newskoseli.Com

सौर्य प्रणाली जडानका लागि ३० प्रबर्द्धकलाई सर्वेक्षणको अनुमति

१ सय ८० मेगावाटको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ सरकारले ३० वटा प्रबर्द्धकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ ।

मिश्रित ऊर्जा प्रणाली जडान कार्य अगाडि बढाउने लक्ष्यका साथ सरकारले पछिल्लो पटक सौर्य ऊर्जाको विकास र विस्तारमा विशेष जोड दिएको छ । जलविद्युत् आयोजनालाई सहयोग पुर्‍याउने लक्ष्यका साथ सौर्य ऊर्जा प्रणालीको विकास र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउन लागिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले केही दिनभित्रैमा ६१ मेगावाटको सौर्य प्रणाली जडान गर्ने तयारी गरेका प्रवर्द्धकसँग विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले सबैभन्दा ठूलो ५० मेगावाट क्षमताको मानुङ्गाडाँडा सोलार प्लान्टलाई तनहुँमा सर्वेक्षणको अनुमति दिएको छ । सौर्य प्रणाली जडानमा निजी क्षेत्रसँगै नेपाल विद्युत् प्राधिकरणले पनि सर्वेक्षणको अनुमति पाएको छ ।

नुवाकोटको चारघरेमा ८–८ मेगावाटका दुईवटा प्रणाली र विदुरमा ३.५ मेगावाटको प्रणाली जडान गर्ने कार्यका लागि सर्वेक्षणको अनुमति दिइएको छ ।

निजी क्षेत्रको जलविद्युत् उत्पादक संस्था अपि पावरले मुलुकका विभिन्न ६ स्थानमा कूल २० मेगावाटको सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति पाएको छ । अपि पावरका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार बर्दघाट, ढल्केबर, सिमरा, दुहवीमा सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति पाएर ठेकेदार छनोटका लागि सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । विराटनगर र टङ्कीसिनवारीमा १०–१० मेगावाटका दुई वटा आयोजनाका लागि अनुमति दिइएको छ ।

लहानमा ग्रिड कनेक्टेड ४ मेगावाट, हेटौंडामा ४ मेगावाट, दुहवीमा ८ मेगावाट, लहमीमा ३ मेगावाटका आयोजना अगाडि बढाउने लक्ष्यका साथ सर्वेक्षणको अनुमति दिइएको विभागका सूचना अधिकृत एवम् सीडीई बाबुराज अधिकारीले जानकारी दिए । विभागले हालसम्म ३० वटा आयोजनाका लागि कूल १ सय ८० मेगावाटका सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति दिइएको छ भने केही आयोजनासँग विद्युत् खरिद सम्झौताको समेत तयारी छ ।

सरकारले जलविद्युत् आयोजनामा मात्रै ध्यान दिइएको भन्दै पछिल्लोपटक सौर्य ऊर्जा प्रणालीको विकासमा समेत विशेष जोड दिएको छ । सौर्य प्रणालीको विकासमा सरकारीभन्दा निजी क्षेत्रको बढ्ता जोड र चासो रहेको छ । निजी लगानीबाट आर्थिक वर्ष २०७४–७५ मा सौर्य प्रविधिबाट मात्रै ६१ मेगावाट सौर्य ऊर्जा उत्पादकसँग विद्युत् खरिद सम्झौताको तयारी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्राधिकरणले २१ वटा सौर्य ऊर्जा उत्पादकसँग केही दिनभित्रै उक्त सम्झौता गर्न लागेको हो । सरकारले ऊर्जा सङ्कट कार्ययोजनाअन्तर्गत विद्युत्भार कटौती अन्त्यका लागि सौर्य प्रविधिबाट बिजुली उत्पादनको तयारी गरेको छ । सौर्य ऊर्जा खरिदको आधार दर तय भएकाले सोही आधारमा उनीहरूसँग सम्झौता गर्न लागिएको हो । प्राधिकरणले प्रतियुनिट ९ रूपैयाँ ६० पैसा खरिद दर निर्धारण गरेको भए पनि प्रतिस्पर्धा गर्दा निजी उत्पादकले ८ रूपैयाँ ४५ पैसासम्ममा सौर्य बिजुली बेच्ने प्रस्ताव गरेका छन् ।

सरकारले ‘उज्यालो नेपाल अभियान’ अन्तर्गत आगामी ७ वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको सन्दर्भमा सौर्य प्रणालीलाई विशेष जोड दिइएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर