
सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानुनी रुपमा सेवाशुल्क लिँदै आएका छन् ।
निजीस्तरमा सञ्चालित सबैजसाे नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानुनी रुपमा १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो ।
दुई महिनायता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिरामीसँग अस्पतालको ढोका प्रवेशदेखि बिरामीसँग दोहोरो शय्या शुल्क, नर्सिङ, नर्सिङ सेवा शुल्क, बिरामी कुरुवा शुल्कजस्ता शीर्षकमा गैरकानुनी रुपमा १० प्रतिशतभन्दा बढी सेवा शुल्क असुली गरेको पाइएको हो ।
यसरी बिरामीसँग अनावश्यक रुपमा बढी रकम असुल गर्ने अस्पताललाई सम्पूर्ण प्रमाणसहित मुद्दा चलाउन आइतबारै महानगरीय प्रहरी परिसर हनुमानढोकामा नामावली पठाइएको जानकारी विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दिएका छन् ।
“बिरामीले १ लाख रूपैयाँ बराबरको उपचार गराएको छ भने उसले अस्पताललाई अतिरिक्त २५ हजार रूपैयाँ सेवाशुल्क बुझाएको छ, अस्पतालले बिरामीलाई ठग्ने काम गरेका छन्, उनीहरुका विषयमा सम्बन्धित निकायले पनि आवाज उठाउनु आवश्यक छ”– महानिर्देशक दाहालले भने ।
विभागले बीएण्डबी अस्पताल, न्यूरो अस्पताल बाँसबारी र इशान बाल तथा महिला अस्पताल प्रालि बसुन्धारालाई प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाउन अनुगमनका क्रममा भेटिएका प्रमाण, बिरामी र अस्पतालको बयानसहितको पत्र प्रहरीकहाँ पठाएको हो ।
विभागका महानिर्देशक दाहालले भने– “तिनै वटा अस्पतालले गैरकानुनी रुपमा बिरामीसँग अतिरिक्त सेवा शुल्क लिइएको पाएपछि कारबाही प्रक्रियाका लागि हामीले आजै प्रहरीकहाँ पठाएका छौं, स्वास्थ्यमा हामीले कारबाहीका लागि पहिलोपल्ट पठाएका हौं, अरु अस्पताल पनि छन् ती भोलि पठाउँछौं ।”
सरकारले व्यवस्था गरेको ५ प्रतिशत स्वास्थ्यसेवा करबाहेक अस्पतालले बिरामीसँग थप १० प्रतिशत विभिन्न सेवाशुल्कका नाममा अनावश्यक रकम असुल्ने अस्पतालहरूमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताललगायतको नाम पनि कारबाहीको सूचीमा छ ।
“धेरै अस्पतालले बिरामीसँग १३ प्रतिशत स्वास्थ्यकर पनि लिएर अरु शीर्षकमा थप रकम पनि उठाएका छन् भने केही अस्पतालले ५ प्रतिशत स्वास्थ्य कर पनि नलिएको देखिएको छ, त्यो थप शंकाको विषय छ ।”
प्रदर्शनीमार्गमा रहेको काठमाडाैं मोडल अस्पतालले बिरामीसँगै कुनै सेवाशुल्क नलिएको पाइएको छ । सरकारले अनिवार्य गरेको ५ प्रतिशत स्वास्थ्यकर पनि किन नलिएको भन्ने अर्को अनुसन्धानको विषय भएको विभागको भनाइ छ ।
विभागले अाइतबारै चौधरी ग्रुपको लगानी रहेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सलाई पनि गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको छ ।
अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित ९ लाख ९६ हजारमा आउने गाडीमा विभिन्न शीर्षकका गैरकानुनी कर जोडेर १५ लाख ३२ हजार रूपैयाँसम्ममा बिक्री गरेको पाइएको विभागले जनाएको छ ।
अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर बिक्री गर्न पाइने भए पनि सो कम्पनीले विज्ञापन खर्च, दुई फरक शीर्षकमा पेट्रोल खर्चलगायत लिइएको पाइएको विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त कम्पनीले १ हजार ३ सय गाडी बिक्री गर्दा ४३ करोड रूपैयाँभन्दा बढी लिएको अनुगमनका क्रममा फेला परेको छ ।