newskoseli.Com

मौरी चराएरै वर्षमा ३० लाख आम्दानी…

तपाईंले गाई–भैंसी चराएको त देख्नु वा सुन्नु भएकै होला । तर, किसानले मौरी समेत चराउँछन् भन्दा पत्यार नलाग्न सक्छ ।

कुरा सत्य हो । रंगेली– ३, मोरङस्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन् । आफैंले र छरछिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि घार नै बोकेर बारीमा लगी उनले मौरी चराउँदै आएका छन् । तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गरेका छन् ।

पाठकले रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर मौरीपालन समेत गर्दै आएका छन् । खडानन्द खनालका अनुसार पाठकले चार बिगाहामा तोरी खेती गरेका छन् र प्रत्येक वर्ष मौरी चराउन ल्याउ भन्दै आग्रह गर्ने गरेका छन् । पहिले तोरीमा लाइ र कीरा लाग्ने गरेकोमा काम मौरीले नै परागसेचनको गरेको हुनाले घारै बोकेर तोरी खेतीमा ल्यार्इ मौरी चराउने गरेको पाठकको भनाइ छ ।

मौरी ल्याएर चराउन थालेपछि चार–पाँच वर्षयता आफूले तोरीमा कुनै पनि कीटनाशक औषधि प्रयोग नगरेको र बिगाहामा २० देखि २२ मनसम्म तोरी उब्जनी हुने गरेको खनालको भनाइ छ ।

२०६० देखि मौरीपालनमा लागेका यमनाथ चार घारबाट सुरुका दिनमा उनले मौरीपालन सुरु गरेका हुन् । अहिले उनी २ सय घारसम्म पाल्न सफल भएका छन् । एक घारमा ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् ।

वार्षिक रुपमा २ सय घारबाट ५ हजार केजी अर्थात् (५० क्विन्टल) मह वार्षिक उत्पादन हुन्छ । यसबाट ३० लाख रूपैयाँ आम्दानी हुने गरेको पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको मह प्रतिकेजी ६ सय रूपैयाँका दरले बिक्री गर्ने गरेको उनले सुनाए ।

उत्पादन गरिएको मह मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागि पठाउने गरिएको पाठकको भनाइ छ । उनी मात्र होइन, थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् ।

मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीक रुपमा मौरीपालन हुँदै आएको छ । मौरीपालनका क्रममा १ हजार घार मौरीबाट वार्षिक २० लाख रूपैयाँ अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ ।

मागसँगै मोरङमा महको उत्पादनमा पनि वृद्धि भइरहेको छ । व्यवसायको सुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक २० लाख रूपैयाँ आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालको भनाइ छ । बहुसंख्यक गाउँका शैक्षिक बेरोजगार युवा पैसा कमाउने चक्करमा भौंतारिइरहेको अवस्थामा उनीहरुको यो कार्य प्रेरणाको स्रोत बनेको छ ।

बर्खा र हिउँद महिनामा भने मौरीबाट आम्दानी हुँदैन । अन्य जातका कीराभन्दा मौरी फाइदाजनक र धेरै संख्यामा रहने कीरा हो । यहाँ पालिने धेरैजसो मौरी कठ्यौरी जातका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर