चन्द्रागिरि केवलकारको प्रवद्र्धक चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणलाई सेयर दिने भएको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि चन्द्रागिरि केवलकारले सर्वसाधारणलाई सेयर निष्कासनको प्रक्रिया अघि बढाउने कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले प्रकृया पुर्यााएर सेयर निष्कासन गर्ने जानकारी दिए ।
व्यवस्थापिका–संसद्को सुशासन समिति र वातावरण समितिले संयुक्त रूपमा केवलकारको अनुगमनको क्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । चन्द्रागिरिमै आयोजना गरिएको छलफलमा ढकालले सेयर निष्कासनको योजना सार्वजनिक गरेका हुन् ।
केवलकार आयोजनाबाट प्रभावित चन्द्रागिरि नगरपालिका सरोकार समिति र राजनीतिक दलले स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्ने माग गरेपछि ढकालले यस्तो बताएका हुन् ।
केवलकारको संरचनाको निर्माण काम सम्पन्न भई ४ महिनादेखि सञ्चालनमा आइसकेको छ । यस्तै रिसोर्टलगायत अन्य पूर्वाधार निर्माणाधिन अवस्थामा रहेको उनले जानकारी दिए ।
साढे ३ अर्ब रुपैयाँमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्प र नाकावन्दीले काममा ढिलाइ भई आयोजनाको लागत बढेको उनले बताए । काम सुरु गरेको २ वर्षमा केवलकारको काम सम्पन्न भएको ढकालले जानकारी दिए ।
केवलकारका लागि स्वीकृति लिन ५ वर्ष लागेको थियो । सेयर निष्कासनका लागि चन्द्रागिरि हिल्स कम्पनी मोडलमा गएको छ ।