newskoseli.Com

सरकारले २ करोड वटा एलर्इडी बल्ब किनेर ग्राहकलार्इ बाँड्ने

सरकारले २ करोड थान एलर्इडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले करिव २ सय मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलर्इडी बल्ब खरिद गर्ने निर्णय गरेको हो ।

देशभर कम बिजुली खपत गर्ने एलर्इडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट २ करोड थान एलर्इडी बल्ब किन्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिएको थियो ।

मन्त्रिपरिषद्मा ३ महिना पहिले पेस भएको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको समेत स्वीकृतिमा पारित गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

फागुन ३ मा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतले नेपाललाई सस्तो मूल्यमा एलर्इडी बल्ब उपलब्ध गराउने सहमति जनाएको थियो । प्राधिकरणले भारतको ऊर्जा मन्त्रालय अन्तर्गतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडबाट एलर्इडी बल्ब खरिद गर्ने योजना बनाएको छ ।

ग्राहकले विद्युतको महसुल तिर्न आउँदा नै बल्ब उपलब्ध गराउने प्राधिकरणको योजना रहेको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । प्रतिबल्ब भारतीय ६५ रुपैयाँ पर्ने भए पनि विभिन्न कर तथा भन्सार शुल्क जोड्दा नेपाली १ सय २५ रूपैयाँ पर्नेछ । खुला बजारमा सो बल्बको मूल्य ३ सय ५० देखि ४ सय रूपैयाँसम्म पर्ने गरेको छ ।

एलर्इडी बल्ब खरिदका लागि २ अर्ब रूपैयाँ खर्च हुने ऊर्जा मन्त्रालयको भनाइ छ । २ करोड थान एलर्इडी बल्ब वितरण गर्न सकिए २ सय मेगावाट विद्युत् बचत हुने र सरकारको ४० अर्ब रूपैयाँ बचत हुने बताइएको छ । ती बल्ब ७ र ९ वाटका हुनेछन् । प्राधिकरणका अनुसार एलर्इडी बल्बले ४ गुणासम्म बिजुली बचत गर्छ । १५ वाटको सीएफएलले दिने बराबरको प्रकाश ५ वाटको एलर्इडीले दिने प्रवक्ता अधिकारीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर