newskoseli.Com

फोटो फिचर : अन्तर्राष्ट्रिय नाटक महोत्सव जारी, दर्जन देशका तीन दर्जन कलाकार राजधानीमा

राजधानीस्थित ‘सर्वनाम थिएटर’ मा जारी अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा विभिन्न देशका फरक–फरक नाटकहरुहरुका प्रस्तुति मञ्चन भइरहेका छन् ।

महोत्सवको सुरुमा भारतीय ऋतुपर्णा विश्वासको लेखन तथा अभिनय रहेको नाटक ‘इलादिदी’ मञ्चन गरियो । करिव १ घन्टा लामो नाटकलाई निर्देशक सुवेन्दु भण्डारीले निर्देशन गरेका हुन् ।

सबैले डाक्टर, इन्जिनियर, पाइलट बन्ने लक्ष्य राखेका हुन्छन् । तर, फरक सपना बोकेको अर्को पात्र मुक्तिले समेत इलादिदी जस्तै बन्ने सपना राखेको कथामा नाटक आधारित थियो ।

अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवकै लागि आफूले छुट्टै नाटक तयार पारेको भन्दै महिला सशक्तीकरणलाई अझ व्यापक बनाउन आफू सधैं लागिपर्ने ऋतुपर्णाले बताइन् ।

बंगलादेशका कलाकार सामिमा स्वकेतले दोस्रो नाटक ‘ब्लड ह्यान्ड्स्’ प्रस्तुत गरिन् । सामिउनजहान डोलाले निर्देशन गरेको नाटकको ‘लाइट डिजाइन’ फेज जहिरले गरेका हुन् । महिलाहिंसा र महिलाले भोग्नुपरेका विविधखाले चरम पीडा उतारिएको यस नाटकले दर्शकको मन छोएको थियो ।

स्कटल्यान्डका तर्फबाट तेस्रो नाटक ‘द चियर्स वेयर मुब्ड् टु गिभ मी प्यासेज’ मञ्चन भयो । ६८ वर्षीया तमरा मक्लर्गको अभिनय रहेको नाटकको निर्देशन अलन लिडायर्डले गरेका हुन् ।

मक्लर्गले ४० वर्षदेखि थिएटरमा नियमित अभिनयमा गरिरहेकी छन् । उनले अर्थपूर्ण शारीरिक हाउभाउसहित जीवनयात्रालाई प्रस्तुत गरिन् ।

मास्कको प्रयोग गरेर फ्रान्सका म्याक्सिमको लेखन तथा निर्देशनमा ‘पर्फर्मेन्स विथ मास्क’ देखाइयो । यस नाटकमा नेपालकी भूमिका चौधरीले उत्कृष्ट अभिनय गरिन् । थारु समुदायमा भएको कमलरी प्रथालाई निर्देशकले नाटकमा देखाए ।

महोत्सवको पहिलो दिन नेपालबाट नाटककार अशेष मल्लको लेखन तथा निर्देशनको नाटक ‘अतिरिक्त आकाश’, लण्डनका तर्फबाट ‘द कोट’ र चीनका तर्फबाट ‘जम्प’ प्रदर्शन गरिए ।

वाद्यवादनमा मनोज महर्जनले भूमिका निर्वाह गरे । खचाखच भरिएको हलमा उपस्थित दर्शकका तर्फबाट बोल्दै विमल बोलखेले ‘सर्वनाम भवन होइन, भावना हो’ भन्ने मूल मन्त्र सार्थक भएको बताए । महोत्सवमार्फत विश्वका विभिन्न राष्ट्रका रंगकर्मी तथा कलाकारलाई जोडेर सर्वनामले ‘भवनलाई भावना बनाएको’ अनुभूति दर्शकलाई दिलाएको उनले बताए ।

चैत २२ सम्म चल्ने महोत्सवमा १३ नाटक मञ्चन हुनेछन् । महोत्सवका लागि बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्याण्ड, नेदरल्याण्डलगायत दर्जन देशका तीन दर्जनभन्दा बढी कलाकार तथा रंगकर्मी राजधानीमा सहभागी भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर