस्त भएका थिए । घर भत्किए पनि स्थानीयवासीले महोत्सवलाई भने गत वर्ष र यस वर्ष पनि निरन्तरता दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर