newskoseli.Com

झन्डै ७ घन्टा दैनिक लोडसेडिङ ! खतराबाट जोगियो काठमाडौं…

काठमाडौं उपत्यकाको एक तिहाईभन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भासिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनर्निर्माण गरिएको छ ।

प्राधिकरणका अनुसार मर्स्याङ्दी–काठमाडौं १ सय ३२ केभी प्रसारण लाइनको टावर नं. १७९ गोरखा भूकम्पको क्रममा भासिएको थियो  । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनर्निर्माणका लागि ९२ दिन लाग्याे ।

सिग्मा कोन प्रालिले सो टावरको मर्मत गरेको हो । मर्मतका लागि २ करोड ७० लाख रूपैयाँ खर्च भएको छ । प्राधिकरणले १७८ र १८० नम्बरको नयाँ टावर निर्माण गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विभिन्नस्तरका पर्खाल लगाउने तथा अन्य सुरक्षात्मक उपाय अपनाएर टावरको सुरक्षा गरिए पनि दिगो रुपमा नयाँ टावर नै राख्न विगत दुई दिनदेखि विद्युत् कटौती गरेर पुनर्निर्माण गरिएको जानकारी दिए ।

यो प्रसारण लाइनले मर्स्याङ्दी कोरिडोरबाट १ सय १० मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ । काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ३ सय १० मेगावाट छ । त्यसमध्ये मर्स्याङ्दी कोरिडोरबाट एक तिहाई विद्युत् काठमाडौं आपूर्ति हुँदै आएको छ । हिउँदको समयमा सो टावरको पुनर्निर्माण गर्नेतर्फ लाग्दा विद्युतभार कटौती गर्नुपर्ने भएकाले बर्खाको समय नै छानिएको प्राधिकरणको भनाइ छ ।

विगतमा प्राधिरकणको व्यवस्थापनले ध्यान नदिएको उक्त टावर मर्मतमा थप ढिलाई गरिएको भए उपत्यकामा दैनिक सात घन्टा विद्युतभार कटौती गर्नुपर्ने भयावह अवस्था आउने थियो । प्राधिकरणका प्रवक्ता अधिकारीले ग्राहकलाई जानकारी नै नदिर्इकन प्राधिकरणले मर्मत कार्य सम्पन्न गरेकाले विद्युत् आयातमा रहेको जोखिम समाधान भएको बताए ।

गत हिउँदमा नै टावर मर्मत गर्ने कार्य अगाडि बढाउन खोजिएको भए पनि विद्युतभार कटौती अन्त्य भइसकेको सन्दर्भमा पुनः विद्युत् कटौती गर्दा राम्रो सन्देश नजाने र ‘अँध्यारो’ को खेती गर्नेले फाइदा लिने भएकाले बर्खा लागेपछि मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ । टावर मर्मत कार्य सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्च टोली कार्यस्थलमा पुगेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

“विगत दुई वर्षभन्दा बढी समयदेखिको जोखिम हटेको छ, हावाहुरी चल्दा समेत लौ के होला, कतै काठमाडौंमा विद्युत् कटौती त हुने होइन भन्ने आशंका निवारण भएको छ”–प्रवक्ता अधिकारीले भने– “प्राधिकरणले ठूलो जोखिमबाट मुक्ति पाएको छ ।” जुनसुकै बेला काठमाडौं उपत्यका अन्धकार हुने खतराबाट जोगिएको जानकारी दिँदै उनले समस्यामा रहेका अन्य टावरलाई समेत क्रमशः मर्मत गर्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर