newskoseli.Com

नेयमारको मूल्य २ करोड ६४ लाख डलर, २ वर्षमा दोब्बर हुने पीएसजीको दावी

पेरिस साँ जाँमा (पीएसजी) का अध्यक्ष नासेर अल खेलाफीले शुक्रबार क्लब परिवर्तनका लागि विश्व रेकर्ड कायम गरेका ब्राजिलियाली विश्वप्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई वर्षभित्र दोब्बर हुने बताएका छन् ।

स्पेनी फुटबल क्लब बार्सिलोनाबाट २ करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल्क तिरेर पीएसजीले नेयमारलाई भित्र्याएको हो । यो स्थानान्तरण रकम अहिलेसम्मकै उच्च शुल्क हो ।

२५ वर्षीय ब्राजिलियाली फुटबल अग्रपंक्तिका खेलाडीको स्पेनी क्लबबाट हुने स्थानान्तरण शुल्कले विश्वलाई आश्चर्यमा पारेको छ । यस अघिको रेकर्डमा सबैभन्दा बढी स्थानान्तरण शुल्क फ्रान्सका नागरिक पाउल पोग्वालाई म्यानचेस्टर युनाइटेडले तिरेको थियो । उक्त शुल्क नेयमारको अहिलेको शुल्कको तुलनामा आधा मात्र थियो ।

नेयमारको साथमा शुक्रबार पत्रकार सम्मेलनमा सहभागी भएका अल खेलाफीले भने– “विश्वमा दुई नेयमार छैनन् । आगामी दुई वर्षमा हामी भेट हुँदा नेयमारको मूल्य (ख्याति) कति हुनेछ भन्ने विषयमा तपाईंहरूलाई म बताउन चाहन्छु । हेर्दै जानोस्, कम्तिमा पनि दोब्बर हुनेछ ।”

पीएसजीसँग अनुबन्ध भएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै नेयमारले भने– “मैले अाफू चुनौती भोग्न तयार रहेको महशुस गरेको छु । नयाँ समूहका मेरा साथीहरुलाई सहयोग गर्न मैले आजैदेखि हर कुरा गर्नेछु ।”

बार्सिलोनालाई छाड्ने निर्णय लिन निकै कठीन भएको जनाउँदै नेयमारले क्लब र क्लबसम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । पीएसजी गत च्याम्पियन्स लिगमा अन्तिम ८ मा परेको थियो ।

हप्तौंदेखिको अनुमानपछि बुधबार अभ्यासका लागि बार्सिलोनामा पुगे पनि नेयमारले सोही दिन स्पेनको बार्सिलोना क्लब छाड्ने कुरा बताएका थिए । बार्सिलोनाले नेयमारलाई आफ्नो भविष्य रोज्ने छुट भएको बताए पनि उनले बार्सिलोना क्लब छोड्दा तिर्नुपर्ने रकमका विषयमा भने निकै विवाद गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर