newskoseli.Com

प्रधानमन्त्रीको सम्बोधनमा आएका कार्यक्रम कार्यान्वयन गराउन टानले बिशेष पहल लिने

ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल टानले आफ्नो ३८ औं बार्षिक साधारणसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल द्वारा सम्बोधनको क्रममा प्रतिबद्धता जाहेर गरिएका पर्यटन क्षेत्रको बिकास र अभिवृद्धि गर्ने कार्यक्रमहरु लागु गराउन आबश्यक पहल शुरू गरेकाे छ ।

टान कार्यसमितिको ३१ औं पूर्ण बैठकले उक्त कार्यक्रमहरु लागु गराउन सम्बन्धित सरोकारवाला निकायहरुको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बार्षिक साधारणसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्रि दाहालले नेपालको भौगोलिक र जैविक विविधताका कारण कृषि र पर्यटनको लागि उपयुक्त थलो भएकाले टानले अघि सारेको जैविक कृषि—पर्यटनको माध्यमबाट देशमा रोजगारीका अवसरहरु सृजना हुने हुँदा हजारौंको संख्यामा विदेशीने युवा पुस्ताहरुलाई देशमा नै आकर्षक रोजगारी उपलब्ध गराउन सकिने बताएका थिए ।

पर्यटकीय देश भएपनि अहिलेसम्म देशमा पदयात्रा पर्यटन स्मारक पार्कको निर्माण नभएको भन्दै प्रम दाहालले पदयात्रा तथा पर्वतारोहणको सिलसिलमा ज्यान गुमाएका विदेशी पदयात्रीहरु, पर्वतीय पर्यटन विकासमा योगदान दिने योजनाकार, नीति निर्मातादेखि पर्यटकहरुलाई घुमाउने पथप्रदर्शकहरु तथा पदयात्रा सहयोगी सम्मले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएको दुःखद् घटनाहरु समेतलाई सम्मान हुने हुँदा टानले काभ्रे जिल्लाको तिमालमा बनाउन प्रस्ताब गरेको ‘टान पदयात्रा पर्यटन स्मारक पार्क’ निर्माणमा सरकारले आबश्यक सहयोग गर्ने बताएका थिए ।

उक्त पार्कको प्रारम्भिक डिजाइन र थ्रीडी अनिमेशन पुमोरी इन्जिनियरिंग कन्सलटेन्सीले तयार पारिसकेको छ । जग्गा समेत प्राप्त भैसकेको हुँदा बिस्तृत आयोजना प्रतिबेदन तयार हुनासाथ नेपाल सरकार र विभिन्न दातृ निकायहरुसंग आर्थिक स्रोत जुटाउन टानले आबश्यक पहलकदमी गरिरहेकाे छ । टानले उक्त आयोजनामा टिम्सकोष बाट रु १ करोड ५० लाख बिनियोजन गरिसकेको छ ।

त्यसैगरि प्रम दाहालले मध्य पश्चिम, सुदुरपश्चिम र पुर्बी नेपालमा पदयात्रा गतिबिधि बढाउन सरकारले नयाँ बिमानस्थल निर्माण र हाल भएका बिमानस्थलहरुको स्तरोन्नती गर्ने बताएका थिए । दाहालले ताप्लेजुंगका सुकेटार लगायत अन्य दुर्गम स्थानमा उडान भर्ने बायुसेबा कम्पनीहरुलाई पाँच बर्षसम्म बिशेष सहुलियतमा इन्धन दिन र करछुट दिन सरकारले आबश्यक पहल गर्ने बताएका थिए ।

प्रम दाहालले हालसम्म आरोहण नगरेका हिमालहरुलाई राजश्व नलिई चढ्न अनुमति दिने र निजी क्षेत्रसंग मिलेर आधार शिविर सम्मको पदमार्गको निमार्ण तथा प्रबर्द्धन गर्ने तथा नेपाल पर्यटन बोर्डको ऐन मै संशोधन गरि बोर्डमा निजि क्षेत्रको संस्थागत प्रतिनिधित्व गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

त्यसैगरी पर्यटन शिक्षालाई बिद्यालयसम्म पुर्याउने र एक पर्यटन विश्वबिद्यालय स्थापना गर्ने साथै प्रत्येक प्रदेशमा एक पर्यटन शहर बनाउन सरकारले तुरुन्तै बजेट बिनियोजन गर्ने प्रतिबद्धता पनि प्रम दाहालले व्यक्त गरेका थिए ।

टान महासचिब कर्णबहादुर लामाले सञ्चारकर्मीसँग बताए “प्रम दाहालले व्यक्त गरेका प्रतिबद्धता कार्यन्वयनमा अाएकाे खण्डमा सगरमाथा, अन्नपुर्ण र लांगटांग क्षेत्रमा केन्द्रिकृत पदयात्रा गतिविधिलाई नयाँ ठाउँमा लैजान ठुलो योगदान पुग्ने हामीले बिश्वास लिएकाछौं । टानले यसतर्फ सम्बन्धित सरोकारवाला निकायको ढोका घचघच्याईरहनेछ ।”

अहिलेसम्म आरोहण नभएका हिमालहरुको आधार शिबिरसम्म पदयात्रा मार्ग खोल्न र अन्तराष्ट्रिय बजारमा त्यसको प्रचारप्रसार गर्न नेपाल पर्बतारोहण संघसंग समझदारीपत्रमा हस्ताक्षर गरि अघि बढ्ने तयारी टानले गरेको भन्दै  महासचिव लामाले सो कामको लागि टिम्स कोष बाट रु १ करोड २० लाख बजेट छुट्टाइ सकेको जानकारी दिए ।

महासचिव लामाले भने “बिदेशी मुद्रा आर्जन गरि स्वदेशमै रोजगारी सृजना गर्ने प्रमुख स्रोत पर्यटन क्षेत्रलाइ थप विकास गर्न निजि क्षेत्रको सहभागितामा सम्पन्न गर्ने भनेर प्रधानमन्त्रिद्वारा घोषित कार्यक्रमहरु र सरकारले ल्याएको रणनैतिक कार्ययोजनाहरुलाइ सम्बन्धित निकायहरुले इमान्दारीपूर्बक कार्यान्वयन गर्न सवन्धित् निकायको   ध्यानाकर्षण गर्दछु ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर