newskoseli.Com

नेपालमा पहिलोपटक पम्प स्टोरेज बिजुली : बेगनासको पानी रूपामा खसाल्दै, रूपाबाट फेरि बेगनासमा तान्दै

नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो ।

पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनः बिजुलीकै सहयताले माथि तानेर फेरि विद्युत् उत्पादन गरिन्छ । छिमकी राष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सञ्चालनमा छन् ।

लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिव १ सयदेखि ३ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छन् । विद्युतको अध्याधिक माग हुने साँझको समयमा करिव ४ घन्टा चलाउन मिल्ने गरी पिक स्टोरेज बनाउने प्रस्ताव प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सारेका हुन् ।

आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत् माग पूरा गर्ने ब्याट्रीका रुपमा काम गर्न सक्ने प्राधिकरणको विश्वास छ । सरकारले फागुन ६ मा सार्वजनिक गरेको ऊर्जा सङ्कटकाल तथा कार्यान्वयन दशकसम्बन्धी अवधारणामा समेत पम्प स्टोरेज आयोजना अगाडि बढाउने विषय समावेश थियो ।

२०७५ असारमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणपछि पनि पिक आपरको विद्युत् माग पूरा गर्न गाह्रो हुने र ऊर्जाको विविधिकरणका लागि प्राधिकरणले पिक स्टोरेज निर्माण योजना अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार, बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर लामो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिनेछ ।

Pump_Storage_Hydro

पम्प स्टोरेज आयोजना निर्माणका लागि अध्ययन भइरहेको बताउँदै छिट्टै निष्कर्षमा पुगिने जानकारी कार्यकारी निर्देशक घिसिङले दिएका छन् । बेगनास तालको सञ्चित पानी त्यहींको प्राकृतिक बाँधमा प्रयोग गरी रुपा तालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले भने– ‘‘रुपा तालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिनेछ ।”

रुपा तालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुबै तालको हालको प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनै पनि प्रभाव नपार्ने अध्ययनले देखाएको छ । केही दिनअघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके सहितको प्राविधिक टोलीले आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गरेको कार्यकारी निर्देशक घिसिङले बताए ।

काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेट्रिक्स विभागका प्रा.डा. रमेशकुमार मास्के नेतृत्वको टोलीले केही वर्ष अघि गरेको अध्ययनले बेगनास–रुपा पम्प स्टोरेज जलविद्युत् आयोजनाबाट १ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो ।

आयोजनाबाट साँझको ५ घन्टा १ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ । विद्युत् उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिव १ सय २५ मेगावाट विद्युत् आवश्यक पर्नेछ । रातको समयमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर