newskoseli.Com

एउटै कम्पनीले उत्पादन गर्‍यो १० खर्ब किलोवाट बिजुली !

जलविद्युत उत्पादनमा विश्वकै सबभन्दा विशाल र ख्यातिप्राप्त कम्पनी थ्री जर्जेजले स्थापनाकालको १४ वर्षमा दस खर्ब किलोवाट (वान ट्रिलियन किलोवाट आवर्स/केडब्लुएच) जलविद्युत उत्पादन गसिकेको जनाइएको छ ।

सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री जर्जेज् कर्पोरेसनले विश्वका विभिन्न मुलुकका जलविद्युत उत्पादन परियोजना सञ्चालन गरी हालसम्ममा दस खर्ब किलोवाट जलविद्युत उत्पादन, वितरण र व्यवस्थापन गरिसकेको दाबी गरेको छ ।

थ्री जर्जेज् कर्पोरेसनले विश्वभरि इन्धनीय कोइला (स्टान्डार्ड कोल) खपतमा करिव ३२ करोड टनले कमी गराएको तथा विषाक्त ग्यासहरु– कार्बनडाइअक्साइड ८५ करोड ८० लाख टन तथा सल्फरडाइअक्साइड ९० लाख टन विश्व वायुमण्डलमा उत्सर्जन हुनबाट जोगाएको पनि सो कम्पनीले प्रेस विज्ञप्तिमार्फत् दावी गरेको छ ।

हाल थ्री जर्जेज् कर्पोरेसनको स्वामित्वमा जल नियन्त्रण गर्न सक्ने बहुउद्देश्यीय प्रणालीयुक्त एउटा विशाल बाँध, एकै पटकमा सात लाख किलोवाट जलविद्युत उत्पादन गर्न सक्ने बत्तीस वटा हाइड्रो पावर टर्बो जेनरेटर, एउटा भीमकाय पाँचतले पानीजहाज र एउटा विशाल शिपलिफ्ट यन्त्र छन् ।

विश्वमा ठूलठूला नदीमा आउने बाढी नियन्त्रण गर्नमा, अति ठूलो परिमाणमा जलविद्युत उत्पादन गर्नमा तथा ठूला नदीहरुमा चल्ने पानीजहाजको यातायात व्यवस्थापन वा नियमितीकरण गर्नमा थ्री जर्जेजले हात हालेका परियोजनाहरुले राम्रो ख्याति आर्जन गरिरहेका छन् ।

जलविद्युत उत्पादनमा थ्री जर्जेजको कूल वार्षिक क्षमता ८८ अर्ब २० करोड किलोवाट रहेको र प्रत्येक युनिटले वार्षिक दुई करोड पच्चीस लाख किलोवाटसम्म जलविद्युत उत्पादन गर्न सक्ने हाइड्रो–पावर प्लान्ट जडान र सञ्चालन गर्ने क्षमता यस कर्पोरेसनसँग रहेको समेत दाबी गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर