newskoseli.Com

‘मनोरञ्जन’ क्षेत्रमा देशभर ६० हजार महिला श्रमिक !

देशभर ६० हजार महिला श्रमिक ‘मनोरञ्जन’ क्षेत्रमा काम गर्ने गरेका छन् ।

चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले गरेको अध्ययनमा देशभर ३ हजार ५ सय ‘मनोरञ्जन’ क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौंको गोंगबु, कलङ्की, सुन्धारा, ठमेलका साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला उक्त क्षेत्रमा लागेको क्याप नेपालले जनाएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बन्ने गरेकोमा उनीहरुलाई कसरी सम्मानित जीवन यापनको वातावरण बनाउने भन्ने विषयमा क्याप नेपालले विगत १४ वर्षदेखि काम गरिरहेको छ ।

धेरै होटल, रेष्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोंगबु क्षेत्रमा काम गर्ने महिलाहरुका हकअधिकारका लागि क्याप नेपालले बिहीबार टोखाका जनप्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अशिक्षा, बेरोजगारी र न्यून चेतनाका कारण कतिपय महिला यौन हिंसाका शिकार बन्न पुगेको भन्दै यसलाई निरुत्साहित गर्न आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने– “बालहिंसा, महिला हिंसा, छाडा चौपाया नियन्त्रण हाम्राे प्राथमिकता हो ।”

उपप्रमुख ज्ञानमाया डङ्गोलले महिला हिंसा र बाल श्रमको प्रयोग कहाँ, कसरी भइरहेको छ भन्नेबारे नगरपालिकाले तथ्याङ्क सङ्कलन गर्ने र बाल श्रममा लगाउने तथा महिला हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने बताइन् ।

आफ्नो संस्थाले १४ वर्षदेखि बालहिंसा र महिला हिंसाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै क्याप नेपालका अध्यक्ष भुपाल ढकालले २५ जनालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा राखिएको बताए । भूकम्पपछि रोजगारीको समस्याका कारण विभिन्न सहरभित्र भित्रिएका महिला तथा बालबालिका बढी हिंसाको शिकार बन्न पुगेको क्याप नेपालले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर