newskoseli.Com

वाम उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ का यस्ता छन् प्रतिबद्धता (भिडियो)…

(भिडियोमा हेर्नोस् उम्मेदवार श्रेष्ठको राजनीतिक प्रतिबद्धता)

एमाले–माओवादी गठबन्धनका तर्फबाट रामेछापमा युवा माओवादी नेता एवं हाल विनाविभागीय बनाइएका गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गरे पनि जित्ने सम्भावना प्रबल रहेको जिल्ला मानिन्छ रामेछाप । झन् एमाले–माओवादी साझा उम्मेदवारका रूपमा खडा भएका श्यामकुमार श्रेष्ठले सहजै विजय हासिल गर्ने कुरामा कसैमा शंकै देखिँदैन । अरुको त कुरै छाडौं, उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार पूर्णबहादुर (कान्छाराम) तामाङ स्वयंले समेत राजधानीमा बिहीबार आयोजित एक सार्वजनिक कार्यक्रममै ‘सहर्ष’ स्वीकार गरे ।

सो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार तामाङ र एमाले–माओवादी गठबन्धनका उम्मेदवार श्रेष्ठसहित प्रदेशसभा (क) मा कांग्रेस उम्मेदवार रत्न कार्की र वाम गठबन्धनका उम्मेदवार शान्तिप्रसाद पौडेल तथा प्रदेशसभा (ख) मा कांग्रेस उम्मेदवार जितबहादुर मगर र वाम गठबन्धनका उम्मेदवार कैलाशप्रसाद ढुंगेलले आ–आफ्ना चुनावी मुद्धा र प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै वाम गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ ले जाहेर गरेको प्रतिबद्धता–मन्तव्यको भिडियो रेकर्ड हामीले यहाँ प्रस्तुत गरेका छौं । तामाङ, कार्की, पौडेल, मगर र ढुंगेलले जाहेर गरेको प्रतिबद्धता–मन्तव्यका भिडियो रेकर्ड क्रमशः प्रकाशित/प्रशारित गरिनेछ । –सम्पादक ।

++++++++

को हुन् श्यामकुमार श्रेष्ठ ‘कुशल’ ?

श्यामकुमार श्रेष्ठ ‘कुशल’ को जन्म वि.सं. २०२८ पुस १ मा गेलु– ९ (हाल मन्थली नगरपालिका), रामेछापमा भएको हो । तीर्थदास–खष्टमाया श्रेष्ठका एक मात्र सन्तान श्यामकुमार श्रेष्ठ ‘कुशल’ ले मानविकी संकायअन्तर्गत अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक यात्राः
१. २०४३ मा तत्कालीन नेकपा (मसाल) को विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश ।
२. २०४७ मा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता प्राप्त ।
३. २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य ।
४. २०५१ फागुन १ मा माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सम्म अर्धभूमिगत ।
५. २०५७ मा नेकपा माओवादीको पूर्णकालीन सदस्य हुँदै पूर्वी कमान्डअन्तर्गत रामेछाप–काभ्रे सब–एरिया सेक्रटरी ।
६. २०५८ मा नेकपा (माओवादी) रामेछापको जिल्ला समिति सदस्य ।
७. २०५९ मा प्राविधिक कमान्डको इन्चार्ज ।
८. २०६० मा रामेछाप–काभ्रे जिल्लाको इलाका सेक्रेटरी ।
९. २०६१ देखि चुनबाङ बैठकसम्म रामेछाप जिल्ला सेक्रेटरी । त्यसपछि २०६६ सम्म वर्षमान पुन ‘अनन्त’ नेतृत्वको विशेष केन्द्रीय कमान्डमा कार्यालय सचिव ।
१०. २०६६ देखि पुनः रामेछाप जिल्ला सेक्रेटरी ।
११. २०६८ देखि २०७० सम्म रामेछाप जिल्ला संगठन विभाग प्रमुख ।
१२. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) का तर्फबाट रामेछाप– २ मा प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य ।
१३. व्यवस्थापिका–संसदको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य ।
१४. २०७२ मा पार्टीको केन्द्रीय समिति सदस्य ।
१५. २०७३ मा पार्टीको पोलिटब्युरो सदस्य ।
१६. स्थानीय तह निर्वाचनमा रामेछाप जिल्ला निर्वाचन परिचालन समितिको संयोजक ।
१७. शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल एमाले–माओवादी केन्द्रबीच वामपन्थी गठबन्धनपछि सरकारमा विनाविभागीय राज्यमन्त्री ।

सभासद, मन्त्री हुँदै प्रतिनिधिसभाका उम्मेदवार…

जनयुद्धको समयमा दर्जनौं मोर्चामा सहभागी भएका श्रेष्ठ विभिन्न पाँच वटा घटनामा भने मृत्युको मुखमा पुगेर बाँच्न सफल भएका थिए ।

पार्टीको बैठक राख्न जाने क्रममा २०५९ मा रामेछापको कुखुरे आहाल–कालपानी जंगलमा सेनासँग जम्काभेट हुँदा कुहिरोका कारण मात्रै ज्यान जोगाउन सफल भएका थिए । ‘गोली लागेर सल्लाको रुखबाट नै फक्लेटा निस्किएको थियो तर पनि भागेर ज्यान बचाउन सफल भयौं’, उनी स्मरण गर्छन्– ‘कुहिरो नलागेको भए बाँच्ने आशा नै थिएन, प्रकृतिले पनि कहिलेकाहीं साथ दिँदोरहेछ जस्तो लाग्यो ।’

२०६० मा सैलुङमा पार्टीको काम सकेर कोशीपारि जाने क्रममा रामेछापकै भोटनागी डाँडामा सेनाले बाटामै एम्बुस बिच्छ्याएको घटनामा पनि बल्लतल्ल बाँचेको बताउँछन् उनी । ‘आँखैअगाडि एम्बुस बिस्फोट भएपछि के गर्ने, कता जाने रु एक क्षण त केही पनि सोच्न सकिएन, नजिकै सेनाले निशाना बनाएको देखेपछि बाँचिन्छ जस्तो लागेको थिएन’, श्रेष्ठले भने– ‘तर संयोगले बाँचियो ।’

जनयुद्धमा सहभागी हुँदै दोस्रो संविधानसभा निर्वाचनमा रामेछाप– २ बाट निर्वाचित भएका श्रेष्ठले संविधान जारी भएपछिको रुपान्तरित व्यवस्थापिका–संसदमा आफ्नो भूमिका निर्वाह गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहराज्यमन्त्री पद सम्हाले । हाल विनाविभागीय राज्यमन्त्री रहेका उनी वामपन्थी गठबन्धबाट रामेछापमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर मैदानमा उत्रेका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर