newskoseli.Com

चर्चित भारतीय अभिनेतृ श्रीदेवीको अकस्मात निधन…

चर्चित भारतीय अभिनेतृ (बलिउड नायिका) श्रीदेवीको हृदयाघातका कारण मृत्यु भएको छ ।

श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग ५४ वर्षीया श्रीदेवी विवाह कार्यक्रममा सहभागी हुन आइतबार दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक मृत्यु भएको खबर फैलँदा बलिउडजगतका प्रशंसकहरू स्तब्ध भएका छन् ।

श्रीदेवीको जन्म १३ अगस्ट, १९६३ मा तमिलनाडुमा भएको थियो । हिन्दी सिनेमाजगतमा श्रीदेवीको निकै ठूलो योगदान रहेको मानिन्छ ।

सन् १९६३ मा तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड र मलायमी फिल्ममा पनि काम गरेकी छन् । सन् २०१२ का उनले इङ्लिस–विंगलिसमार्फत बलिउडमा कमब्याक गरेकी थिइन् ।

उनले चार वर्षको उमेरदेखि नै फिल्ममा काम सुरु गरेकी थिइन् । सन् १९६७ मा एक बालकलाकारका रुपमा फिल्म थनिवानमार्फत श्रीदेवी आफ्नो फिल्मी करिअरको सुरु गरेकी हुन् ।

करियरको सुरुमा नै उनी मलयालम फिल्म पुमबत्ताका लागि केरला स्टेट फिल्म अवार्डबाट सम्मानित भएकी थिइन् । करिअरको सुरुवातताका उनले थुप्रै तमिल, तेलगु र मलायलम फिल्ममा काम गरिन्, जसवापत उनले थुप्रै अवार्ड समेत हासिल गरिन् ।

उनी सन् १९७८ को फिल्म सोलहवां सावनमार्फत बलिउडमा प्रवेश गरेकी हुन् । तर, श्रीदेवीले सन् १९८३ को फिल्म हिम्मतवालाबाट भने व्यापक चर्चा बटुलेकी थिइन् । यस फिल्ममा उनीसँगै अभिनेता जितेन्द्रले काम गरे, यो फिल्म ब्लकबस्टर भयो ।

त्यसपछि श्रीदेवीले जितेन्द्रसँग थुप्रै फिल्ममा काम गरिन् । उनले सदमा, नागिन, निगाहें, मिस्टर इन्डिया, चालबाज, लम्हे, खुदा गावाह र जुदाइलगायतका फिल्ममा अभिनय गरिन् । आफ्नो जीवनकालमा श्रीदेवीले ५ वटा फिल्मफेयर अवार्ड पाएकी छन् । श्रीदेवीलाई सन् २०१३ मा पद्मश्री सम्मानबाट समेत सम्मानित गरियो ।

श्रीदेवीले सन् १९९६ मा फिल्म निर्माता बोनी कपुरसँग विवाह गरेकी थिइन् । फिल्म मिस्टर इन्डिया (सन् १९८७) को सुटिङका क्रममा उनीहरुबीच प्रेम झांगिएको बताइन्छ । श्रीदेवीका जान्ह्वी र खुशी नाम गरेका दुईटी छोरी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर