
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालमा पर्यटन क्षेत्रको विकास जुन गतिले हुनुपर्ने हो त्यसो हुन नसकेको दुःखेसो पोखेका छन् ।
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा नेपाल–क्यानडा दौत्य सम्बन्धको ५२औं वर्षका अवसरमा मंगलबार राजधानीमा आयोजना गरेको ‘पर्यटन प्रवर्द्धन र नेपाल–क्यानाडा सम्बन्ध’ विषयक अन्तर्क्रियामा मन्त्री शाहीले पर्यटन क्षेत्रको विकास व्यक्ति वा मन्त्रीले चाहेर मात्र नहुने भन्दै सिङ्गो मुलुक लाग्नुपर्ने बताए ।
मन्त्री शाहीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारको विकास आवश्यक रहेको भन्दै उल्लेख्य मात्रामा पूर्वाधार नहुँदा पर्यटन क्षेत्रको विकास तीव्र गतिमा हुन नसकेको जिकिर गरे । उनले भने– “नेपालको पर्यटनको विकासका लागि म निरन्तर लागिरहेको छु ।”
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पर्यटन एक मुठी माटो निर्यात नगरी अर्बौं रुपैयाँ भित्र्याउने पेसा भएकाले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले नेपालमा ८ हजारभन्दा उचाइका १४ हिमाल रहेको भन्दै यसलाई विश्वसामु चिनाउनु जरुरी रहेको बताए ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन विकासमा क्यानडाको ठूलो सहयोग रहेको बताए । उनले भने– “क्यानडाबाट बर्सेनि धेरै पर्यटक अन्य मुलुकमा जान्छन् ती पर्यटकलाई नेपालमा भित्र्याउन सके नेपालको विकास चाँडो हुन्छ ।”
सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल–क्यानडाको सम्बन्धलाई थप प्रगाढ बनाउन सङ्घ निरन्तर लाग्ने बताए । सो अवसरमा मन्त्री शाहीले नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा प्रकाशन गरिएको पत्रिका समेत लोकार्पण गरे ।