मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया सुरु गरेको छ ।
विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न ३ वटा मौसमी राडार जडानको प्रक्रिया सुरु भइसकेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए ।
सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ । “सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ । सम्झौता भइसकेकाले अब करिव ५ महिनाभित्र राडार पनि आइपुग्छ । बाँकी दुई ठाउँ पाल्पा र उदयपुरमा राडार राख्नका लागि जग्गा प्राप्ति भई टेन्डर प्रक्रिया अघि बढेको छ र केही हप्तापछि सबै प्रक्रिया टुंगिन्छ”– उनले भने । राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग रहेको छ भने बाँकी नेपाल सरकारले व्यहोर्नेछ ।
मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनुका साथै यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप, बाढी–पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । राडारले नेपालभरिको मौसमी सूचना स्वचालित (अटोमेटिक) रुपमा संकलन गरी वास्तविक समयसहित जानकारी दिन्छ । एक राडारको पूर्वाधारसहित करिव २४ करोड रूपैयाँ पर्छ ।
के गर्छ मौसमी राडरले ?
महानिर्देशक शर्माका अनुसार राडारले नेपालको आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बिर खिँच्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा तस्बिर खिँचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ, पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ भनेर थाहा पाउन सकिन्छ । यस्ता सूचनाका आधारमा तत्कालको मौसमी पूर्वानुमान गर्न यो प्रणालीले सहज हुन्छ ।
राडारले वास्तविक अनुमान गर्छ । यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ । उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन्, असिना पर्ने बादल हो कि के हाे ? सूचना दिन्छ । त्यसका आधारमा मौसम विभागले केही घन्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन सक्छ ।
८८ वटा मौसम मापन केन्द्र जडान हुँदै
मौसम पूर्वानुमान गर्नका लागि चालु आ.व. को असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान गरिसक्ने विभागले जनाएको छ । अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन्, जसको विवरणमा मौसमसम्बन्धी जानकारी दिइन्छ । मौसम विभागमा अहिले जम्मा २२ जना मौसमविद् छन् । देशभर तापक्रम नाप्ने यन्त्र १ सय ५०, वर्षा नाप्ने ५ सय र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन् ।
फागुनमा पहिलो मौसमी बेलुन उड्ने
मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभाग लागिपरेको छ । अहिले विश्वको विवरण (डाटा) प्रयोग भइरहेको मौसम पूर्वानुमानलाई अब भने नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ । अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र पुग्दैन । “अहिलेसम्म माथिल्लो वायुमण्डलको कस्तो मौसमी गतिविधि छन् भनेर डाटा लिन सकेका छैनाैं । फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलो पटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ”– महानिर्देशक शर्माले भने ।
यसले माथिल्लो वायुमण्डलको मौसमी विवरण लिन सहज हुन्छ । बेलुनमा हाइड्रोजन ग्यास छोडिन्छ, बेलुन जति माथि जान्छ, त्यहाँको तापक्रम सापेक्षिक आद्रताको अवस्था हावाको गति कुन दिशातिर बहेको छ भनेर तल जमिनको रिसिभिङ स्टेशनमा पठाउँछ । तर, यसका लागि मौसम विभागले छुट्टै कम्प्युटर प्रणाली विकास गर्नुपर्ने हुन्छ । विवरण राख्न शक्तिशाली कम्प्युटर चाहिन्छ । नेपालमा पहिलो पटक सुपर कम्प्युटर (हाई पावर कम्प्युटिङ) खरिदका लागि टेण्डर गरिसकेको विभागले जनाएको छ । एक वर्षभित्र सबै काम सकेर नेपालको मौसमी प्रणालीलाई विश्वका विकशित मुलुकको हाराहारीमा पुर्याउन सकिन्छ ।
चट्याङसम्बन्धी सञ्जाल निर्माण
मौसम विभागले प्राकृतिक प्रकोपको दुर्घटनाका रुपमा लिइने चट्याङ कहाँ, कस्तो र कहिले पर्दैछ भन्ने पूर्वजानकारी दिने उद्देश्यले पहिलो पटक चट्याङसम्बन्धी सञ्जाल निर्माण गर्ने भएको छ । यो काम अहिले लगभग सकिएको छ । परामर्शदाता कम्पनीले अबको ३ महिनाभित्र सबै तथ्यांक विभागलाई बुझाएपछि चट्याङसम्बन्धी अनुगमन तथा केही समयपछि पूर्वानुमान गर्न सकिने महानिर्देशक शर्माको भनाइ छ ।