newskoseli.Com

कुलमानकै गृहजिल्लामा छैन बिजुली, टुकीको भरमा नगरपालिकाका विपन्न वस्ती

रामेछाप नगरपालिकाका विपन्न वस्तीहरुमा अहिलेसम्म पनि बिजुली बत्ती बल्न सकेको छैन । साधन–स्रोत र पहुँचको अभावमा उक्त वस्तीका वासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न नपाएका  हुन् ।

जिल्लाको ऐतिहासिक थातथलो र पुरानो सदरमुकाम समेत रहेको रामेछापलाई नगरपालिका घोषणा गरिए पनि सबै ठाउँमा अझै बिजुली पुगेको छैन । रामेछाप नगरपालिका– ७ का मुढेखोला, मिम्लेखोला, गुर्दमडाँडा, रजयछाप र धनेघाटका घरपरिवार बिजुली बत्ती बाल्नबाट वञ्चित छन् ।

‘लोडसेडिङमुक्त’ जिल्ला भएर पनि यहाँका वासिन्दाको घरमा अझै पनि बिजुली बलेको छैन । नगरपालिकाभित्र विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका अत्यावश्कीय सेवा–वस्तुको अभावले रामेछाप नगरपालिकालाई गिज्याइरहेका छन् ।

‘७ वर्ष अघिदेखि नै विद्युतीकरणको काम सुरु भए पनि हाम्रो गाउँ अझैसम्म अँध्यारोमै रुमल्लिइरहनु दुभाग्यपूर्ण कुरा हो’, स्थानीयवासी लक्ष्मण श्रेष्ठले भने– ‘थुम्का भन्ने ठाउँबाट सुरु गर्नुपर्ने भए पनि करिब ३ किलोमिटर तल मुढेखोलाबाट पोल गाड्ने काम थालिएको थियो । बीचको भाग थुम्कादेखि मुढेखोलासम्म दुई वर्षअघि जिल्ला विकास समितिको सहयोगमा पोल गाड्ने काम सम्पन्न भए पनि तार र ट्रान्समिटरको व्यवस्था हुन नसक्दा बिजुली बल्न सकेको छैन ।’

प्राधिकरणले बिजुली बल्ने आश्वासन दिएको लामो समय बितिसक्दा पनि आफूहरु अँध्यारोमै बस्न बाध्य भएको स्थानीयको गुनासो छ । विद्युत् प्राधिकरण कार्यालयबाट पटक–पटक आश्वासन पाए पनि बिजुली बाल्न नपाएको बताउदै श्रेष्ठले भने– ‘पोल त आयो तर तार र ट्रान्समिटर आएन, पोल हेरेर चित्त बुझाउन बाध्य छौं ।’

विद्युतीकरण हुन बाँकी ३३ गाविसमा दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने गरी विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङ नै जिल्लावासी भएकाले समेत बाँकी गाउँहरुमा चाँडै नै विद्युतीरण हुनेमा बिजुली बाल्न नपाएका रामेछापेलीहरु आशावादी छन् । उनीहरुले कुलमानलाई भेटेरै गुनासो गर्ने भएका छन् ।

यस्तो समस्या रामेछाप नगरपालिकामा मात्र नभई मन्थली नगरपालिकाका केही वडा र अन्य गाउँपालिकामा पनि रहेको विद्युत् प्राधिकरण रामेछापले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर