
२६ युवाले २६ वर्षअघि दैनिक १ मोहर (पचास पैसा) संकलन गरेर स्थापना गरेको गैंडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थाको पुँजी अहिले २ अर्ब ५० करोड रूपैयाँ पुगेको छ ।
२०४८ भदौ ५ मा स्थानीय २६ युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकम मात्रै २२ करोड रूपैयाँ पुगेको छ भने निक्षेप २ अर्ब रूपैयाँ र लगानी पनि २ अर्ब रूपैयाँ पुगेको छ । संस्थाको पुँजी मात्रै बढेको होइन, यसका सदस्य पनि करोडौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यस्ता प्रशस्त उदाहरण भेटिन्छन्, जसमध्ये एउटा पात्र रहेका छन् गैंडाकोट नगरपालिका– १४, अमरापुरीका धनपति शर्मा ज्ञवाली ।
दायाँ हात गुमाएका ज्ञवालीले कतैबाट पनि ऋण नपाएपछि बिकु सहकारीमा पुगे । उनको आफ्नै कथा छ । हात नभएकालाई कसले ऋण दिन्छ भन्ने ठूला बैंकको जवाफपछि उनी गैंडाकोटस्थित बिकुमा पुग्नेका थिए । २०६३ मा उनको एक टुक्रा घडेरी थियो । त्यसको पनि ऋण तिर्न बाँकी नै थियो । अपांग भए पनि साहस लिएर बिकु पुगेका उनले कुखुरापालनका लागि सहजै २ लाख रूपैयाँ ऋण पाए । आज उनीसँग करोडौं रुपैयाँ बराबरको सम्पत्ति छ । यसको श्रेय बिकु सहकारीलाई जान्छ ।
“मैले लाखौं रुपैयाँ बिकुसँग ऋण लिएँ, कुखुरापालन गरें र आम्दानीबाट जग्गा पनि किनें”, उनले भने– “अहिले मेरो ऋण छैन, कुखुरा पालेको ठाउँमा पाँच कट्ठा १० धुर जग्गा छ, बिक्री गर्यो भने २ करोड रूपैयाँ आउँछ, अरु ठाउँमा पनि घडेरी छन्, बिक्री गर्दा ५० लाख रूपैयाँ आउला ।” यो सबै सम्पत्ति आर्जन गर्न उनलाई बिकु सहकारीले नै साथ दिएको हो ।
धेरै युवालाई करोडपति बनाएको बिकु सहकारीको सुरुअात विजय युवा क्लब क्रेडिट युनियनबाट भएको हो । पछि सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ अन्तर्गत २०५० मा जिल्ला सहकारी कार्यालयमा दर्ता भएको थियो । यस अभियानमा जुट्ने युवा २०३६ बाटै संगठित भएर समाजसेवामा जुटिरहेका थिए । उनीहरुलाई विजय युवा क्लबले संस्थागत बनाएको हो ।
सुरुमा विजय युवा क्लब पुस्तकालयका रुपमा स्थापना गरिएको थियो । यसको उद्देश्य चेतना फैलाउने र समाजको रुपान्तरणका लागि युवा परिचालन गर्नु रहेको संस्थाका उत्प्रेरक तथा समाजसेवी तिलकप्रसाद सापकोटाले बताए । उक्त क्लब विजय विकास स्रोत केन्द्रका नामले देश र विदेशमा परिचित छ । यसले बिकुजस्तै ६ वटा संस्था जन्माएको छ ।
बिकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलका अनुसार अहिले यस संस्थाले १० वटा सेवा केन्द्रमार्फत जिल्लाका विभिन्न ठाउँमा सेवा दिँदै आएको छ । संस्थाले एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा सञ्चालित एक्सेस कार्यक्रमको दोस्रो ब्याचमा सहभागी भई एशियास्तरको ब्रान्ड प्राप्त गरिसकेको पौडेलले बताए ।
संस्थाले एसएमएस बैंकिङ मात्रै होइन, एटीएम कार्डबाट स्वाइप गरी रकम निकाल्न सकिने सेवा पनि सञ्चालन गरेको छ । संस्थाले ३६५ दिन नै बैंकिङ सेवा, सन्ध्याकालीन काउन्टर सेवा, विद्युतको बिल भुक्तानी सेवा, मोबाइल काउन्टर सेवा, ट्याबलेट बैंकिङ सेवा र वित्तीय परामर्श सेवा पनि दिँदै आएको छ ।
विजय विकासका अध्यक्ष एवं बिकुका संस्थापक अध्यक्ष खेमराज सापकोटा विगतको स्मरण गर्दै भन्छन्– “सुरु–सुरुमा ५० पैसाले विकास गर्छाैं भन्ने एक मोहोरे विकास भनेर हाम्रो खिल्ली उडाउने गर्थे । तर, हामी निराश भएनौं, अभियान जारी राख्यौं, हामीले भन्दै गयौं– एक कप चिया घटाउनुहोस्, हामीलाई ५० पैसा दिनुहोस्, हामी सभ्य समाज निर्माणमा सहयोग पुर्याउँछौं ।”
विजय विकास स्रोत केन्द्रका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालका अनुसार केन्द्रले बिकुसँगै विजय सामुदायिक शिक्षा सदनमार्फत नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ गरिरहेको छ । विजय सूचना तथा सञ्चार सहकारीमार्फत विजय एफएम सञ्चालन गरिरहेको छ । विजय लघुवित्त वित्तीय संस्थामार्फत देशका विभिन्न ठाउँमा वित्तीय सेवा दिइरहेको छ । पछिल्लो समय विजय कन्सल्टिङ कम्पनी प्रा.लि. र विजय फाउन्डेसन नेपालमार्फत सामाजिक सेवा गर्दै आएको छ ।
विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्सालका अनुसार केन्द्रले अहिले पनि ४४ जिल्लामा कृषिसँगै अन्य कार्यक्रम लिएर समाज रुपान्तरणको काम गर्दै आएको छ । विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरका अनुसार केन्द्रले प्रवर्द्धन गरेका संस्था स्वायत्त रुपमा सञ्चालनमा छन् । यी संस्थामार्फत एक लाखभन्दा बढी प्रत्यक्ष रुपमा लाभान्वित भएको मानन्धर बताउँछन् । नयाँ–नयाँ संस्था गठन गरी समाजको आवश्यकता पूर्ति गर्न केन्द्र लागिपरेको उनको भनाइ छ ।