newskoseli.Com

यी हुन् २०७२ सालका हिट १० चलचित्र

नेपालीहरुले २०७२ साल विदा गरेर अब ०७३ साललाई स्वागत गर्ने तयारीमा छन् । विनाशकारी महाभूकम्प र अघोषित नाकाबन्दीका कारण ०७२ साल नेपालीहरुका निम्ती सबैभन्दा दुःखत र पीडादायी रह्यो ।

जसबाट नेपाली सिने उद्योग पनि अछुतो रहेन् । काठमाडौंका चलचित्र हलहरु भूकम्पबाट क्षतिग्रत बन्न पुगे जसका कारण नेपाली  चलचित्र उद्योगले ठूलो मार खेप्नु पर्यो ।

पीडा र सास्तीका बाबजुत पनि केही नेपाली चलचित्रहरुले धेरै दर्शकको मन जित्न सफल रहे ।

हलहरुमा करिब ६० बढी चलचित्रहरु प्रदर्शनमा आए पनि समय सान्दर्भिक कथाबस्तका कारण दर्जन बढी चलचित्रले मात्र धेरै दर्शकको मन जित्न सफल रहे । कतिपय चलचित्रको भने लगानी पूरै डुब्यो । तर सिमित केही चलचित्रले  भने  राम्रो व्यापारगरेका छन् । त्यस्ता केही चलचित्रहरु यहाँ चर्चा गरिएको छ ।

रेशम फिलिली

‘पारी त्यो डाँडामा’ गीतकोे बोलबाटै हिट भएको चलचित्र रेशम फिलिली गत नयाँ बर्षको सुरुवातमै रिलिज भए पनि विनाशकारी महाभूकम्पको चपेटामा परयो ।

प्रणय जोशीको निर्देशनमा बनेको यस चलचित्रमा बिनय श्रेष्ठ, कामेश्वर चौरसिया, मेनुका प्रधान लगायतको उत्कृष्ट अभिनयलाई सबैले तारिफ गरे ।

बैशाखमा भूकम्पका कारण हलमा दर्शक उल्लेख्य नभएपछि भदौ ११ बाट पुन प्रदर्शनमा आएको चलचित्रले उल्लेख्य व्यापार गर्‍यो ।

आमा बाबुको सपना पुरा गर्न विदेश हिडेका युवाहरुको कथामा आधारित चलचित्र देश विदेशमा प्रदर्शन गरेर उल्लेख्य व्यापार गर्न सफल रह्यो । माधव वाग्ले र बिनय श्रेष्ठको लगानी चलचित्रले राम्रेसँग उठाउन सफल भयो ।

ड्रिम्स

‘करोडपति’, ‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’ जस्ता सुपरहिट चलचित्र निर्माण गरेका नायक तथा निर्देशक भुवन केसीले बनाएको ड्रिम्स ०७२ मा राम्रो व्यापार गर्‍यो ।

आफ्नै छोरा अनमोल केसीलाई प्रमुख भूमिकामा उतारेर उनले धेरै युवाको मनमा अनमोललाई स्थापित गराए । ‘ड्रिम्स’मा अनमोल सँगै साम्राज्ञलक्ष्मी शाह, सन्ध्या केसी ,दर्शना केसी, अमित श्रेष्ठ, न्यान्सी थापा लगायतको अभिनय छ ।

भुवन आफैंले निर्माण तथा निर्देशन गरेको चलचित्रमा युवाहरुको प्रेमलाई उजागर गरिएको छ । ०७२ मा चलचित्रले उल्लेख्य व्यापार गरेको छ ।

पशुपति प्रसाद

०७२ सालको अन्त्यतिर चलचित्र पशुपति प्रसाद धेरै चर्चामा रहयो । भूकम्पपछि सहर छिरेको युवाले भोगेको पीडा, उसको दैनिकीमा घुमेको चलचित्र समाजमा लोप हुँदै गएको इमान्दारीता र नैतिकतालाई व्यङ्ग हानेको छ ।

जसका कारण धेरै दर्शकको मन खिच्न चलचित्र सफल देखियो । नाट्य क्षेत्रबाट चलचित्रमा उदाएका खगेन्द्र लामिछानेको बेजोड अभिनय रहेको यस चलचित्रमा दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

खगेन्द्रका साथै वर्षा शिवाकोटी, विपीन कार्की, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, मिस्री थापा, आशिष अधिकारी लगायतको अभिनयलाई हलभित्र छिरेका दर्शकले मुक्तकण्ठले प्रसंसा गरेको गरेका थिए । यस चलचित्रले उत्कृष्ट व्यापार गर्न सफल रहयो । मानविय संवेदनालाई चलचित्रले मजाले विक्री गरेको छ ।

प्रेम गीत

‘म यस्तो गीत गाउँछु’ बोलको गीत मार्फत हिट भएको चलचित्र प्रेम गीतले ०७२ मा उत्कृष्ट व्यापार गरेर चर्चामा रहयो । प्रेम, रोमान्स र भावनाले भरिएको यस चलचित्रको कथाबस्तु मात्र नभई लोकेसनले पनि धेरै दर्शककको मन तान्यो ।

