newskoseli.Com

८ दिनदेखि अन्धकारमा माडी

दक्षिणी चितवनको माडीका बासिन्दा ८ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएकाले असार ५ देखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोत–साधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मगाइएको छ”, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भने । समस्या पत्ता लगाउन नसकिएपछि अहिले भारतबाट मेसिन मगाइएको जानकारी केन्द्रका विद्युत् प्राविधिक तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवरले दिए ।

मेसिन आएपछि परीक्षण गरेर खराबी पत्ता लाग्ने र त्यसपछि मर्मत हुने भएकाले अझै केही दिन माडीमा विद्युत् सञ्चालन नहुने उनले बताए । गर्मीको समयमा विद्युत् नहुँदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउँछन् । पोल गाडेको दशकौंपछि बल्लतल्ल मङ्सिरदेखि विद्युत् बाल्न सुरु भएको हो ।

विद्युत् सञ्चालनका लागि २०५७ मा ५० लाख रूपैयाँ खर्चेर माडीमा गाडिएका पोल जीर्ण हुँदा समेत बिजुली बल्नुको साटो तार र पोल कुहिए । २०६७ देखि नयाँ परियोजना आएर काम थालेको हो । भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा नयाँ परियोजना सञ्चालन भएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताउँछन् ।

भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनामार्फत माडीमा पहिलोपटक २०६३ कात्तिकमा विद्युत् पुगेको थियो । मङ्सिर ४ देखि विद्युत् सञ्चालन भएको माडीमा अहिले झन्डै ४ हजार ग्राहक भइसकेका छन् । विद्युत् नहुँदा उनीहरु ८ दिनदेखि टुकी र सोलारको भरमा बस्न बाध्य भएका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले विद्युत् प्राधिकरणमा बिजुली सञ्चालनका लागि दबाब दिइरहेको भए पनि अझैसम्म मर्मत हुन नसकेको बताए । यसअघि परीक्षण प्रसारणका बेलामा पनि चितवन निकुञ्जको अन्डरग्राउन्ड क्षेत्रमा पटक–पटक खराबी देखिँदै आएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर