newskoseli.Com

विषादी प्रयोग खेतीमा : नराम्रो असर गर्भवतीमा

विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराएका छन् ।

‘विषादीको प्रयोग : अवस्था र सोको नकारात्मक असरबाट बच्ने उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा विषादीको प्रयोगका कारण महिलालाई क्यान्सर हुने, गर्भपतन हुन सक्ने, बच्चा अपाङ्ग हुने, सुस्त मनस्थिति बन्ने लगायतका खतरा हुने गरेको विषादी बिक्रेता तथा सरोकारवालासँग उनले यस्तो बताएका हुन् । ८० प्रतिशत किसान केही समस्या हुने बित्तिकै एग्रोभेटमा जाने गरेकाले एग्रोभेट सञ्चालक दक्ष हुनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए ।

किसानले तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मास्क र पञ्जा लगाउने, विषादी राखेको बारी नजिक चुरोट नखाने, हात राम्रोसँग साबुनपानीले धुनेजस्ता सावधानी अपनाउँदा विषादीको असर कम पर्ने विज्ञको सुझाव छ । यसबाट किसान महिलालाई क्यान्सर भएको छ भने पुरुष प्यारालाइसिसजस्ता रोगको सिकार बनेका छन् । विषादीबाट मुख्य असर किसानलाई पर्छ ।

तरकारी र फलफूलमा विषादी आवश्यक भए पनि सही रुपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशको तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित नहुँदा किसान तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हो ।

नेपालमा प्रतिहेक्टर १ सय ४२ ग्राम रासायनिक विषादी प्रयोग भएको छ, जुन परिमाणका हिसाबले अन्य देशमा भन्दा निकै कम रहेको छ । भारतमा प्रतिहेक्टर ३ सय ८१ ग्राम, चीनमा ३ किलो २५ ग्राम, अमेरिकामा १ किलो ९ ग्राम, जापानमा १० किलो ८ ग्राम र सबैभन्दा धेरै दक्षिण कोरियामा १६ किलो ५ सय ५५ ग्राम विषादी प्रयोग हुने गरेको छ । ती मुलुकमा विषादीलाई व्यवस्थित रुपमा प्रयोग गर्दा किसानले राम्रो उत्पादन गर्न सफल भएका छन् भने उपभोक्ताले पनि स्वस्थकर तरकारी तथा फलफूल सेवन गर्न पाएका उनले बताए ।

रावतले भने– “तर हाम्रो देशमा विषलाई औषधिका रुपमा बुझ्दा किसानमा गम्भीर प्रकारका रोग लागेका छन्, उपभोक्ताहरुमा पनि दीर्घकालीन असर देखिएको छ ।” नेपालमा अहिले ९५ प्रतिशत किसानले तरकारीमा विषादी प्रयोग गरेका छन् । नेपालमा २००५ सालतिरदेखि मलेरिया नियन्त्रण गर्ने उद्देश्यले विषादी भित्रिएको भए पनि विषादीको सदुपयोग गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पारेको उनले बताए ।

विषादीका कारण कतिपय पन्छी पनि लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समयमा अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सक बताउँछन् । बालबालिकामा रगतको क्यान्सर, छालाको क्यान्सर हुने गरेको भेटिएको छ । तत्काल उत्पादन बढाउनका लागि अत्यधिक विषादी प्रयोग गर्दा नेपालमा थप समस्या देखिएको छ । रावतले भने– “किसानले छिटो नाफा कमाउनका लागि पनि अत्यधिक मात्रामा विषादी प्रयोग गरेका छन्, त्यसको असर उपभोक्ताको स्वास्थ्यमा परेको छ ।”

विषादी प्रयोग गर्दा प्रत्यक्ष असर किसानलाई पर्ने भए पनि अधिकांश किसान यसबारे अनभिज्ञ छन् । नेपालमा विषादीको प्रयोगका लागि जनचेतनामा कमी रहँदा समस्या आएको हो । धेरै किसानलाई प्रयोग गर्दा हुने नोक्सानीबारे ज्ञान नहुँदा क्यान्सरजस्ता खतरनाक रोगको सिकार बन्न पुगेको वरिष्ठ कृषि विकास अधिकृत रावतले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर