newskoseli.Com

‘टान’ को २ वर्षे कार्यकाल विवादैविवादमा सकिँदै

ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन ।

आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवर्द्धनात्मक कार्यलाई असर पुगेको छ । टान नेतृत्व र कोषाध्यक्षबीच बैंक खाताको विषयमा जुहारी चल्दै आएको छ । टानको आर्थिक स्रोत परिचालन गर्दा टान अध्यक्ष वा महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर चाहिने व्यवस्था विधानतः भए पनि टान अध्यक्ष चन्द्र रिजाल तथा महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप कोषाध्यक्ष लीलाबल्लभ दाहाल ‘काका’ ले लगाएका छन् ।

उक्त व्यवस्था विपरित सहकोषाध्यक्षको हस्ताक्षर चलाउन सकिने सहमति भएको भन्दै अध्यक्ष र महासचिवले सनराइज बैंकमा खाता समेत सञ्चालन गरेकोमा कोषाध्यक्षको गम्भीर असन्तुष्टि छ । बैंक खाता सम्बन्धमा टान नेतृत्वले प्रष्ट जवाफ दिनुपर्ने भन्दै यदि विधानको निरन्तर उल्लङ्घन गरिए सर्वोच्च अदालत र अख्तियारमा जाने चेतावनी समेत कोषाध्यक्ष दाहालले दिएका छन् ।

अध्यक्ष रिजालले भने कोषाध्यक्षले नेतृत्वमा आएदेखि नै विवाद झिकेर संस्थालाई कमजोर बनाएको आरोप लगाएका छन् । “सुरुमा ५ हजार रकम दिने विषयदेखि नै उहाँ (कोषाध्यक्ष) ले विवाद झिक्नु भएको थियो”– उनले भने ।

“ठूलो कुरा आर्थिक नै हो, आर्थिक कुरा रोकिएपछि टानका सबै गतिविधि प्रभावित भएका छन् । उहाँले चेकमा हस्ताक्षर गर्न अझै मान्नुभएको छैन, अब विधानअनुसार अघि बढ्छौं”– अध्यक्ष रिजालले भने । उनका अनुसार टानको दैनिक प्रशासनिक खर्च, विज्ञापन, कर्मचारीको सुविधाका साथै पदयात्रा प्रवर्द्धनलगायतका काममा समस्या आएको छ ।

टानले गर्ने कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिवमध्ये कुनै एक तर कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुनुपर्ने प्रावधान टानको विधानमा छ । चन्द्र रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई आग्रह गरेको बताइन्छ। उक्त प्रस्ताव कोषाध्यक्षले अस्वीकार गरेपछि नेतृत्वले कोषाध्यक्षको अधिकार कटौती गर्ने गरी विधान संशोधन गर्ने प्रयास गरेको उनको आरोप छ ।

टिम्स ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली’ कार्ड कोषको रकम हिनामिना गर्न खोजेकाले त्यसलाई रोक्न आफूले हस्ताक्षर नगरेको कोषाध्यक्ष दाहाल बताउँछन् । “टिम्सको पैसा अफिसको भाडा तिर्न र कर्मचारीलाई तलब दिन मात्र मिल्छ तर नेतृत्वले सो रकमबाट टानको साधारणसभा र होटलमा भएका अन्य कार्यक्रमको पैसा तिर्न खोजेकाले हस्ताक्षर नगरेको हुँ”– उनले भने ।

पछिल्लो समय टान आर्थिक संकटमा फस्दै गएपछि कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने गरी अघि बढेको तर रकमान्तर गरेर भए पनि खर्च गर्ने ध्याउन्नमा नेतृत्व लागेको बताइन्छ । विवादका बीच पनि अन्य संस्थासँगको सम्बन्ध सुमधुर बनाउन सफल भएको टानले जनाएको छ । अहिले नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल, होटेल एसोसिएसन अफ नेपाललगायतका संस्थासँग टानले सम्बन्ध सुधारेको अध्यक्ष रिजालको भनाइ छ ।

टानमा अहिले करिव १ हजार ६ सय ट्रेकिङ कम्पनी आवद्ध छन् । दुईवर्षे कार्यकालमा टानको सचिवालय व्यवस्थापन र प्रशासन सुधार गर्नुका साथै नवीकरण नगरी सञ्चालित करिव २ सय ट्रेकिङ कम्पनीको नवीकरण रोकिएको टानले जनाएको छ । टानले लाङटाङ म्याराथन बाहेक अन्य कुनै उल्लेखनीय प्रवर्द्धनात्मक काम गर्न सकेको छैन । अहिलेको नेतृत्वको २ वर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर