
एउटै जिल्लामा अलैंचीका २५ लाखभन्दा बढी बिरुवा बिक्री भएका छन् । विभिन्न नर्सरीबाट २ करोडभन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैंची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिएका छन् ।
विभिन्न नर्सरीमा करिव ७० लाख बिरुवा उत्पादन भएका थिए । अलैंची रोप्न साउन महिना उपयुक्त समय हो । बिरुवा बिक्रीको क्रम अझै जारी नै छ । यहाँबाट स्याङ्जा, गोरखा, धादिङ, कास्की, बागलुङ, म्याग्दीलगायत जिल्लामा अलैंचीका बिरुवा निकासी भए । बिरुवा बिक्री–वितरणका लागि जिल्ला कृषि विकास कार्यालयलगायत सङ्घ–संस्थाले समन्वय गर्दै आएका छन् ।
अलैंची विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीको टोलीले जिल्लाको छिनखोला, भुष्मे र नयाँगाउँमा अनुगमन गरेको थियो । कृषकले अलैंची बगान व्यवस्थापनमा ध्यान नदिएकाले पुराना बोटमा समस्या देखिएको अधिकारीले बताए ।
“केही ठाउँमा बाक्लो छहारी भई आवश्यक तापक्रम नपुग्दा बोटमा ढुसी लागेको पाइयो”, उनले भने– “रोग लागेको होइन, बढी चिस्यानले ढुसी लागेको हो ।” पुरानो बगैंचा भएकाले पनि पुराना बोटमा समस्या देखिएको हो । अलैंची बगानमा छहारी पातलो बनाउन र गोडमेलमा ध्यान दिन उनको सुझाव छ ।