
नेपाल क्योकुसिन बुदो कराँते कम्युनिटी संघले बिहीबार नेपालीहरुका महान् चाडहरु तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ठूलो संङख्यामा खेलाडी, खेलप्रेमी, कलाकार एवं सञ्चारकर्मीहरुको सहभागिता रह्यो । उपस्थित सबैले महान् पर्वहरुको सुखद् उपलक्ष्यमा एक–अर्कामा शुभकामना आदानप्रदान गरे ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ उपस्थित थिए । सो अवसरमा श्रेष्ठले नेपाल क्योकुसिन बुदो कराँते कम्युनिटी संघ आधिकारिक रुपमा दर्ता भएकोमा बधाई व्यक्त गरे । उनले खेलाडीहरुको क्रियाशीलताका लागि धन्यवाद समेत दिए ।
नेपालमा मार्सल आर्ट खेल लोकप्रिय एवं स्थापित भएको बताउँदै श्रेष्ठले यस खेललाई ओलम्पिकमा राख्न आफूहरुले ठूलो संर्घष गरेको बताए । श्रेष्ठले भने– ‘अब हुने दक्षिण एसियाली खेलकुदमा बढीभन्दा बढी मेडल हात पार्न खेलाडीहरु लाग्नुपर्छ ।’
खेलकुद क्षेत्रले देशको गरिमा उँचो राख्ने बताउँदै राज्यले खेल क्षेत्रमा नीति निर्माण गरेर खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने उनले बताए । कार्यक्रममा आयोजक समेत रहेका क्योकुसिन बुदो काईका ब्रान्च चिफ रामबहादुर बम्जनले विशेष भूमिका खेलेका थिए ।
काठमाडौं– १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य उपेन्द्र पौडेल, अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष शिव कोइराला, महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख किशोरकुमार श्रेष्ठलगायत कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी भए । उनीहरुले उपस्थित सबैमा तिहार, छठ तथा नेपाल सम्बतको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा १५ वडाका राजनीतिक दलहरुका प्रतिनिधिहरु समेतको सहभागिता थियो । ठूलो मात्रामा सहभागीहरु उपस्थित रहेको कार्यक्रममा आईकेकेएफका प्रमुख प्रेमनाथ श्रेष्ठ, क्योकुसिनका प्रमुख सालिकराम कुँवर, मोडसुसिमाका प्रमुख राजु गरुङ, क्योकुसिन बुँदो काईका प्रमुख राजेन्द्र सुवेदी, सिन क्योकुसिनका प्रमुख सूर्यबहादुर बुढाथोकी, सिन क्योकुसिनका उपाध्यक्ष कुमार श्रेष्ठ, क्योकुसिन डोका प्रमुख केदारेश्वर स्थापित, आईकेएफका प्रमुख गणेश कक्षपति र सुजु मर्हजन, आईकेओका प्रमुख कान्छा वाइबालगायतले आतिथ्यता ग्रहण गरे ।
कार्यक्रममा उनीहरु सबैले आ–आफनो तर्फबाट शुभकामना आदानप्रदान गरे । कार्यक्रममा लायन्स क्लब सितापाइलाका अध्यक्ष उमेश कार्की, कलाकारहरु सुरवीर पण्डित (दारी बा), नायिका सुजाता थापालगायतको पनि आतिथ्यता रह्यो ।
अत्यन्त उल्लासका साथ सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुद क्षेत्रलाई राज्यले माया गर्नुपर्ने बताए । कार्यक्रमको सभापतित्व नेपाल क्योकुसिन बुदो कराँते कम्युनिटी संघका अध्यक्ष भुषण मर्हजनले गरे । कार्यक्रमको सञ्चालन संघका महासचिव अजय मर्हजनले गरे ।