newskoseli.Com

समस्यैसमस्याको घेराबन्दीमा विद्युत प्राधिकरणका प्रायः आयोजना

विद्युत् संकट समाधान गर्ने भन्दै सरकारले ५ वर्षदेखि प्राथमिकतामा राखेर अगाडि बढाएका नेपाल विद्युत् प्राधिकरण र मातहतका आयोजनामध्ये केहीको मात्रै प्रगति सन्तोषजनक रहेको पाइएको छ ।

प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मात्रै आर्थिक र भौतिक प्रगति ९० प्रतिशतभन्दा माथि रहे पनि अन्य ९ वटा आयोजना कछुवागतिमा मात्रै अगाडि बढिरहेका छन् ।

कूल ४ सय ५६ मेगावाटको सो आयोजनाको पहिलो युनिट असारमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणले अगाडि बढाएको चमेलिया जलविद्युत् आयोजना १५ वर्षपछि बल्ल आएर परीक्षण उत्पादन गर्ने चरणमा पुगेको छ । संसदीय समिति र राजनीतिक दलको खिचातानीमा परेको सो आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको विशेष पहलमा निर्माण सम्पन्न हुने चरणमा पुगेको हो ।

कुलेखानी तेस्रो जलविद्युत् आयोजना प्राधिकरणका लागि ‘खाऊँ भने दिनभरिको शिकार, नखाऊँ भने कान्छा बाउको अनुहार’ मा परिणत भएको छ । कूल १४ मेगावाटको सो आयोजनाको म्याद मात्रै ७ पटक थप गरिसकिएको छ । चिनियाँ ठेकेदारको बदमासी र स्थानीय सहायक ठेकेदार गोल्छा अर्गनाइजेसनले जिम्मेवारी पूरा नगर्दा कहिले पूरा हुने, कुनै ठेगान नै छैन ।

म्याग्दीमा आयोजनास्थल रहेको राहुघाट जलविद्युत् आयोजनामा भारतीय ठेकेदारले बीचैमा काम छाडेर हिँडेपछि पुनः ठेक्का प्रक्रिया सुरु भएको छ । ३२ मेगावाटको सो आयोजनाको क्षमता वृद्धि गरेर ४० मेगावाट पुर्‍याइएको छ । कम्पनी ढाँचामा अगाडि बढाउन लागिएको राहुघाटको निर्माण आगामी वर्षदेखि मात्रै सुरु हुने स्थिति छ ।

प्राधिकरणकै अर्को महत्वपूर्ण आयोजना माथिल्लो त्रिशूली ‘थ्री ए’ भूकम्प र नाकाबन्दीपछि ठेकेदारसँग सहमति जुटाउन लामो समय लागेका कारण बल्ल पुनर्निर्माण सुरु भएको छ । ६० मेगावाटको सो आयोजना सम्पन्न हुन अझै दुई वर्ष लाग्ने प्रक्षेपण गरिएको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे मातहत रहेका तल्लो साञ्जेन, माथिल्लो सञ्जेन, रसुवागढी र मध्यभोटेकोशीमध्ये माथिल्लो साञ्जेनको मात्रै कार्यप्रगति गतिमा रहेको छ, अन्य आयोजना सामान्य रुपमा अगाडि बढेको भन्दै असन्तुष्टि कायमै छ ।

प्राधिकरणकै सहायक कम्पनीले अगाडि बढाएको तनहुँ सेती जलविद्युत् आयोजना ठेक्का छनोटको प्रक्रियामा छ । प्राधिकरण र नेपाल टेलिकमले अगाडि बढाउन लागेको माथिल्लो त्रिशूली ‘थ्री बी’ ठेक्का छनोटको क्रममा छ । प्राधिकरण र उसको मातहतमा रहेका कम्पनीबाट कूल १ हजार ३९ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

प्राधिकरणकै तथ्यांकलाई विश्लेषण गर्ने हो भने चमेलिया ३० मेगावाट मात्रै यस वर्ष निर्माण सम्पन्न हुने अवस्थामा छ । ठेकेदारले काम गरिदिएको खण्डमा मात्रै कुलेखानी तेस्रो चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुन सक्छ । प्राधिकरणले विशेष रुपमा ध्यान दिएर आयोजनालाई अगाडि बढाएको जानकारी दिँदै केही आयोजना अबको केही समयभित्रे सम्पन्न हुने विश्वास व्यक्त गर्छन् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनीले निर्माण गरिरहेका आयोजना तोकिएको समयमा पूरा नहुने स्थिति देखिएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सबै आयोजनाका प्रमुखलाई बोलाएर समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । ऊर्जामन्त्री शाहीले जलविद्युत् आयोजनामा देखिएका समस्याबारे आफू गम्भीर रहेको बताएका छन् । ‘तोकिएकै समयमा आयोजनाको निर्माण सम्पन्न हुनुपर्छ, समस्या भए समाधानको उपाय खोज्नुपर्छ, होइन भने कुनै बहानाबाजी गर्न पाइदैन’– उनले भने ।

आयोजनाका प्रमुखले भने पुरानै समस्याको चाङ देखाएको भन्दै मन्त्री शाहीले आपत्ति जनाएका छन् । वन क्षेत्रको जग्गा प्राप्ति, मुआब्जा वितरण, ठेकेदारले निम्त्याएका समस्या प्रस्तुत गर्ने प्रचलन जलविद्युत् आयोजनाको हकमा पुरानो होइन । नेपालको हकमा खरिद प्रक्रियामा रहेका कमजोरीलार्इ आधार बनाएर आयोजना ओगट्ने र काम नगर्ने प्रवृत्ति हावी भएकामा सरकारले ठोस कार्ययोजना बनाएर कार्यान्वयन गर्नु आवश्यक देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर