newskoseli.Com

को हुन् सानुकुमार श्रेष्ठ ? यस्तो छ उनको संघर्षयात्रा…

स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बनेका छन् ।

उनका समकालीन राजनीतिक साथीमध्येका कतिपय यसअघि नै पार्टीका पदाधिकारी र मन्त्री समेत भइसके पनि विचलित नभई पदको चिन्ताभन्दा जिम्मेवारी पूरा गर्ने कटिबद्धताका साथ श्रेष्ठ नेकपा (एमाले) को नेतृत्वले दिएको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी भएका हुन् ।

प्रदेश नं. ३ को अस्थायी मुकाम हेटौंडामा शनिबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट तुलनात्मक रूपले त्यागी र स्वच्छ छविका श्रेष्ठ सभामुखमा निर्वाचित भएपछि प्रदेश सदस्यबीच बधाई दिने क्रम चल्यो । आफू मुख्यमन्त्रीकै आकांक्षी भए पनि पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएकाले त्यसलाई शिरोधार्य गरेको एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य श्रेष्ठले बताए ।

श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र २ प्रदेशसभा (क) बाट निर्वाचित भएका हुन् । यस प्रदेश क्षेत्रमा काठमाडौं महानगरपालिकाका ९ र ३२ नं. वडा पर्दछन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सहमति अनुसार सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको हो ।

कूल १ सय १० सदस्य रहेको यस प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । हाल सानुकुमार एमालेको वैकल्पिक पोलिटब्युरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख हुन् । सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।

वि.सं. २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्छन् । उनले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । श्रेष्ठ वि.सं. २०३४ मा भूमिगत नेकपा (माले) बाट कम्युनिस्ट राजनीतिमा लागेका हुन् । त्यसयता उनी निरन्तर कम्युनिस्ट आन्दोलनमै छन् ।

विद्यार्थीकाल र पीपलबोट अनसन (२०३७) मा गरी पटक–पटक जेलनेल भोगेका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजय जुलुसमा पञ्चायत पक्षधरको निर्मम कुटाई र यातना समेत खाएका थिए । काठमाडौं जिल्ला विकास समितिका पूर्वसभापति समेत रहिसकेका श्रेष्ठ २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं– १० मा माओवादी अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी भइ पराजित भएका थिए ।

श्रेष्ठले आफ्नो क्षेत्रमा एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिनबेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाएका छन् । वाग्मतीमा झोलुङ्गे पुल विस्थापन गरी पक्की पुलको निर्माण, करिडोर विकास, केवल बस सेवा पनि उनका थप मुद्धा हुन् । सभामुखका रुपमा अब ती काम पूरा गर्न पहल गर्ने प्रण उनले गरेका छन् ।

थप यो पनि पढ्नुहोस–
सानुकुमार श्रेष्ठ चुनिए ३ नं. प्रदेशसभाको सभामुख

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर