newskoseli.Com

१ सय ४१ रनले नेपाल पराजित…

सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू– १९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा नेपाल अफगानिस्तानद्वारा १ सय ४१ रनले पराजित भएको छ ।

अफगानिस्तानले नेपाललाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बनायो । नेपालले खराब सुरुअात गर्‍यो । उन्नार्इस रन बनाउँदा १०।१ ओभर मात्रैमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमायो ।

पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी ३ चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलसामु धरासायी भए । ४ जना खेलाडी शून्यमै आउट भए ।

अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले ४–४ विकेट लिए । जर्दानले ९ ओभरमा ५ मेडन राखी ७ रन मात्रै खर्चे । नवीनले ४ ओभरमा १ मेडन राखेर ८ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौं बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९।४ ओभरमा सवै विकेट गुमाउँदै १ सय ९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इब्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै १ छक्का र ५ चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नवीन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले ३ विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई–दुई विकेट लिए । सर्राफले ७ ओभरमा २ मेडन राखी १९ रन तथा सन्दिपले ९।४ ओभर बलिङ गर्दै २ मेडन राखी ३० रन दिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुर तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर