newskoseli.Com

ग्राहकले ७ दिनभित्र मिटर नपाए प्राधिकरणका कर्मचारीमाथि कारबाही

ग्राहकले अावेदन दिएकाे ७ दिनभित्र नेपाल विद्युत् प्राधिकरणको मिटर उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ ।

ऊर्जा मन्त्रालयले प्राधिकरण र प्राधिकरणका मुलुकभरका सबै शाखा कार्यालयलाई भदौ ८ मा निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हाे ।

मिटर नपाएका कारण ग्राहकले विद्युत् बाल्नकै लागि हुकिङ गर्ने गरेको चर्को गुनासो आएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ग्राहकले माग गर्नेबित्तिकै मिटर उपलब्ध गराउन र उपलब्ध गराउन नसके चित्तबुझ्दो कारणसहित प्राधिकरणलाई जानकारी गराउन तथा त्यसको सूचना मन्त्रालयलाई समेत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ग्राहकले मिटर पाए–नपाएको जानकारी लिन मन्त्रालयले इन्जिनियर आकाश शाहको संयोजकत्वमा अनुगमन समिति समेत बनाएको छ । मन्त्रालयको पछिल्लो निर्देशन अनुसार ग्राहकलाई साधारण मिटर ७ दिनभित्र, थ्री फेज मिटर १५ दिनभित्र र उद्योगमा जडान हुने टीओडी मिटर ३० दिनभित्र उपलब्ध गराउनै पर्नेछ । सो अवधिभित्र उपलब्ध नगराइए तथा चित्तबुझ्दो कारण पेस नगरे सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाहीको दायरामा ल्याइनेछ ।

प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मिटर माग हुने क्षेत्रमा कुलेश्वर वितरण केन्द्र, बालाजु वितरण केन्द्र, महराजगञ्ज वितरण केन्द्र र बानेश्वर वितरण केन्द्र रहेका छन् । बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाहीजस्ता जिल्लामा पनि बढी मात्रामा मिटरको माग हुने गरेको छ ।

Kulman Ghishing
कार्यकारी निर्देशक कुलमान घिसिङ

प्राधिकरणको क्षेत्रीय कार्यालयले मिटर परीक्षण नभएको भन्दै समयमा नै वितरण केन्द्रलाई उपलब्ध नगराउने र उपभोक्तालाई हुकिङ गर्न मद्दत गर्ने गरेको गुनासो बढी आएपछि मन्त्रालयले कडाइका साथ निर्देशन दिएको ऊर्जामन्त्री शाहीको भनाइ छ ।

कुनै पनि वितरण केन्द्रमा मिटर अभाव हुन नदिइएको र माग आउनेबित्तिकै उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउँछन् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । कुनै ग्राहकले मिटर पाइन भनेर खबर मात्रै गर्‍यो भने सम्बन्धित वितरण केन्द्रका कर्मचारी कारबाहीको दायरामा आउने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्राधिकरणको जिन्सी व्यवस्था महाशाखाका प्रमुख नुतनदेव भट्टराईका अनुसार २ लाख थान साधारण मिटर मौज्दात छ । उनका अनुसार विराटनगर क्षेत्रीय कार्यालयमा २८ हजार ५ सय, जनकपुरमा २८ हजार ५ सय, हेटौंडामा १५ हजार, बुटवलमा १५ हजार, पोखरामा १५ हजार, नेपालगञ्जमा २० हजार र अत्तरिया क्षेत्रीय कार्यालयमा १५ हजार थान मिटर उपलब्ध छन् ।

काठमाडौंका लागि मात्रै २३ हजार मिटर उपलब्ध गराइएको छ । केन्द्रीय कार्यालय मातहत ४० हजार मिटर मौज्दात छन् । प्राधिकरणका अनुसार थ्री फेज मिटर १३ हजार ५ सय र टीओडी मिटर ३ हजार ३ सय थान मौज्दात छन् ।

बालाजु वितरण केन्द्रका प्रमुख किरणराज तिमल्सेनाले दैनिक दस वटासम्म मिटरको माग हुने गरेको जानकारी दिए । ग्राहकले माग गर्नेबित्तिकै कागजात पुगेका ग्राहकलाई तत्काल नै मिटर दिने गरिएको र कुनै गुनासो नरहेको उनले बताए । मन्त्रालयले मिटर उपलब्ध गराउन प्रभावकारी कदम चाले पनि प्राधिकरणका कर्मचारीले दुःख दिएको र घूस मागेको गुनासो आउने गरेको इन्जिनियर शाहले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको हेल्लो सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मिटर नपाइएको र कर्मचारीले घूस मागेको भन्दै दैनिक सरदर तीनवटा उजुरी पर्ने गरेका छन् । ग्राहकको उजुरीलाई लिएर सम्बन्धित कर्मचारीलाई कडा कारबाही नहुँदा समस्या जहाँको तहीं छ । मिटर नदिए सम्बन्धित कर्मचारी कारबाहीको भागिदार हुने भन्दै ऊर्जा मन्त्रालयले नै कडा निर्देशन दिएपछि मिटर वितरणमा सुधार आउने विश्वास लिइएको छ ।

चौबीसै घन्टा कर्मचारी राख्न निर्देशन

प्राधिकरणका सबै कार्यालयमा चौबीसै घन्टा कर्मचारी रहने व्यवस्था गर्न समेत ऊर्जामन्त्री शाहीले निर्देशन दिएका छन् । नो लाइटमा फोन नउठेको र ग्राहकले फोन गर्दा राम्रोसँग सम्बोधन गरेको नपाइए पनि सम्बन्धित कर्मचारी कारबाहीको भागिदार बन्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर