newskoseli.Com

काम गरेर देखाउनुपर्छ नत्र नेपाल छाडेर भाग्नुपर्छ : मुख्यमन्त्री

(भिडियोमा हेर्नोस् मुख्यमन्त्री पौडेलको सम्बोधन)

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब आफूहरुसामु काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् । काम गरेर देखाउन नसकिए नेपाल छाडेर भाग्नुको विकल्प आफूहरुसँग नभएको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

‘विगतका कुनै पनि सरकारले ल्याएका नीति तथा कार्यक्रम नराम्रा छैनन्, सबै राम्रा छन्’, नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भने– ‘तर, तिनको एक अक्षर पनि व्यवहारमा लागू भएनन् त्यसैले नीति तथा कार्यक्रम ल्याउनु र कुरा मात्र गर्नु ठूलो विषय होइन, हाम्रो चुनौती भनेकै गरेर देखाउनु हो ।’

कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले विशिष्ट अतिथिका रुपमा सम्बोधन गरे ।

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्यामकुमार श्रेष्ठ ‘कुशल’, प्रदेश ‘क’ बाट प्रदेशसभामा निर्वाचित शान्तिप्रसाद पौडेल र प्रदेश ‘ख’ बाट प्रदेशसभामा निर्वाचित कैलाशप्रसाद ढुंगेललाई बधाई तथा सम्मान गर्न र मतदाताहरुलाई धन्यवाद दिन सम्पर्क मञ्चले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राप्रपाबाट समानुपातिकमा निर्वाचित रिता माझीलाई पनि सम्मान गरियो ।

दुईवटा विभिन्न हिमाल आरोहण गरिसकेर सगरमाथा आरोहणको तयारीमा रहेका प्रकाशराज पाण्डेलाई पनि कार्यक्रममा सम्मान गरियो ।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेकी बालिका विशेषता बुढाथोकीलाई प्रमुख अतिथि खनालले विशेष सम्मान गरे । एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीकी छोरी हुन् विशेषता ।

सम्पर्क मञ्चका अध्यक्ष बद्रि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका सचिव राकेश श्रेष्ठले गरे । कार्यक्रममा एमाले तथा माओवादी केन्द्रका विभिन्न तहका नेता–कार्यकर्ता र पूर्वसांसदलगायतको सहभागिता रह्यो ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर