newskoseli.Com

जडीबुटीकै भरमा जन्डिसको ‘डाक्टर’ बनिरहेका बालकृष्ण

सुलुबुङ– ८ का बालकृष्ण सापकोटा आफ्नो मोबाइलमा घन्टी बज्नेबित्तिकै औषधि जुटाउन थालिहाल्छन् । फोन उठाएर उनी कस्तो खालको बिरामी हो, लक्षण बताउन लगाउँछन् र सोही बमोजिमका औषधि बोकेर निस्कन्छन् ।

यो त उनको दैनिकी नै बनेको छ । स्वदेशमा मात्र होइन, उनलाई विदेशबाट पनि औषधि चाहियो भन्दै फोन आउने गरेका छन् । गाउँघरमा खेर गइरहेका स्थानीय जडीबुटी सदुपयोग गरेर जन्डिसका ‘डाक्टर’ नै बनेका छन् बालकृष्ण  ।

“मैले उपचार गरेपछि अस्पताल जानु पर्दैन” , उनी भन्छन्– “उपचारका लागि ठूलठूला र महँगा स्वास्थ्यकेन्द्रसम्म धाउनु पर्दैन, घरेलु औषधि खाने हो भने घरमै बसीबसी रोग निको हुन्छ ।”

आफू सानो छँदा जन्डिस रोगबाट पीडित भएकाले आफूले उपचार पद्धति सिकेर बिरामीको सेवा गरिरहेको उनी बताउँछन् । “२०४४ मा रोगबाट थलिएपछि उपचारका लागि भारतको दार्जलिङ गएँ । त्यहाँ जाँदा पनि डाक्टरको साथमा रहेर दिनहुँ औषधि खानुपर्ने । त्यसै बेला एक जना बिरामीले विश्वनाथ पौडेलकहाँ जान सल्लाह दिए, उनले औषधि बनाएर खुवाएपछि मेरो जन्डिस निको भएको हो”– सापकोटाले भने । अहिलेसम्म १२ हजारभन्दा बढी जन्डिस रोगीको सफल उपचार गरिसकेको उनी बताउँछन् ।

विदेशमा बसेका धेरै नेपाली दाजुभाइलाई जन्डिस निको पारेको उनको दाबी छ । जन्डिसका बिरामीलाई आयुर्वेदिक पद्धतिले जडीबुटीबाट औषधि बनाएर दिएपछि डाक्टरकहाँ जानै नपर्ने सल्लाह दिन्छन् सापकोटा । यसमा उपचार खर्च पनि थोरै छ ।

“एक बट्टाको ३ सय २० रूपैयाँ पर्छ, त्यसले निको भएन भने मात्र अरु औषधि दिन्छु”, उनी भन्छन्–“बिरामीलाई एक पटकदेखि थप्नुपरेको छैन ।” मोबाइल नम्बर पत्ता लगाएर उनलाई धेरैले टाढा–टाढाबाट फोन गर्छन् । औषधि चाहियो भनेपछि उनी अप्ठ्यारो नमानी औषधि खोजेर उपचारमा गइहाल्छन् ।

उनले सबैभन्दा पहिले २०५१ मा मावु– ४ का अमृत गुरुङ र स्थानीय धर्म साउदेनलाई निको पारेका थिए । उनीहरूलाई निको पारेपछि थप मनोबल बढेको बताउँदै बालकृष्ण भन्छन्– “अहिलेसम्म औषधि खाएर रोग निको भएन, फेरि दिनुपर्‍यो भनेर एक जना पनि आएका छैनन् ।”

भारतको आग्रा हस्पिटलले मृत्युको मुखमा पुगेर घर फर्काएका इलाम बरबोटेका एक युवालार्इ उपचार गरेर उनले तन्दुरुस्त बनाए । बिहीबारे हटियामा दैनिक १० जनासम्म जन्डिसका रोगी आफूलाई कुरेर बस्ने गरेको उनी बताउँछन् ।

रोगीका आफन्त बिरामी लिएर घरमै आउने गरेका छन् भने आफूकहाँ आउन नसक्ने रोगीकोमा जडीबुटी लिएर आफैं जाने गरेको सापकोटा बताउँछन् । उनले बनाएको जन्डिसको औषधि नेपालका काठमाडौं, पोखरा, बुटवल, उदयपुर, पाँचथर, ताप्लेजुङदेखि भारतका दार्जलिङ, सिलीगुढी र मलेसिया, कतार, दुबई हुँदै साउदीअरबसम्म पठाइने गरेको आयुर्वेदिक पद्धतिमा लागेका सापकोटा बताउँछन् ।

एक जना जन्डिस रोगीलाई रोगमुक्त बनाउन उनी ३ सय रूपैयाँ लिन्छन् । जन्डिस रोग लागेका बिरामीलाई जिल्लाभन्दा बाहिर कसैले औषधि पठाइमाग्दा कुरियरमार्फत पठाउने गरेको उनी बताउँछन् । सुर्खेतका दुई सैनिक जवान उदय राई र फडेन्द्र गुरुङलाई कुरियर गरेर औषधि पठाएर निको पारेको उनले बताए ।

बुटवलका टिकाराम रिजाललाई पनि उनले कुरियरमार्फत जन्डिसको औषधि बनाएर पठाएका छन् । जन्डिससँगै पेटको उपचारमा घरगाउँका पाखा–भित्तातिर पाइने जडीबुटीबाट औषधि बनाएर बिक्री गर्दै उनले आम्दानीको राम्रो स्रोत बनाएका छन् ।

प्रदूषित पानी, अमिलो, पिरो, बासी, सडेगलेका खाने कुरा र सदाबहार एकै प्रकारका खाना खानाले हुने जन्डिसको उपचारमा सर्पगन्धा, विख्मालगायतका ९ प्रकारका जडीबुटी प्रयोग गर्दै आएको उनको भनाइ छ । जन्डिस निको पार्ने सापकोटा जिल्लामै एक्ला व्यक्ति हुन् । कालो, पहेंलो लगायतका विभिन्न प्रकारका जन्डिस निको पारिसकेको उनी बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर