राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवर्द्धनका लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताएकी छन् । शनिबार लमजुङको घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
“घलेगाउँ रैथाने पर्यटनको राजधानीका रुपमा चिनिएको छ”, राष्ट्रपति भण्डारीले भनिन्– “यहाँका भेडीगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडीपाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको मन जितेको छ ।”
उनले दिगो कृषि प्रणालीमा ध्यान पुर्याई स्थानीयवासीको जीवनस्तर उकास्न सम्बन्धित पक्षले उचित ध्यान दिनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै यहाँका अन्य जलविद्युत्, जडीबुटी र कृषिका सम्भावनालाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
नेपालको अर्थतन्त्रको आधारका रुपमा रहेका जलस्रोत, कृषि, पर्यटनका लागि सिङ्गो लमजुङ महत्वपूर्ण रहेको उनले बताइन् । सम्पदाको उचित प्रयोग गरी नेपालका युवाशक्तिलाई आफ्नै गाउँमा परिचालन गर्दै देश विकासको मूल बाटोमा अघि बढाउनु आवश्यक रहेको उनले बताइन् ।
राष्ट्रपति भण्डारीले गुरुङहरुको आदिम थलो लमजुङको घलेगाउँ सार्क राष्ट्रकै नमूना गाउँका रुपमा घोषणा हुनु गर्वको विषय भन्दै यहाँका उत्पादनलाई आधुनिकीकरण गरी व्यावसायिक र बजारीकरण गर्न सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गरिन् ।
सामाजिक विकृति हटाउन घलेगाउँमा सुरु गरिएको दलित बस्तीमा होमस्टे उदाहरणीय भएको भन्दै मध्यपहाडी लोकमार्ग लमजुङ भएर जाने हुनाले यहाँको पर्यटकीय सम्भावना अझै बढी रहेको धारणा उनले व्यक्त गरिन् ।
घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय टुकाभद्र हमाल र भीष्म अधिकारीलगायतको उपस्थिति थियो । राष्ट्रपतिको स्वागत–सम्मानमा स्थानीय सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तुहरु निर्माण गरिएको छ । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएको छ ।
घलेगाउँमा वार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । प्राकृतिक दृश्यावलोकन, होमस्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बेँसीसहर– १३, चण्डिस्थानमा रहेको गङ्गा मिलन माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको उद्घाटन गरेकी थिइन् ।
सोही अवसरमा विद्यालयले ‘लमजुङको शिक्षाको वर्तमान अवस्था, अवसर, चुनौती र भावी रणनीति’ विषयक ज्ञापनपत्र राष्ट्रपतिसमक्ष बुझाएको थियो ।