आसुसेन फिल्मसको व्यानरमा तयार भएको चलचित्रलाई ‘चंखे संखे पंखे’का निर्माता सन्तोस सेनको लगानी रहेको छ । उनले यस चलचित्रबाट राम्रो व्यापार गरे ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, पूजा शर्मा, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको अभिनयलाई धेरै दर्शकले प्रशंसा गरे । युवा पुस्ताको प्रेम र पारिवारीक कथा बस्तुमा आधारित भएकाले पनि प्रेम गीत हेर्न युवा पुस्ताका दर्शकहरु झुम्मिए । देश विदेशमा प्रदर्शन भएको यसले उत्कृष्ट व्यापार गरयो ।

परदेशी

‘गोर्खा पल्टन’ निर्माण गर्ने टीमले नै बनाएको चलचित्र परदेशी यसबर्ष नेपालीको मन मुटुमा रहन सफल भयो । विदेश जाने नेपाली महिलाको पीडालाई मार्मिक ढंगमा उतारेकाले धेरै दर्शकले चलचित्र रुचाए ।

राजेश बंशल र नारायण रायमाझीको प्रस्तुतीमा तयार भएको चलचित्रलाई नारायण रायमाझीले नै निर्देशन गरेका हुन् । चलचित्रमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसीको अभिनय दर्शकले खुलेर तारिफ गरे । दशैंको बेला प्रदर्शन गरिएको यस चलचित्रले ७५ दिन समेत मनाएर मजाले नाफा कमाएको थियो ।

वडा नम्बर ६

हाँस्य टेलिशृखंला ’तितो सत्य’, जिरे खुर्सानी’ र ’मेरी बास्सै’ समूहका कलाकारको प्रस्तुति रहेको चलचित्र वडा नम्बर ६ ले पनि यसबर्ष राम्रो ब्यापार गरेको छ ।

माओवादी द्वन्द्वका बेला नेपालीले भोगेको पीडालाई समेटेर बनाइएको यस चलचित्रले धेरै नेपाली दर्शकको मन छुन सफल रह्यो ।

उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा दीपाश्रीसँगै दीपकराज गिरी, जितु नेपाल, प्रियन्का कार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राईलगायतका कलाकारको अभिनयले हलभित्र प्रवेश गरेका दर्शकहरु निराश बन्नु परेन ।

‘छ एकान छ’ पछि हाँस्य विधाका कलाकारहरुको अभिनय रहेको यस चलचित्रले नाफा कमाउन सफल भयो ।

कबड्डी कबड्डी

मुस्ताङका थकाली समुदायमा रहेको मामाचेला÷फूपुचेलाबीच चल्ने बिहेवारीको कथालाई आधार बनाएर तयार भएको चलचित्र कबडी कबडी २०७२ सालमा धेरै व्यापार गर्ने चलचित्र मध्ये पर्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय प्रशंसनीय रहयो । गाउँले परिवेशमा छायाङन भएको यस चलचित्रले पाँच करोड भन्दा बढी नाफा कमाएको थियो । यद्यपि, चलचित्र रिलिज हुनुपूर्व नै यूटयूबमा आएपछि भने केही समय निर्माण टीमले तनाव झेल्नु परेको थियो ।

भैरव

‘एक्सन स्टार’ भनेर ख्याती कमाएका दमदार नायक निखिल उप्रेतिले निर्देशन गरेको चलचित्र भैरव ०७२ भर चर्चामा रहयो ।

भारतीय सिमाना नेपाली नागरीकले पाउने दुख, तराई क्षेत्रमा हुने गरेको चोरी–डकैती र तस्करीलाई नेपाल प्रहरीले देखाएको सच्चा राष्ट्रभक्तको कथालाई दर्शकले रुचाए । अनु शाह, मुरलीधरलगायतका कलाकारको प्रस्तुती पनि धेरैको रोजाइमा परयो । निखिलकै लेखन तथा निर्देशन रहेको भैरवले लगानी मजाले उठाएको छ ।

क्लासिक
दृष्टिबिहिनहरुको प्रेमकथा समेटिएको चलचित्र क्लासिकले पनि राम्रै व्यापार गर्न सफल भयो । दिनेश राउतले निर्देशक गरेको चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनयले दर्शकको मन तान्यो ।

सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा यस चलचित्रमा सांगीतिक प्रेमकथा जोडिएको छ । लगानी उठाउन सफल भएको चलचित्रले दर्शकको ताली पनि राम्रैसँग पायो ।

होस्टेल रिटर्न्स

अघिल्लो बर्ष हिट भएको होस्टेलको सिक्वेल होस्टेल रिटर्न्सले पनि ०७२मा राम्रै चर्चा बटुल्यो ।

सुरज भुषालले निर्देशन गरेको चलचित्रमा दिया मास्के, शशी र सुशील श्रेष्ठको अभिनयले राम्रै तारिफ पायो । सुनिल रावलले निर्माण गरेको यस चलचित्रले विदेशमा प्रदर्शन गरेर भए पनि लगानी उठायो ।

युवराज  

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर